|

हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल पशुपतिनाथको मूर्ति भारत घुमाइने

काठमाडौं, वैशाख १९ -हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल पशुपतिनाथको मूर्ति भारत घुमाइने भएको छ। भारतको प्रसिद्ध धार्मिकस्थल तिरुपति बालाजीको मूर्ति नेपाल ल्याएको दुई महिनापछि पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मूर्तिलाई पनि भारतका विभिन्न प्रमुख सहर घुमाउने तयारी गरेको हो। 'पशुपतिनाथलाई पनि भारतका विभिन्न प्रमुख सहर घुमाउने तयारी भइरहेको छ,' पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुशील नाहटाले भने, 'यसले विश्वकै हिन्दूहरूको प्रमुख तीर्थस्थल मानिने पशुपतिनाथको प्रवर्द्धन र विकासमा सघाउ पुर्‍याउनेछ।' 


भारत आन्ध्राप्रदेशको तिरुपति बालाजीको मूर्ति गत फागुनमा नेपाल ल्याएर खुलामञ्चमा विवाह उत्सव मनाइएको थियो। तिरुपति विश्वको सबैभन्दा धनी र सबैभन्दा बढी भेटी संकलन हुने हिन्दू धार्मिकस्थल हो। तिरुपति बालाजीको मूर्ति नेपाल ल्याएकै बेला त्यसको व्यवस्थापन गर्दै आइरहेको तिरुमाला तिरुपति देवस्थानम् ट्रस्टका अध्यक्ष कानुमुरी बापिराजुसँग यसबारे छलफलसमेत भएको थियो। 

'पशुपतिनाथलाई भारत घुमाउन सबै व्यवस्था तिरुपति व्यवस्थापनले गर्ने गरी यसअघि अनौपचारिक कुराकानी भइसकेको छ,' उनले भने, 'यसले नेपाल आएर पशुपतिनाथको दर्शन गर्न नपाएका भारतीय हिन्दूहरूको इच्छा पूरा हुनेछ।' 
कोषका अनुसार भारत घुमाउन पशुपतिनाथ मन्दिरकै डिजाइनमा सानो मन्दिर तयार गरिनेछ र पशुपतिनाथको प्रतिमूर्ति राखिनेछ। यसलाई रथमा चढाएर भारतका विभिन्न सहर घुमाइनेछ। पहिलो चरणमा दिल्ली, कन्याकुमारी, बनारस, मुम्बई, वृन्दावन, पटना, कलकत्ता, पञ्जाब, सिद्धिविनायक, भुवनेश्वरलगायत ठाउँमा घुमाइने नाहटाले बताए।'कसरी सञ्चालन गर्ने भन्नेबारे मूर्तिकार, संस्कृतिविद्, पुजारीलगायत सरोकारवालासँग छलफल चलिरहेको छ,' उनले भने, 'भदौभित्रैमा प्रतिमूर्ति तयारीको काम थालिसक्छौं।' उनले यो वर्षभित्र पशुपतिनाथलाई भारत यात्रा गराइसक्ने बताए।

भारतका तिरुपति बालाजी, सिद्धिविनायकलगायत तीर्थस्थलको पर्यटन प्रवर्द्धनको काम पशुपति क्षेत्र विकास कोषले गर्ने र पशुपतिनाथको प्रर्वद्धन ती तिर्थस्थल सञ्चालक समितिले गर्ने कोषले जनाएको छ। पशुपतिनाथलाई भारत घुमाइसकेपछि त्यसको नतिजा अनुसार अन्य देश कसरी घुमाउने भन्ने निर्णय लिने उनले बताए। 'यसबाट उठेको सबै रकम कोषकै विकासमा खर्च गरिनेछ,' उनले भने।कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले अहिले कोष मन्दिरको भेटिघाटी व्यवस्थापनको काममा लागि परेकाले यो तयारीमा अघि बढन नसकेको बताए। 'प्रतिमूर्ति तयार गरेर घुमाउने हो भने पशुपतिनाथको प्रवर्द्धनमा ठूलो टेवा पुग्न सक्छ,' उनले भने। उनले मन्दिरको ढाँचा तयार पारेर शिवलिंगसहितको प्रतिमूर्ति तयार पार्दा उचित हुने उनले बताए। 
समाचार  कांतिपुर दैनिक बाट

Posted by Butwalonline on 7:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल पशुपतिनाथको मूर्ति भारत घुमाइने"

Leave a reply