सीजी इलेक्ट्रोनिक्समा लागेको आगो अझै नियन्त्रणमा आएन
आगो नियन्त्रणका लागि सोमबार बिहान पनि ३ वटा दमकल प्रयोग गरिएको छ । त्यहाँ ३५ जना अग्नी नियन्त्रक अहिले पनि खटिएका छन् । जुद्ध वारुण यन्त्रका अग्नी नियन्त्रक विश्वराम थापाले १६ घन्टादेखि आगो निभाउने प्रयास गरिएको बताए । आगो फैलिनबाट रोकिएपनि पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको उनले जनाए ।
नजिकमा पानीको समस्या, आगो परिसरमा चारै तिर फैलिएको तथा प्लाष्टिक र इलेक्ट्रोनिक सामग्रीमा आगो लागेकाले नियन्त्रणमा कठिनाइ भइरहेको थापाले बताए । आगो निभाउन पानी ३ किलोमिटर टाडाबाट ल्याउनु परेको छ । अपरान्हसम्मा आगो नियन्त्रणमा आउने अनुमान गरिएको छ ।
आइतबार साँझ ८ वटा दमकल प्रयो गरिएको थियो । सेना, सशस्त्र प्रहरी, विमानस्थल तथा भक्तपुरबाट समेत दमकल आएको थियो ।
कारखानाका कर्मचारीहरु कार्यालय समय सकिएर बाहिरिएपछि परिसरमै रहेको कवाडी सामान राखिएको गोदमबाट आगो सल्किएको बताइएको छ । आगो तुरुन्तै मुल गोदाम सम्म पुगेर ठूलो क्षति भएको हो । क्षतिका बारेमा चौधरी ग्रुपबाट अहिलेसम्म आधिकारिक जानकारी गराइएको छैन ।
स्रोत :कांतिपुर
