जिबिस कपिलवस्तुद्धारा निर्देशिका अनुसार खाता संचालन गर्न निर्देशन
किरणमान बज्राचार्य,कपिलवस्तु, चैत ६ -जिबिसले गाबिसको खाता संचालनका लागि तोकिएको निर्देशिका अनुसार कार्य गर्न गाबिस सचिवलाई कडा निर्देशन जारी गरेको छ । स्थानीय निकाय स्रोत परिचालन तथा निर्देशिका २०६९ अनुसार खाता संचालन गर्न जिबिसले उनीहरुलाई निर्देशन दिएको हो ।
गाबिस सचिवले नियम बिपरित आफुखुशी जिबिसका खरिदार देखि अधिकृत स्तरका कर्मचारीहरुको नाममा संयुक्त खाता खालेर आर्थिक कारोवार गर्दै आए पछि स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेयले यस्तो निर्देशन जारी गर्नु भएको हो । बर्षो देखि गाबिस सचिवले जिबिसमा कार्यरत आफनो अनुकुलका कर्मचारीहरुसंग संयुक्त खाता खालेर कारोवार गर्दै आएका छन् । खाता संचालनका लागि जिबिसबाटै सिफारिस समेत गर्ने गरिएको थियो । निर्देशिका जारी हुनु पुर्व पनि गाबिस संचालन अनुदान निर्देशिकामा समेत जिबिसका अधिकृत स्तरका कर्मचारीहरुसंग मात्र संयुक्त हस्ताक्षरमा खाता संचालन गर्नु पर्ने प्रावधान रहे पनि गाबिस सचिवले त्यस बिपरित खाता खालेर कार्य गरीरहेका छन् । ७७ गाबिस रहेको जिल्लामा कार्यरत गाबिस सचिवले नासु रेशम शर्मा, संतराज आचार्य, गोबिन्द आचार्य, संतोष श्रीवास्तव तथा अधिकृतहरु बासु जमरकट्टेल, राजन कुमार पाख्रेल लगायतसंग संग संयुक्त खाता खोलेर कारोवार गरीरहेका छन् । बिगतमा गाबिसको खाता संचालनका लागि अनिच्छुक रहे पनि बाध्यताबस मात्र गाबिसको खाता संचालकमा बसेको जिबिसका नासु गोबिन्द आचार्यले बताउनु भयो । एक त निर्देशिका अनुसार नभएको अर्कोतर्फ गाबिस सचिवको बिश्वासमा चेकमा हस्ताक्षर गर्दा आफु समेत फस्ने हो कि भन्ने डर रही रहने उहाँको भनाई छ ।
निर्देशिकाको परिच्छेद ७ को कोष ब्यवस्थापनको बुँदा नम्बर ४१ अनुसार पहिलो नम्बरमा गाबिस सचिव र त्यही कार्यरत लेखा कर्मचारीको संयुक्त नाममा खाता संचालन गुर्न पर्ने उल्लेखित छ । त्यस्त दोस्रोमा गाबिस भित्र रहेका स्वास्थ्य, रेन्ज पोष्ट, पशु सेवा, हुलाक, कृषि कार्यालयका कर्मचारीसंग तथा तेस्रोमा जिबिसका योजना तथा अनुगमन अधिकृतसंग संयुक्त खाता खोल्नु पर्ने कार्यबिधिकमा उल्लेख छ । जिबिसले कार्यबिधि अनुसार खाता खोल्न निर्देशन दिए पछि कतिपय सचिव निराश बनेका छन् भने कतिपय खुशी भएका छन् । गाबिस हकहीत केन्द्रका सचिव बैतुल्लाह धुनियाले निर्देशनको तत्कालै पालना गर्ने बताउनु भयो । निर्देशिका अनुसार खाता संचालन गरी कार्य गर्दा आफुहरुलाई समेत सजिलो हुने उहाँको भनाई छ ।
स्थानीय विकास अधिकारी पाण्डेयले तत्कालै निर्देशिका अनुसार खाता संचालन गर्न गाबिसलाई भनेका छौ अटेर गर्नेको खाता नै रोक्का गरिने उहाँले बताउनु भयो ।