|

तिहार आजदेखि सुरु, भाइटीकाको साइत शुक्रबार बिहान ११:५५ मा

काठमाडौँ, कात्तिक ७- नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। कात्तिककृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार मनाइन्छ। यसपटक कात्तिक ७ गते सोमबार साँझदेखि त्रयोदशी अर्थात् यमपञ्चक सुरु हुने भएकाले साँझ यमराजको आह्वान, पूजा तथा यमदीपदान गरिन्छ।

यमपञ्चकको दोस्रो दिन कात्तिक ८ गते बुधबार त्रयोदशी थोरै बाँकी भएकाले कागपूजा बिहान ७ घडी ३ पलाभित्र गर्नुपर्ने हुन्छ। उप्रान्त चतुदर्शी लाग्ने भएकाले कुकुरतिहार तथा नरक चतुर्दशी स्नान, दीपदान पनि बुधबार नै गरिन्छ। आयुर्वेदका प्रणेता धन्वन्तति जयन्ती पनि सोही दिन मनाइन्छ।

तेस्रो दिन कात्तिक ९ गते साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन कात्तिक १० गते बिहान गोवर्द्धन पूजा, गाईपूजा तथा गोरु तिहार र बलिराजाको पूजा गरिन्छ भने साँझ नेवार समुदायमा म्ह (आत्मपूजा) गरिन्छ।

अन्तिम दिन कात्तिक ११ गते बिहान ११:५५ मिनेटमा भाइटीकाको शुभसाइत रहेको भए तापनि भाइटीका मध्याह्न तथा अपराह्न पनि गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा.माधव भट्टराईले जानकारी दिए।

पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।

यमपञ्चकको दोस्रो दिन काग तथा कुकुर तिहारका अवसरमा धार्मिक मान्यताअनुसार कागलाई पूजा गरी विविध खानेकुरा दिइन्छ। हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ। कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ। सो दिन काग तथा कुकुरको पूजाा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ।

लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवाबाट घरघरमा गई खेलिने देउसीभैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ।

यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजाा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ।

वैदिक कालमा बलि राजाले आफ्नो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ।

नेपाल भाषामा 'स्वन्ती नखः' भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ-आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हटाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ।

लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ। यतिबेला घरआँगन र खेतबारीका आली-कान्लामा ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फूलले वातावरण रमणीय बन्छ।
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 8:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तिहार आजदेखि सुरु, भाइटीकाको साइत शुक्रबार बिहान ११:५५ मा"

Leave a reply