संस्मरण -सरस्वती पुजामा दुई परम मित्र गुमाएको दुखद क्षण

विजय थापा,वसन्तपञ्चमी अर्थात सरस्वती पुजाको मुर्ति सेलाउन धरानबाट चतरा नहरमा दिन दहाडै  १३-१४ बर्ष उमेरका लाउ लाउँ र खाउँ खाउँ गर्ने यो पंक्तिकारका दुई अभिन्न मित्रलाई सदाको लागि गुमाएको दिन ३५ बर्ष नाघेछ ।

जब सरस्वती पुजाको दिन आउँछ र झन्डै ३५ बर्ष भन्दा ज्यादा भए पनि त्यो कहाली लाग्दो दिन भुल्न कहिले नसकिने रहेछ किनभने दुवै मित्र मेरा अत्यन्तै परम मित्रहरु बन्न पुगेका थिए ।   घटना २०३३ साल को हो ,त्यो अबिश्वश्नीय घटनाको चोट सबैमा नराम्रो लाग्यो ।  धरानबासि रोएका थिए ।  कैयौ दिन सम्म झोक्रिनु पर्यो किनभने जहिले पनि त्यही सम्झनाले मस्तिस्कमा बाड हानी रह्यो ।

लेखक:विजय थापा ,भर्जिनिया
लेखक:विजय थापा ,भर्जिनिया
यमराज पनि कति निस्ठुरी रहेछन र कालले टप्प टिपेर सदाको लागि लगे ।  यो पंक्तिकारका अति मिल्ने साथी किनभने घर नजदिक र यो दुख्द घटनाले यो पंक्तिकारको मन खिन्न हुन्छ र अतित सम्झन बाध्य हुन्छु ।  र त्यो पिढाको घाउँ अहिले सम्म पनि पुरिएको छैन र कहिले सम्म त्यो दुखद क्षणले सताई रहने होला ।  सदैब चिर शान्तिको कामना गरि रहन्छु ।  दिउसो काममा नेपालको समाचार हेर्ने क्रममा आज बसन्त पंचमी अधिराज्य भर् मनाईयो भन्ने समाचार पढ्दा फेरी मलाई ३५ बर्ष अगाडीको सम्झना गराई दियो ।  मैले मेरा मृत भैं सकेका मित्रहरु स्व :राज कुमार रसाईली र स्व : होम कुमार बस्नेतलाई सम्झे र एकछिन नराम्रो लाग्यो किनभने सरस्वतीको मुर्ति सेलाउन जादा अकालमा यमराज कठोर भैं सदाको लागि माथि लगे ।

धरानको चतरा लाइनमा रहेको सबै भन्दा पुरानो धरान पब्लिक हाई स्कुलले अघिल्लो दिन सरस्वती पुजा धूमधाम संग मनाईयो र त्यो दिन पनि दुवै मित्रहरु संग बुनिया र अन्य मिठाई खान पाइन्छ भनि दिनभरि हिडी बेलुका घर ४ बजे पुगेका थियौ  ।  होम कुमारले मलाई त भोलि बिहान छिट्टै आउनु है भनि बेलुका करिब ४:३० बजे भनेका थिए ।  त्यो बिद्यालयबाट चतरा जाने गरेको रहेछ सरस्वतीको मुर्ति सेलाउन ।

धरानबाट चतरामा सरस्वतीको मुर्ति सेलाउन जाने निधो भएछ र सिचाईको लागि चतरा नहर निक्कै प्रसिद्ध छ । पुरानो नहर मध्ये कै एक हो किनभने सप्तकोशीबाट ल्याईएको एउटा नहर र जसको एउटा भंगालोको तेज र रफ्तार हाम्रा साथीहरुले थाहा पाउन सकेनन ।  कहिले पौडी नखेलेको १३-१४ वर्षाका किसोरहरु पौडी खेल जोसिएर हाम फाले र भुमरीले तानेको तानै गरि दुईको ज्यान लाग्यो । केहि बचाउन जादा झन्डै मृत्युको मुखमा पुगेका र कसो कसो गरि यमराजको हातबाट फर्किन सके र जीवन दान पाए । र सबै भन्दा मिल्ने साथी स्व होम कुमार बस्नेत र स्व राज कुमार रसाइली लाई बचाउन सकिएन र उनीहरुको लाश धरान ल्याईयो । यो पंक्तिकारले थाम्न सकेन र आशुको खोलो बग्यो ।

उनीहरु संग ३ बर्ष सम्म लगातार अत्यन्तै मिलनको साथ बिताएका क्षण सम्झन बाध्य बनाई दियो । स्व :राज कुमार रसाईली कक्षाका प्रथम बिद्यार्थी थिए ।  कसैलाई बिझाउदैन थिए ,छापेको जस्तै अक्षर ,मुस्कान दिने ,राम्रो कुरा गर्ने ,अब्बल दर्जाका ,मिलनसार ,मृदुभाषी राज कुमार रसाइली थिए ।

र अर्का परम मित्र होम कुमार बस्नेत उनि धरानको छाता चोकमा आमा बुवाले तरकारीको बेच बिखन गर्ने गर्नु हुन्थ्यो र उनि सहयोगी थिए ।  ब्यापारी दिमागका थिए र पैसा गोजीमा ५-७ रुपैया टुट्दैन थियो र त्यो बेलामा त्यो पैसा निक्कै हुन्थ्यो जस्तो लाग्दथ्यो र हो पनि ।  उनि र म दिनमा ३ पटक जसरि पनि भेट्ने गरेका थियौ किनभने उनले मलाई ३ बर्ष सम्म लगातार  बिद्यालय गएको दिन जहिले पनि मध्यान्तर(आधा समय )मा २ वटा समोसा र एक प्याला चिया खुवाउथे किनभने म संग पैसा हुदैन थियो उनि संग टुट्दैन थियो ।  पैसा भएको दिन चलचित्र तृतीय श्रेणीमा हेर्ने गरेका थियौ र लालमोहन खुवाउथे र हामी गृह कार्यपनि संगै गर्थौ । होम कुमारको धेरै याद आउने भो किनभने जब जब बिद्यालयको मध्यान्तर हुन्थ्यो र त्यही भोजनालयमा सदैब १ बजे सिङ्गडा (धरानमा समोसा लाई भनिन्छ )खाएको यादले रुन मन लाग्दथ्यो र आखा रसाउद्थ्यो ।

साँझमा म आफु तरकारी किन जान्थे र उनीकहा गए पछि सस्तो पनि दिन्थ्ये र केहि खाना पनि दिन्थ्ये त्यस्तो उमेरमा त्यस्तो साथी पाई एकोमा म दंग थिए र हामी धेरै मिल्ने गरेका थियौ ।  भगवानको चमत्कार या के भनौ म पनि सरस्वतीको मुर्ति सेलाउन धरानबाट चतरा जान्छु भनि मैले सायद मेरो हजुर बुवालाई सोधे झन्डै भुमरुको लट्ठीले बजाउनु भयो र म जान पाईन र रुवे ।

सायद त्यहिँ घटना देखि त्यो बिद्यालयले कहिले पनि र अझ पनि धरानका कुनै पनि पाठशालाहरु सरस्वतीको मुर्ति सेलाउन बाहिर जादैनन जस्तो लाग्द्छ तर समय लामो भएकोले वर्तमान समयमा म यो बिषयमा अन्धकार छु ।  मैले मेरा अत्यन्तै परम मित्र सरस्वती पुजामा गुमाए ।  स्व :होम कुमार बस्नेत तथा स्व :राज कुमार रसाईलीको चिर आत्माको शान्तिको लागि प्राथना गर्दै बिदा ।

10:25 PM | Posted in | Read More »

गज़ल

हराएका सन्तानको आधा शरिर भेटिएको छ ।
र भेटिएको छ कसैको मात्रै शिर भेटिएको छ ।

यो समय पनि छि कस्तो अचम्मको हो ?...
तिनै दु:खी मनहरु मा अनेकौं पिर भेटिएको छ ।

कठै उनका ति सन्तानले अव केही सुख पाउलान,
विचरी लाई शरिर वेच्ने जागिर भेटिएको छ ।

खै कस् कस्ले के के पाउने हुन् थाहा छैन,
गरिवको वस्तीमा मन्दिर भटिएको छ ।

मेरो देशको अस्तित्व र आमाको अस्मिता जोगाउनु,
भन्दैछ क्षितिज मेरो गन्तव्यको आखिर भेटिएको छ ।

अशोक गौतम क्षितिज
सचिव- परिद्रिश्य साहित्य प्रतिष्ठान्
शंकरनगर, रुपन्देही

10:31 PM | Posted in | Read More »

गज़ल

प्रिय तिम्रो प्रतिबिम्ब यै दिलमा टासेकी छु
सङै जिउने मर्ने सपना सङालेर् बाचेकि छु

मनको आसा रहर तिमी हिर्दयको  धड्कन हौ
गन्तब्यका हर पाइलामा तिम्लाईनै ताकेकी छु

बुझेरनै मेरो प्राण जिन्दगीनै तिमी हुँदा
मैले पुज्ने देउता सँग तिम्रै लागि भाकेकी छु  

तिम्रै बखान गर्दा खेरी घाम जून नि मुस्कुराउछन
त्यही खुशीको हौसलाले जीवन गती हाकेकी छु

बाचुन्जेल तिमी मेरो छाया बनी पछ्याउनु है
इनै   ईच्छा चाहनालाई परेलिले ढाकेकी छु

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

6:52 AM | Posted in | Read More »

मुक्तक

तिमीलाई आफ्नो भन्ने अनुमति दिए पुग्छ
जुनीभरको अटुट साथ मात्र यति दिए पुग्छ

चाइदैन् मलाई त्यो धन दौलतको ठुलो रास
सकुनले जिउने आधार अलिकति दिए पुग्छ


गरिबहरु देख्छु सधै भोकाएका यहाँ
सामन्ती मोज मस्तिले अघाएका यहा

दैबले नि कति सारो गरेको अन्याय
कतै रोदन कहिँ खुसीले रमाएका यहाँ

मान थापा ' बुलन्द'
बाग्लुंग गल्कोट
हाल काठमाडौँ

7:02 PM | Posted in | Read More »

गजल

जनताको भलो शोच्ने नेता खै आज भोली
भाषण छाड्दा मात्र निस्किन्छ मिठो बोली

कस्तो होला नयाँ नेपाल शोच्दै थे नेपाली
गोली चल्दा लाखौ मरे रगत्ले माटो मोली

पुरानो बानी तिन्को अझै पनि झुक्याउने
झुटको खेती गर्दै कुम्ल्याए आफ्नै झोली


शान्ती ल्याउन खोज्दा कैयौ ति शहिद भए
उनैका रगतले थुक्क तिमी खेल्छौ होली

अब धेरै चल्न दिन्नौ तिम्रो या मनोमानी
खबरदारी गर्न जुट्दै छौ नयाँ टोली

 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

7:09 AM | Posted in , | Read More »

मुक्तक

1- आंखाले तिर चलाउछन् कोही कोही चलन यस्तै छ यहांको ।
हांसी हांसी दिल जलाउछन् कोही कोही चलन यस्तै छ यहांको ।
खै किन मान्छे ले दम्व र घमण्ड गर्छ यती धेरै,
लाग्छ टुप्पा वाट पलाउछन् कोही कोही चलन यस्तै छ यहांको ।।

2- वेईमान जोडिएको त्यो इनाम लाई के भन्नुहुन्छ ?
जाजरकोटको भोकमरी र सुर्खेतको गोदाम लाई के भन्नुहुन्छ ?
सम्मान गर्नु त जिवितै हुंदा गर्नु उ देशभक्त हो,
विचरा मर्छ र पछि दिईने त्यो सलाम लाई के भन्नुहुन्छ ?

अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ एम
वुटवल, रुपन्देही

7:28 PM | Posted in , | Read More »

गज़ल

कति राम्री जन्मभूमि ! नामै प्यारो लाग्छ सधैँ
रीति- रिवाज संस्कृति र धामै प्यारो लाग्छ सधैँ

मुटु भरि छचल्किँदा सम्झना र माया मात्रै
आफ्नै घरका दलिन,निदाल थामै प्यारो लाग्छ सधैँ

आँखा भित्र नाचिराख्ने हिमालकै सेरो फेरो
सगरमाथा टल्किएको घामै प्यारो लाग्छ सधैँ

लोभै लाग्ने चाड पर्व सबै मिली मनाउँदा
आत्मीयता,आशिर्वाद र खामै प्यारो लाग्छ सधैँ


डाँडा काँडा उकाली र ओरालीमा हिंड्दा खेरि
चारै तिर हरियाली ठामै प्यारो लाग्छ सधैँ

  दिन रातै मिहेनतले झारा पर्म गर्दा पनि
"कोमल" मन बोकेका छन् कामै प्यारो लाग्छ सधैँ

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
१६ मार्च ,२०१३

5:52 PM | Posted in , | Read More »

गज़ल

सोझा सिधा जनतालाई नचाउन सक्छौ अब
निर्दलको हल्ला खल्ला मचाउन सक्छौ अब

जाली,झेली,कुकर्मी र अपराधी भए पनि
बन्धु बान्धव रैछन भने बचाउन सक्छौ अब

विरुद्धमा बोले भने गोर्खे लौरी उजायेर
प्रहार गर्दै ढाड सबको भँचाउन सक्छौ अब

रुघा मात्रै लागे पनि शाखासन्तान जम्मा गर्दै
बिदेश तिरै पुर्याएर जँचाउन सक्छौ अब

यो देशको महामात्य जे गर्न नि हुन्छ भन्दै
कोष जति रित्याएर पचाउन सक्छौ अब

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

1:17 PM | Posted in , | Read More »

गज़ल

सबै कुरा बिर्सिएर,पिऊँ जस्तो लाग्यो आज
नशासङ्गै हराउँदै,जिऊँ जस्तो लाग्यो आज

"काग जति कराए नि,पिना सुक्न छोड्ने होइन"
त्यसैले त आफ्नो मुख,सिऊँ जस्तो लाग्यो आज

अनगिन्ति तड्पाइले बारम्बार दुख्ने मुटु
टुक्र्याएर अन्तै फ्याँकी दिऊँ जस्तो लाग्यो आज

भावनामा बहकिंदै,टोल्हाउन छोड्छु भन्दै
भित्रि मनले बाचा कसम,लिऊँ जस्तो लाग्यो आज

हेर्दा हेर्दै बिलाउने,छोटो हाम्रो जिन्दगानी
घाम लाग्नु अगाडिको,हिउँ जस्तो लाग्यो आज   

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
मार्च १२ ,२०१३

7:47 AM | Posted in , | Read More »

गजल

आधा संसार ढाकी सकेका छौ नारी हामी
धैर्यता स्नेह र ममताका हौ धारी हामी

माकुराको जालो जस्तै समस्यामा जेलिएर
डुब्छौ बरु सागरमा आश्रित तारी हामी

आफन्तको सुख सुबिधा ख्याल गर्दा गर्दै
बाच्छौ अरुको लागिनै आकांक्षा मारी हामी


त्याग र बलिदानको कुनै सिमा नराखी
युग देखी बोक्दै जिन्बेवारीको भारी हामी

आमा छोरी बुहारी  धेरै रुप निभाउदै
जित्नु पर्ने सबैको मन सधैं हारी हामी

कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

6:57 PM | Posted in , | Read More »

गज़ल

जाग नारी ज्ञानचक्षु बाल्दै बाल्दै अघि बढ
कुरीतिका बोटहरु ढाल्दै ढाल्दै अघि बढ

घर भित्रै पिल्सिएर कति पीडा भोग्छ्यौ अझै
सडेका ती कुमान्यता फाल्दै फाल्दै अघि बढ

दिनहुँका अपहरण,बलात्कार र हत्या सबै
रण चण्डी बनेर नि गाल्दै गाल्दै अघि बढ

आफ्नो पौरख देखाएर सक्नु पर्छ देशै हाँक्न
पाखुरामा जोश,जाँगर हाल्दै हाल्दै अघि बढ

दिदी ,बहिनी,जननी र प्रेयसीलाई पुरुष पनि
सम्मानको शुभकार्य थाल्दै थाल्दै अघि बढ

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

7:53 PM | Posted in , | Read More »

गजल

भबिस्यको पिर र् भयमा बित्ने भयो जिबन
सधैं भरी आफ्नै निर्णयमा बित्ने भयो जिबन

परिवारको लागि भौतिक सुख जुटाउदा म
रोदनै रोदनको लयमा बित्ने भयो जिबन

केही पाउनलाई केही गुमाउनु पर्छ भन्ने
उखानको झुटो आसयमा बित्ने भयो जिबन

भित्री मनमा पिडा कती छ देखाउन नमिल्ने
खोक्रो प्रसम्शाको जयजयमा बित्ने भयो जिबन

योगदानमा साच्चैको आत्म सन्तुस्टी मिल्दो रैछ
तेसैले त बिना सन्चयमा बित्ने भयो जिबन

कल्पना पौडेल "जिज्ञासु"
 गैंडाकोटअ,४,नवलपरासी
 हाल:इजरायल

4:49 AM | Posted in , | Read More »

गज़ल

स्वाभिमानी नेपाली म झुक्न सकिन
इमान्दारी बिकायेर चुक्न सकिन

सबै सँग मायाँ लाएँ भेद नराखी
निमुखालाई दपेटर भुक्न सकिन

कुर्नु सम्म कुरें मैले स्वच्छ बिहानी
आधा उमेर बितेपछि ढुक्न सकिन

डाँडा काटी कहाँ कहाँ पुग्नु परे नि
पारदर्शी मात्रै बनेँ लुक्न सकिन

आफ्नो श्रम बेचेको छु सधैं बिदेशमा
धान्नै पर्यो जीवन यो सुक्न सकिन

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

6:10 AM | Posted in , | Read More »

गजल

नियतिको प्रहारले गिरेकी नारी हुँ म
समयले हर पल पिरेकी नारी हुँ म

रोजगारी नहुँदा आफ्नो देसमा अनी त
प्रबासमा काम खोज्दै फिरेकी नारी हुँ म
सन्तान र श्रीमानको उज्जल भबिस्यको
चाहनाले इज्रायल छिरेकी नारी हुँ म
मार खेप्न नसकेर गरीबिमा धनको
बद्लामा खुन पैचो तिरेकी नारी हुँ म

स्वाबलम्बी हुँदा पनि बाध्यतामा अल्झेर
आफ्नै हात्ले स्वाभिमान चिरेकी नारी हुँ म
प्रदेसमा छुर पनि देसकै माया प्रेम
हिर्दयको कुना भित्र भिरेकी नारी हुँ म
 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

2:36 PM | Posted in , | Read More »

गज़ल

संसारमा सबै भन्दा,देश आफ्नै प्यारो
मीठो लाग्ने भाषा अनि,भेष आफ्नै प्यारो

लगाएनी बिदेशका,चिल्ला चिप्ला लुगा
चोखा हातले बनाएको,खेस आफ्नै प्यारो

रङ्गाएर खैरा,सेता, राता, नीला भन्दा
प्रकृतिले देको कालो,केश आफ्नै प्यारो

डाँडा काँडा उकाली र ओरालीमा झर्दा
सधैँ भरी लागे पनि,ठेस आफ्नै प्यारो

परचक्री रीति रिवाज प्रक्रियालाई देख्दा
जहाँ सुकै पुगे पनि पेश आफ्नै प्यारो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

5:10 AM | Posted in , | Read More »

ग़ज़ल

हाम्रो सम्वन्धको कथा नलेखेकै राम्रो सानु ।
भेट्नु कुनै अर्थ छैन नभेटेकै राम्रो सानु ।

सारा संसार अंधेरो भो देख्नु अव कता कता,
सधै रसाउने यी आंखाले नदेखेकै राम्रो सानु ।

हारी संके जिवन वाट अव हार्नु केही छैन,
जानी जानी प्रेमको जुवा नखेलेकै राम्रो सानु ।

रित्तीई सक्यो जिवन मेरो सवै कुरा जाने वुझें,
आशै आशाको स्वार्थी जालमा नजेलेकै राम्रो सानु ।

विस्वास् घात् र धोका सधै यथार्थको चौरहटमा,
साहाराको घाती लौरी नटेकेकै राम्रो सानु ।


अशोक गौतम क्षितिज
तिनाउ 98.2 एफ एम
वुटवल, रपन्देही
फोन - ९८५७०३३२६१, ९८०७५९०२४४

5:58 AM | Posted in , | Read More »

"कथा " सम्पादक नं. ४२०

सागर ‘मणि’ थापा-मैले प्रतीक्षा गरेको त्यो अंक पनि कोपिला नबन्दै उखेलेर फालेको फूलको बिरूवाझैँ हुन पुग्यो । कुरा के भने साथी गजेन्द्र अकेलाकी एउटी प्रेमिका थिइन् । उनको नाम सविना थियो । उनलाई पनि साहित्यिक हावाले मज्जैसंग छोएको थियो । चालीसेले विकल उपनाम झुण्ड्याए । त्यसैगरी कसैले प्यासी राखे । अनि कसैले अन्जान । सविनालेचाहिँ नामको पछाडि अंकित गरिन् निर्मोही भनेर । त्यत्ति गतिली लेखिका त होइनन् तर केही संपादकहरूलाई उनले आफ्नो ब्यागमा राखेर हिँड्ने गर्दथिन् । कुरा उही हो, बुझे भइगो । मलाई उनै सविना निर्मोहीसंग साथी अकेलाले एउटा कार्यक्रममा परिचय गराएको थियो । त्यो हाम्रो प्रत्यक्ष भेटघाट थियो । खासै भन्ने हो भने त्यो लुच्चाले प्रख्यात साहित्यिक पत्रकार तथा प्रकाशक गजाधर पथिकसंग मिलन गराउने कसम खाएको थियो । परन्तु, उसकी पे्रमिकाको अनुहारलाई पो दर्शन गरायो । घनिष्ट प्रेम परेको प्रमाण दिन खोजेको रहेछ । युवती, त्यसमाथि कवयत्री ! मभित्र भावनाका छालहरू उत्पातसंग उर्लिन थालिहाले । अटेसमटेस किसिमले प्रश्नका पर्राहरू क्रमशः छुट्न थाले—‘अँ त निर्मोहीजी, मेरा कृतिहरूमा पनि दृष्टि लगाउनु भएकै होला । मन विचरण गराउनु नै भएको होला । कस्तो लाग्यो तपाईँलाई ? केही टिप्पणी सुन्न पाए...।’

— ‘मैले तपाईँका दुई–चार थान कविता पढेकी थिएँ । खासै गतिला लागेनन् ।’ मेरो आशक्तिको विरूवालाई उनले यसरी निमोठेर फालिदिइन्, मैले ऐया पनि भन्न सकिनँ । उनी धक्कू लगाउँन थालिन-‘मैले तपाईँका अन्य कृतिहरूतिर आँखा लगाउनै पाएकी छैन । आफ्नो रचना लेख्दैमा फुर्सद छैन । संपादकहरूले रचना मागेर हैरान पार्छन् । आज पनि एकजना प्रकाशक तथा संपादकलाई नभेटी भएको छैन ।’ उनको प्रेमी गजेन्द्रले आग्रह ग¥यो- ‘तिमीले पथिक सरको कुरा गरेकी होइनौ ? यो मित्रसंग पनि परिचय गराइदेऊ न है ?’ उनको भागै खोस्न आएकोजस्तो गरेर सहमति जनाउन गाह्रो मानिन् सिकारू कवयत्री सविना निर्मोहीले ।

पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ कविले साहित्यिक दर्शनबारे विवेचना गरिराखेका थिए तर कतिपय लेखकहरूलाई मतलवै थिएन । उनीहरू आ–आफ्नै तालमा मस्त थिए । संपादक गजाधर पथिक पनि पकेटका केही महिला कविहरूलाई जम्मा पारेर गफ चुटिरहेका थिए । सविनाले उनीसंग हात मिलाइन् । नरम हात, चाँडै छोड्ने त कुरै थिएन । मेरो साथी अकेलालाई द्विविधा भैरहेको थियो, प्रेमी आफू हो कि पथिक सर ? उसले मलाई अघि सार्दै परिचय गरायो— ‘पथिक सर, यो मेरो लेखक साथी । के.के. विराग क्या त ।’ उसले नाम र उपनाममा किन पनि जोड दियो भने, कृति पढेको हुन सक्छ तर भौतिक देह नदेखेको होला । संपादकले चासो दिएकै हुन् । नत्र यस्तो जिज्ञासा प्रकट्याउँदैनथे— ‘विराग त टाइटल रहेछ, त्यो मैले बुझेँ । तर..।’ उनको जिज्ञासा मेरो नामबारेमा थियो । मैले नै अथ्र्याइदिएँ— ‘कृष्णकान्त । अर्थात् के.के. विराग । मैले हात मिलाउन अघि बढाएँ तर उनको उत्सुकता हराइसकेको थियो, जति अघि निर्मोहीको हात मिलाउँदा थियो ।

त्यहाँ १÷१ प्रति विमोचित किताब उपहार दिन थालिएको थियो । सवितासहित महिला कविहरू यसरी कुदे, लाग्थ्यो म्याराथन भइरहेछ । किताब पाएपछि दर्शकहरू किन बसिरहन्थे र । उद्देश्य पूर्ण भैहाल्यो । तताए आ–आफ्नो बाटो । मेरो साथीकी प्रेमिकाले उसलाईभन्दा बढी  माया आगामी अंकमा छापिने गजललाई गरिरहेकी छिन् भन्ने भान पर्ने व्यवहार गरिरहेकी थिइन् ।

अर्को दिन म एक्लै गजाधर पथिकको कार्यालय पुगेँ । पहिला त काउन्टरमा बस्ने केटीले लफडा झिकिन् अप्वाइन्टमेन्टको । मैले भिजिटिङ कार्ड देखाइदिएँ । उनले जाने अनुमति दिइन् । संपादक गजाधर पथिक दुईजना नारीरत्नहरूको बीचमा सोफामा बसिरहेका रहेछन् । गिद्धले पँखेटा फिजाएसरी आफ्ना कर्मठ बाहुहरू उनीहरूकोे कुम–कुममा अड्याइराखेका थिए । सायद अन्यको पालो पुगेर हो कि, अर्को सोफासेटमा बसेर गफ मारिरहेका थिए । मलाई देख्नासाथ सबैजना सम्हालिए । पथिक सर उठेर घुम्ने मेचतिर सरे । उनको वक्रदृष्टि पनि मतिर प¥यो । मैले मेरा कृतिहरू उनको टेबुलमा राखिदिएँ । उनले एउटा कृति उठाएर कभर निहारे । म सामुन्नेको मेचमा बसेको थिएँ । पुलिसले चोरलाई केरेझैँ मसंग वयान लिन थाले उनले— ‘मैले दिएको समयभन्दा किन पहिल्यै आउनुभयो भन्नोस् त ?’ उनी आफू निकै व्यस्त भएको वयान गर्दै नारी कविहरूसंग साहित्यिक भलाकुसारी चलिरहेको गफ दिन थाले । उनी पैसाका मामिलामा निकै कन्चुस र आशामुखी छन् भन्ने कुरा मलाई थाहा थियो । अतः म पूर्वतयारी गरेर गएको थिएँ । मैले पथिक सरको साहित्यिक पत्रिकामा आफ्नो कार्यालयको विज्ञापन छपाउन हाकिमबाट स्वीकृति पत्र लगेको थिएँ । त्यो पत्र उनको हातमा दिएँ । व्यहोरा अवगत भएपछि एकाएक उनको अनुहारमा चमक देखाप¥यो । उनले वास्तविकता खुलाउँदै लेक्चर छाँट्न थाले— ‘ हेर्नोस्  विराग भाइ, यो साहित्यिक पत्रिका चलाउनु भनेको त आकाशे खेतीजस्तै रहेछ । कहिले सप्पै बिक्छ । कहिले त एउटा पनि बिक्तैन । खालि वार्षिक सदस्यहरूको भरमा चलाउनुपर्छ । वास्तवमा भन्ने हो भने यी नारीरत्नहरूको मदतमै निर्भर छ मेरो पत्रिका ।’ मैले उनको आशय बुझिसकेको थिएँ । तसर्थ आफ्नो दर्शन छाँट्न थालेँ— ‘नोकरी भएको मान्छेले लेखकस्वप्रति ¥याल चुहाउनु हुन्न । म पनि लेखकस्व माग्नेवाला छैन ।’ — ‘उत्तम, अत्युत्तम ।’ पथिक सर खुसी देखिए ।

मैले संपादक तथा प्रकाशक गजाधर पथिकलाई सक्दो सहयोग गर्दै गएँ । उनले मेरा थोरै कविताहरू मात्र छाप्न थालेका थिए । उनी यस्तो लोभी र कन्चसु थिए, रचना छापिनासाथ महँगो रेष्टुराँमा लगेर मासुभात र स्कच ख्वाउनु पर्दथ्यो । अति भएपछि मैले भन्दिएँ— ‘पथिक सर, मैले नोकरी छोडेँ । अब त तलब पनि दिँदैनन् अनि विज्ञापन पनि दिँदैनन् ।’ त्यो समयदेखि हाम्रो सम्वन्धमा दरार पैदा भयो । निकै लामो समयसम्म मेरा रचना प्रकाशित नभएपछि मैले कड्केर सोधेँ— ‘संपादकज्यूले मेरा रचनाहरू किन रद्धीको टोकरीमा फालिदिनु भयो ? त्यो मेरो ‘ढलेको श्रीपेच’ शीर्षकको कविता किन छाप्नु भएन भन्नोस् त ? अब त देशमा लोकतन्त्र स्थापना भैसक्यो नि होइन र ? फेरि किन सामन्तहरूलाई खुसी पार्न चाहनुहुन्छ तपार्इँ ?’ —‘जाबो एउटा, दुइटा कृतिको मालिक भइटोपल्दैमा सबै कुरामा निपूर्ण छु भन्ने घमण्ड नगर्नोस् न विराग । संपादकको टेबुलमा आएजति सबै रचना छाप्नैपर्छ भन्ने वाध्यता छैन । उपयुक्त र राम्रो भए छापिन्छन् । नभए..।’ संपादकले आफ्नो अधिकारको धमास देखाउँदै भने । मैले बहसलाई अझै जटिल बनाइदिएँ—‘त्यसोभए राम्रो रचनाको परिभाषा दिनोस् न त संपादक महोदय । मेरो “मलाई पनि महाराज बन्न मन लाग्यो” शीर्षकको कवितामा के खोट देख्नुभयो यहाँले ? स्पष्ट बताइदिनु भए आभारी हुने थिएँ ।’ अहँ, उनीसंग जवाफ थिएन । नालायक नेपाल सरकारका उच्च अधिकारीहरू भूतपूर्व राजाको चाकरीमा सारा राष्ट्रिय शक्ति खर्चिरहेका थिए । उनका आसेपासेहरूले श्री ५ कै हैसियतमा ठाउँठाउँमा अभिनन्दन गरिरहेका थिए । धनको बलमा जयजयकार खाइरहेका थिए भू. पू. राजाले । लोकतन्त्र आए पनि हामीजस्ता साधारण लेखकलाई तिनै पूर्वशासकहरूको शक्तिरूपी हाउगुजी देखाएर स्वतन्त्रताको काफलगेडी खानबाट वञ्चित गराइयो । मेरो त्यो महाराजवाला कविताको भाव के थियो भने, यदि हामी सबैले आफूलाई महाराज घोषणा गरिदिने हो भने ती भूतपूर्व महाराजको भ्रम टुट्ने थियो र उनी आफ्नो औकातमा बस्ने थिए । तर पथिकजस्ता केही पतित पत्रकारहरूको चाकरीले चौथो अङ्गको धज्जी उडिरहेको थियो ।
एकदिन मलाई संपादक पथिककै डेक्सगर्लले उनका विरुद्वका सूचना र सामग्रीहरू उपलब्ध गराइदिइन् । संपादक गजाधर पथिक त पतित मान्छे भएको प्रशस्तै प्रमाण फेला परेको थियो । मैले गणतन्त्रवादी पत्रकार चरित्रमान नेपालीलाई गोप्यरूपमा भेट गरेँ । मैले पथिकसंग सम्बन्धित सबै फोटाहरू देखाएँ । तर उल्टै मैलाई उल्लू बनाउने तर्क गर्न थाले नेपालीजीले—‘के काम दिन्छ यस्ता तस्विरले ? जमाना अहिले कम्प्युटरको छ । कसैलाई बदनाम गराउन “ट्रिकफोटाहरू” जति पनि बनाउन सकिन्छ ।’ —‘यसको मतलव यहाँले त्यो गजाधर पथिकलाई असल पत्रकार र लेखक भन्ठान्नु भएको हो ?’ एक्कासी मेरो कम्पारो तातिहाल्यो । म अलि उत्तेजितिँदै बोलेँ—‘तपाईँले वर्गीय स्वार्थ हेर्ने कि विकृतिविहीन वर्ग निर्माण गर्ने पत्रकारज्यू ? गजाधर पथिकजस्तो कलङ्गलाई राष्ट्रको चौथो अङ्गमा लुकाएर राख्न चाहनुहुन्छ तपाईँ ?’ अहँ, उनले अरू स्पष्टीकरणको आवश्यकता देखेनन् ।

पथिकजी निवन्धकारकोरूपमा पनि परिचित थिए तर करिब दशवटा किताबबाट चोरेर लेखेको प्रमाण मैले भेटेको थिएँ । ती दशैजना मूर्धन्य लेखकहरूलाई साक्षीकोरूपमा उपस्थित गराउन सफल भइयो । उनका कालाकर्तुतजन्य सबै तस्विरहरू विभिन्न पत्रिकाहरूमा छापिए । ओहो ! पत्रकार बन्न इच्छुक व्यक्तिले समेत तीनपल्ट सोच्नुपर्ने स्थिति देखियो । अन्ततः साहित्यिक पत्रकार एवं संपादक गजाधर पथिक जेल परे । उनको प्रकाशन सँस्था “बाङ्मय सेवा” पनि खारेजीमा प¥यो ।

म र साथी अकेला उनै पथिक सरलाई जेलमा भेट्न पुगेका थियौँ । सन्जोगवश उसकी पूर्वप्रेमिका सविना निर्मोहीसंग जम्का भेट भयो । देख्नासाथ साथीले मुख बिटुल्याइहाल्यो—‘थुइक्कः नकचरी । यस्तो फटाहा र ४२० चोरको संगतमा लागेर मेरो पवित्र प्रेमको हत्या गरिस् होइन ?’ —‘गजेन्द्र । बढ्ता मुख नचलाऊ तिमी ।’ निर्मोहीले राम्रै मुखले चेतावनी दिइन्—‘मलाई तिमी मन परेन, प्रेम गर्न छाडिदिएँ ।’ उनलाई गजेन्द्र मन नपर्नुको कारण एउटै थियो । एक समय ऊ निकै बिरामी प¥यो । टाइफाइडले करिब बाईस दिन सुतायो अस्पतालको बेडमा । एकातिर प्रेमी इन्तु न चिन्तु भएर लडिराखेको थियो । अर्कोतिर प्रेमिका भनाउदीचाहिँ संपादक पथिकको पछि लागेर साहित्यिक गोष्ठी र कविसंम्मेलनतिर रमाइरहेकी थिइन् । पछि लाग्दालाग्दै पथिकसंग निर्मोहीको ‘ऊ’ भएछ । अनि त उनकै निर्देशनलाई शिरोपर गरिकन निर्मोहीले गजेन्द्रलाई आठ हरफे प्रेमत्यागपत्र दिएकी थिइन् । त्यही बखतबाट उसले आफ्नो नाम पछाडि टाइटल राख्यो, ‘अकेला’ । प्रेमिकाको रिसले एकदिन उसले मेरो कविताको समेत दाहसँस्कार गरिदिएको थियो । एउटै पानामा उनको गजल र मेरो कविता छापिएका थिए । साथीले त मैँबाट लगेको पत्रिका...!
त, जेलको भेटमा उनले हाकाहाकी भन्दिइन्—‘तिमीसंग प्रेम न गरेकी थिएँ, बिहे त होइन नि । अबदेखि मसंग यस्तो कुव्यवहार नगर ।’ —‘बरू बिहे गरेपछि छोडेकी भए भन्न सजिलो पथ्र्यो— स्वास्नी थिई, पोइल गई । तर यो विछोडको परिभाषा के भनेर गर्ने मैले ?’ अकेला वहकिँदै थियो । उनी बाटो लागिसकेकी थिइन् । उनको रिस ‘जारप्रेमी’ माथि खन्यायो । डण्डीबाट हात छिराएर पथिकको कठालो समातिसकेछ । मुखमा थुकिदिएछ । उनी गार्डसंग सहायता माग्दै कराउन थाले—‘गुहार..गुहार । मलाई बचाऊ । मलाई...।।’


मितिः २०६९।७।०२
किर्तिपुर-१८ काठमाडौ

6:38 PM | Posted in , | Read More »

गज़ल

अज्ञानी छौं ज्ञान दिनोस सरस्वती माता
विद्या बुद्धि दान दिनोस सरस्वती माता

कुभावना हटोस् सबको सन्मार्गमा लाग्दै
इज्जत अनि मान दिनोस सरस्वती माता

निरक्षरले पढ्न सकुन प्रेम बढाई मनको
फोहर मैला जान दिनोस सरस्वती माता

प्रतिभाको मूल फुटी ढाकोस समाजमा
प्रतिष्ठा र शान दिनोस सरस्वती माता

कर जोडी फूलको थुँगा अर्पण गरेँ आज
भक्ति भाव लान दिनोस सरस्वती माता

श्री पञ्चमी
४ फाल्गुन,२०६९
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

4:34 AM | Posted in , | Read More »

गज़ल

जति चोट खपेर नि गंगाजी भै बह्यौ आमा
बाँचुन्जेलै अभाव र असन्तुष्टि सह्यौ आमा

रातोदिन डोको,नाम्लो,घाँस सँग प्रेम गाँस्दै
यिनैलाई आफ्ना दर्द सधैँ भरी कह्यौ आमा

सन्ततिलाई हुर्काउन दुखै दु:ख र पीडा झेल्यौ
जिन्दगीमा कयौँ दिन भोकै नाङ्गै रहयौ आमा

नखाइ नखाइ काम गर्दा निम्तियेर रोगहरू
शोक सुर्ता बढ्दै गए साह्रै जीर्ण भयौ आमा

 ज्वलन र छटपटीले दुख्न थाल्यो प्यारो मुटु
 टुहुरो नै बनाई हाल्यौ चट्टै छोडी गयौ आमा

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

3:19 AM | Posted in , | Read More »

गज़ल

मिलाएर हातै गरौँ प्रेम साँचो
बिते बित्छ रातै गरौँ प्रेम साँचो

नजर क्यै झुकाई लजाएर घुम्टो
उघारेर बातै गरौँ प्रेम साँचो

पिई प्रीत धारा अधिक लट्ठ पर्दै
बढाएर मातै गरौँ प्रेम साँचो

उदाई बिहानी चरी चिर्र गर्दा
बनी फेरि तातै गरौँ प्रेम साँचो


अपूर्वै मिलनले मधुर जिन्दगीको
रची गीत खातै गरौँ प्रेम साँचो

दिवस प्रेमको यो बनोस दिव्य धारा
 न होस् तुच्छ घातै गरौँ प्रेम साँचो

( भुजङ्गप्रयात छन्द )
 गण :- य   य   य   य
सूत्र:- ISS ISS ISS ISS
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

3:15 AM | Posted in , | Read More »