पुष्प सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न
लक्ष्मण पोखरेल,बुटवल, २७ असोज । बुटवल( ९ स्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता, जीवराज आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष देवेन्द्र घिमिरेको प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्ष युवराज अमगाईंको स्वागत तथा सचिव दीपक न्यौपानेको सञ्चालनमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, अन्नपूर्ण सहकारीका अध्यक्ष दोलनाथ पाण्डे, आम्दा अस्पतालका निर्देशक डा. विनोद पराजुली, संस्थाका सल्लाहकारहरु शिव सुवेदी, उमाकान्त बस्याल, फननारायण ढकाल, रामप्रसाद पाण्डे, कृष्णप्रसाद पाण्डेलगायतले बोलेका थिए । बक्ताहरुले सहकारीले गरिबी निवारणमा टेवा पुर्याउनु पर्नेमा जोड दिँदै आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा सहकारीलाई सहयोग गर्ने डा. विनोद पराजुली, डा. अजयकुमार श्रीवास्तव, असल ऋणी मिनाकुमारी उपाध्याय र देवीलाल गोतामे, सहकारीकी व्यवस्थापक सरस्वती पाण्डे (न्यौपाने) तथा युवराज टण्डनलाई सम्मान गरिएको छ ।
साधारणसभाको बन्द सत्रले अध्यक्ष तिमल्सेनाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिका संयोजक भीमप्रसाद भुर्तेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
पुष्प सहकारीमा २४४ जना महिला र २२४ जना पुरुष गरी ४६८ जना शेयर सदस्य रहेका छन् । मासिक ३,५,६ सय एवं एकहजार निक्षेप समूहमा शेयरसदस्यहरु आवद्ध छन् ।
