|

नेपाली बजारमा पारदर्शी एलपीजी सिलिण्डर आउने


काठमाडौं, चैत्र २० -आगामी २ महीनाभित्र ट्रान्सपरेण्ट ग्यास सिलिण्डर बजारमा आउने भएको छ । कावसन्स इण्डष्ट्रिज प्रालिले धादिङको बेनीघाटबाट श्रीमाया नामको ट्रान्सपरेण्ट ग्यास सिलिण्डर बजारमा ल्याउन लागेको बताएको छ । यो ग्यास सिलिण्डरको बजार मूल्य ८ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीका म्यानेजर प्रकाशचन्द्र जोशीले जानकारी दिए । ‘उद्योग सञ्चालनलगत्तै हामी बजारमा यस्तो सिलिण्डर ल्याउने योजनामा छौं,’ उनले भने । उद्योग सञ्चालनका लागि निर्माण कार्य पूरा हुन लागेको उनले बताए । उक्त उद्योग सञ्चालनमा ल्याउँदासम्म करीब १४ करोड रुपैयाँ लगानी हुने जोशीले बताए । उनका अनुसार उद्योग निमार्णको कार्य एक वर्षअघिदेखि शुरू गरिएको हो ।
ग्यास उद्योग सञ्चालनका लागि कम्पनीले स्थानीय बासिन्दाको सिफारिशमा गाविससँग सैद्धान्तिक सहमति लिनुपर्ने नेपाल आयल निगमको प्रावधान छ । सैद्धान्तिक सहमतिका लागि निवेदन गरेको ३५ दिनपछि कुनै विरोध नआएको अवस्थामा गाविसले आयल निगमसमक्ष प्रस्तावका लागि सिफारिश गर्छ । आयल निगमको सहमतिपछि मात्र कम्पनीले कम्पनी रजिष्ट्रारको सहयोगमा घरेलु तथा साना उद्योगमार्फत प्रारम्भिक वातावरण रिपोर्ट (आईई) लिई निर्माण कार्य शुरू गरेको जोशीले जानकारी दिए । ग्यास उद्योग सञ्चालनका लागि पहिले जग्गा तथा माटोको परीक्षण गर्नुपर्छ ।

२३ रोपनी ६ आना जग्गामा निर्माण हुन लागेको यस उद्योगबाट ३० जनाले रोजगारी पाउने जोशीले जानकारी दिए । कम्पनीले १ सय ८ मेट्रिक टन क्षमताबराबरको दुईओटा बुलेट राखेको छ । यो भारतबाट आयात गरिएको कम्पनीले बताएको छ । श्रीमाया ग्यास नेपालमै पहिलोपटक ट्रान्सपरेण्ट ग्यास सिलिण्डर भएको उनले दाबी गरे । फाइवरको भएकाले अन्य मेटालिक सिलिण्डरभन्दा यो सिलिण्डर सुरक्षित भएको कम्पनीको भनाइ छ । ‘बाहिरबाटै ग्यासको मात्रा देखिने हुनाले उपभोक्ताहरू ठगिने डर हुँदैन,’ जोशीले भने । यो १ सय ६० डिग्री सेल्सिएसको तापक्रमसम्म यसमा आगो नलाग्ने उनले जानकारी दिए । रित्तो सिलिण्डरको तौल ५ केजी, २२ केजी र २४ केजीको हुन्छ । 
स्रोत :आर्थिक अभियान 

Posted by Butwalonline on 8:06 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली बजारमा पारदर्शी एलपीजी सिलिण्डर आउने"

Leave a reply