|

पत्रकार हत्यारालाई कारवाहीको मागगर्दै पत्रकार सडक संघर्षमा

विनोद परियार,बुटवल,२७ पुस - दैलेखका पत्रकार डेकेन्द्र थापा लगायत अन्य पत्रकारहरुलाई हत्या तथा वेपत्ता पार्ने कार्यमा संलग्न दोषीलाई कारवाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीले आज बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

विभिन्न वहानामा मारिएका तथा वेपत्ता पारिएका पत्रकारहरुका अपराधिलाई तत्काल पक्राउ गरि कारवाहीको माग गर्दै महासंघले प्रदर्शन गरेको हो । “दण्डहीनता अन्त्य गर, पत्रकार हत्या र बेपत्ता पार्ने कार्यमा संलग्न दोषीलाई कारबाही गर” लेखिएको व्यानरसहित गरिएको विरोध प्रदर्शनमा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

बुटवलको पुष्पलाल पार्कबाट शुरु गरिएको विरोध प्रदर्शन विपीचोक, मिडीयाचोक हुंदै पुन पुष्पलाल पार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक मोहन चापागाईले पत्रकार हत्या र बेपत्ता प्रकरणमा संलग्नहरुलाई कानुन बमोजिम कारबाही गरेर पीडित परिवार र समग्र प्रेस जगतलाई न्याय दिनुको साटो सरकार रमिते बनेर अपराधीलाई संरक्षण गर्न लागि परेको आरोप लगाउनुभयो । कोणसभामा बोल्ने अन्य वक्ताहरुले अपराधीले अपराध स्वीकार गर्दा समेत सरकार अपराधि संरक्षणमा लाग्नु प्रेस जगत प्रतिको उपहास भएको उल्लेख गर्दै हत्यामा संलग्नलाई कारवाही नहुंदा सम्म पत्रकारहरुको आन्दोलन जारी रहने बताए ।

कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्षहरु बालकृष्ण चापागाई, डि आर घिमीरे, सल्लाहकार सुमन अधिकारी, प्रेस यूनियन रुपन्देहीका अध्यक्ष भवानी प्रसाद पाण्डे, प्रेस चौतारीका रुपन्देही अध्यक्ष प्रदीप आचार्य, क्रान्तिकारी पत्रकार संघका ओम प्रकाश पंगनी, अनिजका टेकबहादुर मास्की, मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य गोविन्द खनाल लगायतले पत्रकार महासंघले शुरु गरेको आन्दोलन प्रति ऐक्यवद्धता जनाउंदै अपराधिलाई कारवाही नहुंदा सम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम महासंघका रुपन्देही अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षता, सचिव यानेन्द्र जिसीको संचालन तथा उपाध्यक्ष रामराज पोखरेलको स्वागतमा सम्पन्न भएको थियो । पछिल्लो एक दशकमा मात्रै विभिन्न वहानामा ३३ जना पत्रकार मारिएका र तीन जना बेपत्ता पारिएको महासंघले जनाएको छ ।

यसैगरि थापाको हत्यामा संलग्न व्यक्तिहरुकहीको कारवाहीको माग गर्दै पत्रकार महासघं कपिलवस्तुले पनि आज सदरमुकाम तौलिहवामा प्रदर्शन गरेको छ  । जिल्ला प्रशासन कार्यालय तौलिहवामा २ घण्टा धर्नामा वसि कोणसभा गरि नगर परिक्रममा गरिएको थियो प्ले कार्ड, व्यानरहरु सहित परिक्रममा गरिएको जुलुसमा महिला अधिकारकर्मिहरुको समेत सहभागिता रहेको थियो ।
कोणसभामा वोल्दै पत्रकार तथा महिला अधिकारकर्मिहरुले पत्रकार हत्याका आरोपिहरुलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन । कार्यक्रम पत्रकार महासंघ सभापति मनोज पौडेलको अध्यक्षता र सचिव बसन्त गिरीको सचांलनमा समपन्न भएको थियो । कोणसभामा महिला अधिकार कर्मी माधुरी श्रेष्ठ, बसन्ती सिंह, प्रेस युनियनका किरणमान बज्रर्चाय, मधेस मिडिया सोसाइटिका मनोज कुमार श्रीवास्तव, इन्सेकका नन्दराम पौडेल लगातले वोलेका थिए ।

यता नवलपरासी जिल्लास्थित सञ्चार संस्थाहरुले पनि विरोध प्रदर्शन गरेका छन् । प्रेस चौतारी नेपाल नवलपरासीका अध्यक्ष विद्रोही गिरीले प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउनु भयो । त्यस्तै पत्रकार थापाका हत्याका अभियुक्तहरुलाई कारबाही नभए सशक्त आन्दोलन गर्ने जनाउदै नेपाल पत्रकार महासंघ जिल्ला शाखाले परासीमा विरोध जुलुस प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेको थियो । गुल्मीमा पनि पत्रकारहरुले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले बिहान ११ बजेदेखि एक घण्टा जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा आखामा कालोपट्टी बाधेर धर्ना दिएको थियो

Posted by Butwalonline on 4:48 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार हत्यारालाई कारवाहीको मागगर्दै पत्रकार सडक संघर्षमा"

Leave a reply