वर्तमानमा नेपाली क्रान्तिका कार्यभार व्याख्यान तथा अन्तरकृया कार्यक्रम
लक्ष्मण पोखरेल,बुटवल, ३ चैत । नेपाली कम्युनिष्ट पार्टिहरुले माक्र्सवादको सहि व्याख्या गर्न नसक्दा र समाजलाई माक्र्सवादको आंखाबाट नभई व्यक्तिको आंखाबाट हेर्न खोज्ने प्रवृत्तिका कारण कम्युनिष्ट पार्टिहरुमा विभाजन आउने गरेको बुटवलमा आयोजित एक कार्यक्रममा औल्याईएको छ । नेपाल अध्ययन केन्द्र काठमाण्डौ र चिन्तन अभियान बुटवलले आयोजना गरेको वर्तमानमा नेपाली क्रान्तिका कार्यभार व्याख्यान तथा अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले माक्र्सवाद के हो र यसले समाजलाई कसरी हेर्छ भन्ने कुरा नबुझि माक्र्सवादको बाटोमा हिड्न खोज्दापनि कम्युनिष्ट पार्टिहरु एक हुन नसकेको बताए । उनिहरुले माक्र्सवादको सिद्धान्तमा टेकेर माक्र्सवादी आंखाले समाजलाई हेर्न सकेमात्र कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्न सकिने बताए ।
कार्यक्रममा विचार प्रस्तुत गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं युवा नेता घनश्याम भुसालले नेपाली क्रान्तिको मुख्य बाधक दलाल पुंजीवाद रहेको उल्लेख गर्दै ०६२/६३ को क्रान्तिलाई चिन्न नसक्दा र सहि दिशा दिन नसक्दापनि मुलुक अहिलेको अवस्थामा पुगेको बताउनुभयो । उहांले माक्र्सवादलाई विर्सेर गुट र सत्ताको स्वार्थलाई समाउने वाम पार्टिहरुको प्रवृत्तिका कारण माक्र्सवादी आन्दोलन विफल हुने गरेको बताउनुभयो । नेता भुसालले नेपाली युवाहरुलाई उत्पादन र आयआर्जनमा अग्रसर गराई राष्ट्रप्रति जवाफदेहि बनाउनु अहिलेको क्रान्तिका मुख्य कार्यभार भएको उल्लेख गर्नुभयो ।
अर्का विचार प्रस्तोता वाम विश्लेषक मुमाराम खनालले कम्युनिष्ट पार्टीहरु आफ्नै कारण समाप्तीको दिशातर्फ भइरहेको बताउनुभयो । क्रान्तिको नारा लगाउने तर क्रान्तिका बिधि नै पहिल्याउन सक्ने खुबी नेताहरुमा नरहेको टिप्पणी समेत हाले गर्नुभयो । ‘कम्युनिष्टहरु इतिहासका गल्तीहरुलाई स्विकार गर्न सक्दैनन, त्यसलाई सच्चाउन जरुरी छ, उहाले भन्नुभयो । समाज क्रान्तिका लागि बिधिको आबश्यकता हुने भन्दै उहाले अहिलेको अवस्थामा आर्थिक क्रान्तिको बाटो खोज्नुपर्ने बताउनुभयो ।
चिन्तन अभियान बुटवलका अध्यक्ष बसन्तराज खनालको अध्यक्षता, सिद्धिचरण भट्टराईको संचालन तथा युवराज न्यौपानेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तेज प्रसाद कंडेल, नेकपा ड्यास माओवादीका चन्द्रहरी सुवेदी र नेकपा एमालेका गोपिरमण उपाध्यायले प्रस्तुत गरिएको विचारप्रति टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका राजनीतिक अगुवा कार्यकर्ता तथा बुद्धिजीविहरुको उल्लेख्य उपस्थिती रहेको थियो । नेकपा एमालेको आठौं महाधिवेशनमा घनश्याम भुसाल लगायतका युवा नेताहरुले प्रस्तुत गरेको नेपाली क्रान्ति र वर्ग बिश्लेषण र समाजका अन्तरबिरोधको पुरक दस्तावेजको कुरा एकिकृत नेकपा माओवादीको सातौ महाधिवेशनमा समेत स्थान पाएको कुरा चर्चामा आएपछि यो बहसले नेपाली बाम राजनीतिमा महत्व पाएको छ ।