आफन्तको खोजी (कथा)
दलविरले निरासाले भरिएको
लामो सास तान्दै भूईंबाट एक अन्जुली माटो उठाएर आफ्नी आमाको चिहान माथि खन्यायो । आखाबाट
आसुका धारा बगाउदै “तिम्रो आत्माले परमेश्वरको बास पाओस् , जीवित हुदा केही गर्न सकिन” भन्दै निकैबेर घुक्का छोड्यो । आफ्नी मरेकी आमालाई
सम्झेर त रोयो नै , त्यो भन्दा बढी उसलाई वरिपरीको वातावरणले अझ धेरै भावुक
बनाएको थियो । त्यो ठाउ र पखेरा सबै उस्तै उस्तै थिए । जंगल अलिक पातलिएछ , दश पन्ध्र जति मसिना झूप्रा घरहरु थपिएछन् । वारीपारी खेत , पाखा- पखेरा उस्तै
उस्तै नै हुन् जस्तो । ऊ बेलाका खेतहरुमा अहिले कतै अदूवाको खेती , कतै अकवरे खूर्सानी , कतै अम्रिसो र धूसको घास लगाएछन् । मान्छेहरुको काम गर्ने तौर तरीका अलिक फेरिएछ
। जेठको महिना , जताततै पालुवा र मूना पलाएका हरिया पाखा र खेतमा लहलह
परेका मकैका बोटहरु , पारीपारी पाखामा बर्षाको समयमा गएका पहिराका सेता धर्साहरुले
दलविरको मनलाई कता कता उडाएर लग्यो । ऊ आफू
बसेको नजीकैको पातीको बोटमा मसिना ढुंगाले हान्दै ऊ अतिततिर हरायो ।
उनीहरुको एउटा सानो भिरालो
परेको पाखो बारी थियो । बारीको बीचतिर सानो भूप्रो घर । घरको तलतिरको छेउमा एउटा सुगुरको
खोर थियो । अगाडि पट्टी दाउरा राख्ने सानो कटेरो थियो । घर वरिपरी मसिना सिस्नाका झ्यांगहरु
,पिडालू , सिमल तरुलका बोट र एउटा
काभ्राको रुख थियो । जिवन गुजारा गर्न सधैं बनिबूतो गर्नु पर्थ्यो । परिवारमा उसका
आमा बाबु , ऊ र दुई जना बहिनीहरु थिए । घरमा शान्ति भए त सिस्नोको
खोले र पानी खाएर पनि आनन्द नै हुन्थ्यो । तर गरिबी र अभावले घरमा प्राय सधैं बाबु
र आमाको झगडा परिरहन्थ्यो । आमा कहिले झुण्डिएर मर्छु भन्थिन् , कहिले भिरबाट हाम फाल्छु भन्थिन् । खेतको पुछार तिरबाट बग्ने भीमकाय रुप लिएर
बगेको खोलातिर दुई तीन पटक डुबेर मर्छ भन्दै गइन् । तर हामी बालबच्चाको मायाले होला
त्यसै फर्किएर आइन् । हामीले रुनु भन्दा अरु केही उपाय पनि थिएन । खप्नै नसकिने बेदना
र गरिबीको पीडाले होला , आमाको मन स्थिर थिएन जस्तो लाग्छ । बाबुले पनि हरेक कुरामा
हण्डर खाएर होला , आफ्नो उत्तरदायित्व पूरा गर्ने कुरामा कान खसाई सकेका थिए ।
हामीलाई कहिल्यै चाडवाड
आएन । खुशी भन्ने चीजले हाम्रो घरको संघार टेकेन । हामी त्यस बेला कठोर पीडादायक जीवनको
भूमरीमा फसेका थियौ । अभाव र गरिबीको बर्बर त्रासले हामी बडो भयभित थियौ । हाम्रो सानो
मैलो घर थियो , घरको सरसफाई
थिएन । परिवार प्राय: अर्ध नग्न हुन्थ्यो । जुत्ता र चप्पल कसैले देखिएन । नुहाउने
धुवाउने कुरा पनि सूर्य उतारायण र दक्षिणायन नै हुनु पर्थ्यो । बाबु मानसिक हालत बिग्रिए
जस्तै गरी आमालाई दिनहु जस्तो पिट्ने गर्दथे । बाबुले पिटेका निला निला निलडाम लिएर
आमा मेलापात गर्थिन् । “यो पितृ सतात्मक मुलूकको लाचार मानिसहरुको घीन लाग्दो उदाहरण
थियो ।” गाउमा मुख देखाई सक्नु थिएन । बाबुले आमा पिटेको बखतमा मेरा साना बहिनीहरु
मसगै टासिएर रुन्थे । म पनि उनीहरुसगै रुन्थे । हाम्रो घरमा सधैं जसो बेलुका साँझ पर्ने
बेलातिर यस्तो घटना हुन्थ्यो । हाम्रो धार्मिक परम्परा अनुसार त्यो एउटा अलच्छिनको
संकेत थियो । आउने दिनहरुको लागि अशुभ र अनिस्ठ लक्षण थियो । आमाका कपडा फाटेर शरीरका
सम्बेदनशील र लाज हुने अंगहरु बाहिर देखिन लागेका हुन्थे । आमाको त्यस्तो हालतबाट प्रस्ट
थाह हुन्थ्यो , आत्मा सम्मान र सामाजिक हिनताबोधको कारणले निकै गली सकेकी थिइन् ।
म अलि अलि मात्र सम्झन्छु
। मेरा बहिनीहरु त सम्झन्नन् होला । आमा बिस्तारै विरामी परिन् । गाउमा अस्पताल र स्वास्थ्य
चौकी थिएन । धामी झाक्री र पूजारी त गरियो । त्यसले पनि भएन । भगवान भरोसा भन्दा अरु कुनै उपाय थिएन
। भदौ महिनाको अन्तिमतिरको एक साँझ मूसलधारे पानीसँगै
आमाले अन्तिम पटक सास फेरिन् । हामी त सधैं पनि रोई रहन्थ्यौ । त्यस दिन पनि रोइयो
नै । आमा मरे पछि बाबु धेरै दिन सम्म रोए । शोक धेरै गरे । हतारमा गल्ति गरी फूर्सदमा
पछुताए जस्तै भयो होला । भोलि पल्ट बिहान गाउलेहरु जम्मा भए । कसैले बास काटे , कसैले
सेतो कपडा ल्याएर आमालाई बेर्न थाले । छिमेकीहरु कसैले धान , कसैले चामल ल्याइदिए ।
आखिर छिमेकी यसैको लागि चाहिने रहेछन् । उनीहरुले अफ्नो कर्तव्य पूरा गरे । हामीसँग
जात मिल्ने मानिसहरु कोही अगाडि लागे , कोही पछाडि लागे । केहीले आमालाई अगाडि र पछाडिबाट
काध लगाए । अगाडि हिड्ने एक जना मानिसले ठाउँ ठाउँमा केही धान र पाच पाच पैसा छर्दै
जान्थे ।
मेरा बाबु , आमालाई बिहे
गरेर ल्याउदाको खुशी र आजको दु:खद बिदाईको पुर्न नै नसकिने पीडाको संघारको वीचमा थिए
। मलाई पनि मान्छेहरुले सँगसँगै लिएर गए । कसैले बालक कालमा नै टुहुरा-टुहुरी भए भन्थे
। कोही ईश्वरको सृस्टि नै यस्तै हो भन्थे । नजिकैको चिहान घारीमा मान्छेहरुले एउटा
गहिरो खाडल खने र वरिपरीबाट ढुंगा लगाए । विस्तारै सानो नानीलाई नरम ओछ्यानमा सुताए
जस्तै गरी मेरी आमालाई हाले र माथिबाट माटोले पूर्दै गए । आमा छोपिदै गइन् । बिस्तारै
आमाको जीउ र अनुहार मबाट टाढा हुदै गयो । आमा मबाट सधै सधैका लागि हराएर गइन् । मेरो
हात समाएर अलि अलि माटो आमाको चिहान माथि हाल्न लगाए । हाम्रो घरको बत्ति निभ्यो ।
जिन्दगी सधैका लागि अँध्यारो भएर गयो ।
मेरा कलिला दिनहरुमा
मैले के नै गरिन र ? गाउका प्राय: सबैका घरका भाडा माझे । गोबर भकारा गरें , लुगा कपडा धोए र धेरै धरै गाली , अपमान र कुटाई खाए । भोका दिनहरु गन्ने हो भने बर्षौ
होइन यूग पनि हुन्छ होला । म गाउका दाजुहरुसँग पहाडबाट हप्तौ लगाएर मधेशतिर गएर नूनका
भारी ल्याएर गाउका साहूहरुलाई बेच्थें । दुई चार पटक ओहोर दोहोर गरे पछि अब त केही
होला की भन्ने लाग्न थालेको थियो । भत्केर अवषेश मात्र रहेको घरको गाह्रोतिर आखा डुलाउदै
आफू हिड्ने बेलामा आफ्ना बहिनीहरुले हामीलाई कपडा ल्याई देऊ है दाइ भनेको , बाबुले चाडै गएर राम्ररी आएस् भनेको कुरा सम्झदै दलविर फेरी एक पटक ठूलो आवाजमा
रोयो । गरिबीको पीडा र मातृ बात्सल्यको अभावले खरानी भएको दलबिर फेरी गाउ फर्किएन , उतैतिर हरायो ।
उमेर ढल्कदै गरेको जीर्ण
शरीर भएको आफ्नो बाबु र कलिला माया लाग्दा बहिनीहरुलाई सम्झदै उनीहरु माथि ठूलो अन्याय
गरेकोमा अफशोस जतायो । उसले मनमनै सोच्यो । साच्चै मेरा बाबु र बहिनीहरु
कहाँ गए होलान् ? अब त बहिनीहरुको विहेवारी भयो होला । बाबु बाचेका भए मलाई देखेर खुशीले कति रुदा हुन् ? सायद अब त मलाई चिन्दैनन् होला । एउटा कुरा त पक्का पक्की छ । हाम्रो घरको अवशेष
हेर्दा उनीहरु यहा छैनन् । आमा यही सडिन् , म कहाँ पुगे , बाबु र बहिनीहरु कता
लागे ? हरे ! विधाताको खेल पनि यस्तो हुन्छ र ? भन्दै आमाको
चिहानतिर हेर्दै दलविर फेरी टल्पलायो ।
आफ्ना आफन्तको नालीबेली
काया कैरन त तिनै अर्याल बाजेले मात्र बताउन सक्छन् भन्दै दलविर धनपति अर्याल बाजेका
घरतिर लाग्यो । गाउको पुरानो शैलीको घर , बाहिर सिकुवामा पुरानो
खाट माथि मैलो मैलो परेको राडी ओच्छाएर बसेका अर्याल बाजे धेरै बूढा भएछन् । दातहरु
सबै झरेछन् । आखा भित्र भासिएर अनुहार चाउरिएछ । “दिन गन्दै अस्ताउन लागेको डाडाको
घाम भएछन्” अर्याल बाजे पनि ।
अर्याल बाजेले दलविरलाई
देखेपछि , बाबुलाई त अघि देखेको थिएन । कहा जाने , के थरा (थर) हो ? भन्दै सोधे । बाजे म आइतेको छोरो दलविरे हो (हाम्रा
बाबुलाई गाउमा आइते भनेर बोलाउथे) चिन्नु भएन र ? भन्दै दलविरले जवाफ दियो । कहाँ चिन्नु र बाबु ? त ता भागेको धेरै बर्ख भयो , लाठे पो भइछ त ! यतिका बर्ख कता हराइस् त बाबु ? भन्दै
अर्याल बाजेले फेरी सोधे । बाजे म त उतै मधेशतिर नै पो हराए त भन्दै दलविरले छोटो जवाफ
दियो । तेरा सन्तानहेरु पनि कहाँ कहाँ पुगे । दलविरले स्तब्ध हुदै सोध्यो । कता कता गए र बाजे ? तेरो बाबु क्षय रोग लागेर यही मर्यो , बहिनीहेरु झोडातिरै पोइला गए भन्थे । परारका
साल कान्छी बहिनी दुई बर्खको छोरो लिएर आइथी । मेरै घरमा सात दिन सम्म बसेर गई । तिनेरु
पनि कहाँ जाउन र ? जाने ठाउ छैन । आफ्नै घर जस्तो गरेर आइथी । घर त झोडातिर कता पो भन्थी ? दलविरको मनले ठाउँ छोड्यो । बाजे म पछि आउछु भन्दै ऊ फेरी आफ्ना आफन्तको खोजी तिरै
लाग्यो......
कथाकार:एल एन सुवेदी “हस्ती˝ हाल कुवेत

