|

कम्प्युटरले अब हेर्ने, सुन्ने, छुने, सुँघ्ने र स्वाद थाहा पाउने

आजभोलि तपाईंलाई एउटा स्मार्टफोन भए केही चाहिँदैन, संसार मेरो मुट्ठीमा छ जस्तो लाग्न सक्छ होला। तर, धेरै पर्खनै पर्दैन, कम्प्युटरसँगै जोडिएर आउने नाम आइबिएमले गरेको पूर्वानुमान मान्ने हो भने पाँच वर्षभित्र कम्प्युटरमा क्रान्तिकारी परिवर्तन हुँदै छ। नयाँ कम्प्युटरले अब मान्छेका पाँच समवेदना हेर्ने, सुन्ने, छुने, सुँघ्ने र स्वाद थाहा पाउने काम पनि गर्न थाल्नेछ।

छुन सकिने कम्प्युटर

आइबिएमकी रिटेल इन्डस्ट्री एक्सपर्ट रबिन स्कवार्टज भन्छिन्, अबको पाँच वर्षमा तपाईं मोबाइल र कम्प्युटरबाट छुन सक्नुहुनेछ। भविष्यमा यसले के के गर्न सकिन्छ त?
• अनलाइन सपिङ गर्नेहरूले लुगा वा अन्य सामान कम्प्युटर वा फोनबाटै छोएर हेरी किन्न सक्नेछन्।
• नेपालको कुनै गाउँमा बनेको सामान विकसित देशका ग्राहकहरूले आफ्नै देशबाट छोएर बुझेर अनलाइनबाट किन्न सक्नेछन्।
• हुम्लाका बिरामीलाई काठमाडौँमै बसेर डाक्टरले छोएर जाँच्न सक्नेछन्।

यी त भए फाइदाका कुरा। तर यसरी छुन सकिने भएपछि केही उरन्ठेउला ठिटाहरू पोर्न साइटतिर जाँदै युवतीका अंग प्रत्यंग छाम्न व्यस्त रहन थाले भने के गर्ने होला?

देख्न सक्ने कम्प्युटर

अहिलेको कम्प्युटरले फोटोलाई फोटोका रूपमा बुझ्दैन, बाइनरी डेटा अर्थात् शून्य र वनमा मात्र बुझ्छ। फोटोलाई चिनाउन क्याप्सन नलेखी हुन्न। तर, आइबिएमका इन्टेलिजेन्ट इन्फर्मेसन म्यानेजमेन्टका सिनियर म्यानेजर डा. जोन आर स्मिथका अनुसार पाँच वर्षमा कम्प्युटरले फोटो हेर्ने मात्र होइन, बुझ्नसमेत सक्नेछ।
• भविष्यमा कम्प्युटरले मेडिकल फोटोहरू स्क्यान गरेर डाक्टरहरूलाई समस्या पहिल्याउन सहयोग गर्नेछ।
• तपाईंले राख्नुभएका फोटो, सेयर गर्नुभएका फोटो आदिका आधारमा कम्पनीहरूले व्यक्तिगत रूपमा तपाईंको रुचिको रंग, आकार आदि मिल्ने सामान बेच्नेछ।

सुन्न सक्ने कम्प्युटर
अहिलेका कम्प्युटरले ध्वनि बजाउन मात्र सक्छ। तर, आइबिएमका मास्टर इन्भेन्टर डा. डिमिट्री कानेभ्स्कीका अनुसार पाँच वर्षभित्र कम्प्युटरले चाहिएको आवाज सुन्न सक्नेछ। जसरी हाम्रो दिमागले आवाजका विभिन्न प्रवृत्ति बुझ्छन् र के महत्वपूर्ण हो भन्ने जानकारी दिन्छ, त्यसरी नै कम्प्युटरले अब आवाज सुन्न सक्नेछ। तर कम्प्युटरले हाम्रो दिमागले भन्दा पनि बढी काम गर्न सक्नेछ।
• भविष्यमा फोनले तपाईंको आवाजको विश्लेषण गरेर तपाईंको मूड थाहा पाउन सक्नेछ।
• कम्प्युटरले बच्चाको रुवाइको आवाज स्क्यान गरेर किन रोएको भन्ने बताइदिनेछ - भोकै भएकोले रोएको कि, प्यास लागेकोले रोएको कि, बिरामी भएकोले रोएको कि।
• रुख ढल्नुअघिको आवाज कस्तो हुन्छ? हामीले शायद सुनेका छैनौँ। तर, कम्प्युटरको प्रयोग गरी अब आवाज विश्लेषण गरी ढल्न लागेको रुख, भत्कन लागेको पुलको बारेमा अग्रिम सूचना पाइनेछ।

स्वाद थाहा पाउने कम्प्युटर
कुन खानेकुराको स्वाद कस्तो हुन्छ? के खाँदा ठीक हुन्छ? आइबिएमका रिसर्च साइन्टिस्ट डा. लव वार्सनेका अनुसार पाँच वर्षभित्र कम्प्युटरले यो सब थाहा पाउनेछ।
• भविष्यमा व्यक्तिगत वेब एप्लिकेसन बन्नेछ र त्यसबाट तपाईंको स्वास्थ्यलाई विचार गर्ने गरी खानेकुरा खान सुझाव दिइनेछ।
• स्कूल जाने बच्चाहरूलाई के टिफिन लाने भनेर कम्प्युटरले सुझाव दिनेछ।

गन्ध थाहा पाउने कम्प्युटर
आइबिएमका रिसर्च म्यानेजर डा. हेन्ड्रिक हमानका अनुसार पाँच वर्षभित्र कम्प्युटरले गन्ध थाहा पाउन सक्नेछ।
• भविष्यमा खेतमा किसानहरूले सेन्सर राख्नेछन् र गन्धबाट कहिले बाली पाक्यो, थाहा पाउने छन्।
• यस्ता साना सेन्सरहरू फोनमा, भवनमा, कारमा सबै ठाउँमा राख्न सकिनेछ।
• तपाईंको फोनले गन्ध थाहा पाएर तपाईं कहिले बिरामी हुँदै हुनुहुन्छ भन्ने बारे बताउनेछ।
• अस्पतालहरूमा संक्रमणको खतरा सेन्सरले गन्धबाट थाहा पाउनेछ। समाचार नागरिक न्यूज
थप जानकारीको लागी भिडियो हेर्नुस

Posted by Butwalonline on 10:21 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कम्प्युटरले अब हेर्ने, सुन्ने, छुने, सुँघ्ने र स्वाद थाहा पाउने"

Leave a reply