|

शिक्षामा छुट्ट्याएको रकम बालुवामा पानी खन्याए सरह

प्रकाश डोटेल
स्याङ्जा–६, कार्तिक ।
जिल्ला शिक्षा कार्यालय स्याङ्जाले शुक्रबार सदरमुकाम स्याङ्जामा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले अनौपचारिक तथा साक्षरता शिक्षा कार्यक्रममा छुट्ट्याएको वजेट वालुवामा पानी खन्याए जस्तै भएको वताएका छन् । उनीहरुले तथ्याङ्क संकलन गर्दा निरक्षरताको संख्या बढ््ने र प्रतिबेदन पठाउँदा निरक्षरको संख्या घट्ने प्रबृति देखिएको दावी गरेका थिए । सहभागीहरुले कार्यक्रम सफल हुन नसक्नुमा अनुगमन र निरीक्षण पद्धति फितलो भएको बताएका थिए ।

जिल्ला शिक्षा कार्यालय स्याङ्जाले शुक्रबार आयोजना गरेको एक दिने बार्षिक अभिमुखीकरण कार्यक्रममा जिल्ला शिक्षा अधिकारी टोपवहादुर श्रेष्ठले आर्थिक वर्ष २०६८/६९ मा सञ्चालित कार्यक्रमहरुमा राजनैतिक नेतृत्व र सरोकारवाला पक्षलाई गम्भीर हुन अनुरोध गरेका थिए । उनले राजनैतिक नेतृत्व लगायत सरोकारवाला सबै पक्ष गम्भीर भएमा जिल्ला शिक्षा कार्यालयका योजनाहरु सफल हुने अपेक्षा समेत गरे । उनले गत वर्ष शिक्षा कार्यालयले बनाएको योजना ९७ प्रतिशत सफल भएको दावी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि एवम् पूर्व जिल्ला शिक्षा अधिकारी शलिग्राम रेग्मी, विद्यालय व्यवस्थापन समितिका तर्फवाट शर्मिला पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, नेपाल शिक्षक युनियन स्याङ्जाका अध्यक्ष मुक्तिप्रसाद रेग्मी लगायतका बक्ताहरुले धारणा राखेका थिए ।
जिल्लाभित्र गुरुकुल आश्रम तीन, गृहिणी कक्षा १ देखि ८ सम्म नौ र गृहिणी माध्यमिक एक र खुला माध्यमिक विद्यालय एकवटा रहेको कार्यक्रममा जानकारी गराइएको थियो । प्राविधिक शिक्षाको बिशेष कार्यक्रमको लागि रणबीर जनहित उच्च माध्यमिक विद्यालय, प्राथमिक शिक्षा विस्तारको लागि पाँच विद्यालय, अनौपचारिक प्राथमिक शिक्षाको लागि पाँच विद्यालय रहेको बताइएको छ । जिल्लामा सुस्तश्रवणको लागि दुई, सुस्तमनस्थितिको लागि तिन, दृष्टिविहिन र लेखाजोखा केन्द्र एक एक रहेका छन् ।
जिल्लाभित्र सामुदायिक विद्यालय र संस्थागततर्फ क्रमश: पूर्व प्राथमिक विद्यालय चार सय ९२ र ८६, प्राथमिक विद्यालय तीनसय ६५ र ३५, निम्नमाध्यमिक विद्यालय ५६ र २०, माध्यमिक विद्यालय ५१ र २१, उच्चमाध्यमिक विद्यालय ७४ र १० गरी जम्मा पाँच सय ४६ र ८६ वटा रहेका छन् । शिक्षा कार्यालयले विभिन्न शिर्षकमा अठहत्तर करोड ३४ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेको छ भने सबै किसिमका छात्रबृत्तिमा करीव दुई करोड रुपैयाँ खर्च हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

Posted by Butwalonline on 7:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शिक्षामा छुट्ट्याएको रकम बालुवामा पानी खन्याए सरह"

Leave a reply