प्रजातन्त्रवादी प्राध्यापक संघको आमभेला सम्पन्न
मणिग्राम, चैत ६ - रुपन्देहीको मणिग्रास्थित राममणि बहुमुखी क्याम्पसमा गठित प्रजातन्त्रवादी प्राध्यापक संघको आमभेला आज (मंगलबार) सम्पन्न भएको छ । भेलाले प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, केन्द्रिय समितिले त्रिभुवन विश्वविद्यालयसमक्ष पेश गरेका ११ बुँदे मागको समर्थन गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा, अभ्यास शिक्षण, प्रयोगात्मक परीक्षा लगायतका विषयमा पब्लिक क्याम्पसमा कार्यरत प्राध्यापकहरूलाई सहभागी गराउनुपर्ने भेलाले जोडदार माग गरेको छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघ क्याम्पस एकाईका अध्यक्ष बालकृष्ण अर्यालको सभापतित्वमा सञ्चालित भेलामा आनन्दप्रसाद पाण्डे, संघका केन्द्रिय कोषाध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतले विश्वविद्यालय सहमतिको आधारमा चल्नुपर्नेमा हालको नेतृत्वले विभेदकारी कार्य गर्दै गएकोले सो को विरुद्धमा सम्पूर्ण प्रजातन्त्रवादीहरू एक भई संघर्षमा आउन अनुरोध गर्नुभएको थियो ।
संघका केन्द्रिय सदस्य चन्द्रप्रसाद रेग्मीको उपस्थिति तथा एकाई सचिव माधवप्रसाद घिमिरेको सञ्चालनमा भएको भेलामा उपाध्यक्ष चन्द्रकान्त पराजुली, खिमानन्द भण्डारी, गोपाल पन्थी, शेषराज भट्टराई, बाबुराम भण्डारी, विमला पोखरेल, ताराप्रसाद पराजुली लगायतले बोल्नुभएको थियो ।