कतारमा नेपाली फुड फेस्टिवल हुने
तिल विक्रम थेवे, प्रेम लामा/दोहा– नेपाली प्रवासी आदिवासी जनजाती महासंघ र सम्सारा थकाली रेष्टुरेन्ट दोहा कतारको संयुक्त आयोजनामा कतारमा ३१ जनवरीबाट सांस्कृतिक कार्यक्रमका साथ ‘नेपाली फुड फेस्टिवल’ शुरु हुने भएको छ । गत आइतवार होराइजन मेनोर होटलमा आयोजित एक पत्रकार भेटघाटमा आयोजकले ३१ जनवरीबाट १ फरवरीसम्म रहने २ दिने सो आयोजनाको घोषणा गरे ।
कतारमा ४ लाख भन्दा बढीको संख्यामा रहेको नेपाली समुदायका साथै विदेशीहरू समेतका लागि सो फेस्टिवलमा विशुद्ध नेपाली परिकारहरु प्रस्तुत गरिनेछन् । फुड फेस्टिवललाई स्मरणयोग्य बनाउन सोही अवसरमा नेपाली संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि राखिएको आयोजकले बताए ।
आयोजकका तर्फबाट नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष विनेश तामाङ्ग, सम्सारा थकाली रेष्टुरेन्टका संचालक हरि पुन, व्यवसायी प्रकाश गुरुङ्ग र नरेन्द्र सेन ठकुरी, गल्फ होराइजन मेनोरका शिरिस बालिकरले नेपाली फुड फेस्टिवलको वारेमा प्रकाश पार्दै नेपाली ढिडो सिस्नुको दाल, क्वाटी, अचार, गुन्द्रक, नेपाली भटमासको किनीमा लगायतका नेपाली परिकारहरु सजाइने जानकारी दिए । कतारमा पहिलो चोटी नेपाली परिकारको भोजनसहितको नेपाली सांस्कृतिक महोत्सवको आयोजना गर्न लागेकोले पनि गल्फ होराइजन मेनोर होटलले महोत्सवका आयोजकहरुलाई हौसला दिदैं सो महोत्सव उत्साहका साथ आयोजना गर्न समन्वय गर्न चाहेको बालिकरले बताए ।
नेपाली समुदायको मौलिकताका विविध पक्ष झल्काउने महोत्सव र सास्कृतिक कार्यक्रम भएकोले नेपालीहरुको विविध संस्कार, सस्कृति, भाषा, धर्म, लिपी, जाती समुदायको हकहित, विकास र प्रवर्धन र सम्बर्धनको लागि लागि परेको जनजाती महासंघ पनि यो महोत्सवको आयोजक भएको महासंघका अध्यक्ष तामाङ्गले जानकारी दिए । कतारमा नेपाली परिकारमा नेपाली समुदायलाई सेवा प्रदान गरिरहेको सम्सारा थकाली रेष्टुरेन्टका संचालक हरि पुनले नेपाली परिकारका भोजन र सांस्कृतिक विविधताको अन्तर्राष्ट्रिय रुपमा परिचय गराउन पनि मद्धत मिल्ने भएकोले यो महोत्सव आयोजना गर्न लागेको बताए । नेपालबाट चेम्बर अफ कमर्स, नेपाल पर्यटन बोर्डबाट प्रतिनिधी तथा अन्य सांस्कृतिक कार्यक्रमका लागि कलाकारहरु पनि ल्याउने प्रयास भईरहेको अर्का आयोजक प्रकाश गुरुङ्गले बताए भने नेपाली मौलिकता नेपाली परिकार, नेपाली कलासंस्कृतिलाई अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्न मद्धत पुग्ने भएकोले यो महोत्सवको महत्व रहेको र आफ्नो सहयोग रहेको व्यवसायी नरेन्द्र सेन ठकुरीले बताए ।
मोडल तथा टेलिभिजन कार्यक्रम प्रस्तोता सुस्मा लामाले प्रस्तुत गरेको सो कार्यक्रममा लोक गायिका देविका केसी गुरुङ्ग पनि सहभागी थिइन् । आयोजकले सो कार्यक्रममा ६ सयभन्दा बढिको सहभागिता निश्चित रहेको जनाएको छ ।
.jpg)
.jpg)
