गोरु काटेको आरोपमा तीन जना पक्राउ
बुटवल, ४ मंसिर । आफ्नो गोरु झुक्काएर काटेको भन्दै पर्राहा २ का खड्गबहादुर श्रेष्ठले पर्राहा कै तीन जना बिरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । तिहारको अघिल्लो दिन गोरुलाई जोत्न लैजाने भन्दै पर्राहाका समशेर बहादुर बिक, लिल बहादुर शाही तथा रेग्मी थरका एक व्यक्तिले गोरु काटेको बताइएको छ । आफ्नो घरमा पाडो रहेको र त्यसैसंग गोरु लगेर लैजाने भन्दै श्रेष्ठसंगबाट गोरु लगेको पर्राहाका एक स्थानीयले दैनिक पत्रलाई जानकारी दिए ।
गोरु काटेको जाहेरी दिए पछि इलाका प्रहरी कार्यालय बुटवलले तीन जनालाई पक्राउ गरेको छ । इप्रकाका प्रहरी प्रमुख दिपक थापाले गोरु काटेको आरोपमा पक्राउ गरिएको बताउदै त्यस बारेमा अनुसन्धान भइरहेकाले अन्य कुरा पछि जानकारी गराउने बताए । नेपालको कानुनमा गोरु काट्न बर्जित छ । स्थानीयले गोरु काट्नेलाई कडा कारबाही गर्न माग गरेका छन् ।