नवलपरासीलाई हरित जिल्लाको रुपमा चिनाइने
नवलपरासी,फागुन २३-सन २०१३ लाई बृक्षारोपण वर्ष घोषणा सहित जिल्ला विकास समिति नवलपरासीले भोलि आफ्नो २१ औ जिल्ला परिषद गर्दै छ । एक व्यक्ति एक बिरुवा रोपण भन्ने मूल नाराका साथ नवलपरासीलाई हरित जिल्लाको रुपमा चिनाउन हुन गईरहेको परिषद मार्फत सन २०१३ लाई बृक्षारोपण वर्ष घोषणा गर्न गईरहेको जिविसले जनाएको छ ।
बृक्षारोपण दिवसको प्रस्ताव परिषदको एकिकृत योजना तर्जुमा बैठकमा समेत पास भईसकेकोले जिविसको नीति कार्यक्रममा राखेर जिल्ला परिषद मार्फत घोषणा गर्न लागिएको स्थानिय विकास अधिकारी रामुराज कडियारले जानकारी दिनुभयो । वृक्षारोपण बर्षलाई सफल बनाउन परिषद सकिने वित्तिकै सरोकारवालासंग छलफल गरि रणनीतिक योजना मार्फत जिल्लाको रामग्राम नगरपालिका सहित ७३ गाविस र विभिन्न गैरसरकारी संस्थालाई समेत परिचालन गरिने स्थानिय विकास अधिकारी कडियारले बताउनुभयो । एक गाविस एक नर्सरी स्थापना गरी शुरुवात गरिने कार्यक्रम नगरपालीकालाई हरियाली बनाउदै क्रमश जिल्ला भरी विस्तार गरिने जनाईएको छ । जसका लागि विभिन्न गाविसमा रहेका सार्वजनिक जग्गाा, सडक पेटी, खोलानाला, पोखरी जलासय लगायतको स्थानमा वृक्षारोपण गरिने जिविसले जनाएको छ । २१ औ जिल्ला परिषदमा आ.ब.०७०/७१ का लागि ३ सय ७४ योजना छनौट भएको र जसमध्ये ७७ वटा योजनाहरु पहिलो प्राथमिकतामा परेको जिल्ला विकास समितिका योजना फांटका प्रमुख पुरुषोत्तम ढकालले जानकारी दिनुभयो ।