|

कतारमा घन्कियो पन्चैबाजा धुन

दोहा (कतार), मंसिर १९ - न विवाह, न व्रतबन्ध । न कसैको स्वागत त न कुनै भव्य उद्घाटन । तैपनि कतारमा पहिलो पटक घन्कियो पन्चैबाजा । दोहाको एक रेस्टुरेन्टको हलमा पन्चैबाजा घन्किँदा यहाँका नेपालीहरूले गाउँठाउँको मंसिरे विवाह माहोलको उमंग सम्झे ।

नेपाली लोकबाजा सुन्न जुराइदिएको थियो नेपाल प्रवास दलित एकता संगठनले । नेपालबाट बाजा किनेर कतारका नेपाली समुदायलाई हस्तान्तरण समेत गरेको संगठनले शुक्रबारदेखि पन्चैबाजा कक्षा समेत सुरु गरेको छ, नयाँ कलाकारमाझ । बाजा संयोजक कृष्ण परियारका अनुसार प्रशिक्षणमा १२ भन्दा बढीले भाग लिइरहेका छन् । 'कुन गीतमा कुन धुन निकाल्नुपर्छ, सिकाउँदै छौं,' बुटवलका परियारले भने, 'एउटा कोठा नै भाडामा लिएर गीत, संगीत र नृत्य सिकाउने गर्दै आएका छौं ।'

यो प्रवास भूमिमा नेपाली लोकबाजालाई फैलाउने योजनालाई बल पुग्ने गरी विभिन्न संघ-संस्थाका प्रतिनिधि र व्यावसायीहरू समेतबाट समेत उत्तिकै हौसला मिलिरहेको परियारले बताए । 'एक वर्ष अघिदेखि नै बाजा कतार ल्याउने योजना थियो, बल्ल चाँजोपाँजो मिल्यो,' परियारले भने, 'देशमै लोप हुन लागेको बाजालाई परदेशमा भए पनि संरक्षण र संवर्द्धन गरौं भनेर जुटेका हौं ।'

कतार ल्याइएको पन्चैबाजा सेटमा २ दमाहा, २ सहनाई र एक/एक ट्याम्की, ढोकली, झ्याली र नरसिंहा छन् । कर्नाल भने सेटमा परेको छैन । ल्याउन असुविधा भएको र यहाँ बजाउँदा टाढाटाढासम्म आवाज पुगेर अरूलाई असर हुने डर रहेको रोचक प्रसंग औंल्याउँदै परियारले भने, 'बरु कर्नालको सट्टा बिगुल ल्याउँदै छौं ।' नेपाली दूतावासको पत्रको आधारमा उनीहरूले कतार आउने कामदार मार्फत बाजा भित्र्याएका हुन् । देउसी-भैली खेलेर जम्मा भएको रकममा अन्य केही संस्था सहयोगमा १ लाख १५ हजार रुपैयाँ खर्चेर बाजा ल्याइएको हो ।

लोकार्पणमा सहभागी वक्ताहरूले खाडीमा पन्चैबाजा भित्र्याएको खुसी व्यक्त गर्दै नेपाली कला र संस्कृतिको फैलावट गर्न यहाँको नेपाली तथा अरबी समुदायमा पुर्‍याउनुपर्नेमा जोड दिए । संगठनले डिसेम्बर १८ मा कतारको राष्ट्रिय दिवसमा पन्चैबाजा बजाउन अनुमति लिन खोजिरहेको जनाएको छ ।

'कतारको राष्ट्रिय दिवसमा बजाउन खोजिरहेका छौं, मिले बजाउँछौ, नमिले नेपालीका पिकनिक, दूतावासका कार्यक्रममा बजाउने छौं,' संगठनका अध्यक्ष बुद्धिराज परियारले भने, 'हामीसँग साधन, कला सीप छ । अवसर र निम्तो पाए जहाँ पनि बजाउन जानेछौं ।' लोकार्पणको अवसरमा गत बुधबार केही समय धुन बजाएर रमाइलो गरिएको थियो । 'पढाइ र जागिरका कारण मुलुकबाहिरै भएकाले २० वर्षदेखि यो बाजा सुन्नै पाएको थिएन,' बाजा ल्याउन सहयोग पुर्‍याएका व्यवसायी तथा इन्जिनियर कञ्चनपुर महेन्द्रनगरका कोमलबहादुर सिंहले भने, 'नेपाली संस्कृतिलाई विदेशमा फैलाउनु र जोगाउनु हामी सबैको दायित्व हो ।'

संगठनले बिहीबार साँझ सिंहकै निवासमा धोको फेर्नेगरी बाजा घन्काएका थियो, जहाँ अरू नेपाली पनि थिए । कलाकारले नेपाली लोकबाजाको धुनसँगै लोकदोहोरी गीत, नृत्यमात्र होइन, देउडा समेत गाएर रमाइलो गरे । सिंहले बाजा सहयोगको लागि २ हजार रियाल -४४ हजार रुपैयाँ) र बागलुङ, कुश्मिसेराका व्यवसायी राज रेग्मीले १ हजार रियाल -२२ हजार रुपैयाँ) समेत प्रदान गरे । संगठनका अध्यक्ष परियारले नेपाली दूतावास तथा नेपाली समुदायका कार्यक्रममा पनि पन्चैबाजाको धुन प्रस्तुत गर्दै जाने बताए ।
                                                                                                                                         स्रोत :कान्तिपुर 


Posted by Butwalonline on 7:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कतारमा घन्कियो पन्चैबाजा धुन"

Leave a reply