गजल
पेट भर्ने ढिडो रोटी खाना भए पुग्छ
नांगो जिउ ढाक्ने कुनै नाना भए पुग्छ
खोज्या छैन ताज महल देखावटी गर्न
घाम पानी छकाउने छाना भए पुग्छ
एकान्तको साथी मान्दै दु:ख पीडा भुल्ने
देशभक्ति लय तालका गाना भए पुग्छ
बिछोडिएका आफन्तको सम्झनामा डुब्दै
मनभित्रका शब्द आट्ने पाना भए पुग्छ
चुलो बल्न कठिन हुन्छ के को मुरी पाथी
साँझ बिहान खान पुग्ने माना भए पुग्छ
इन्दिरा खतिवडा'प्रयास' दमक -८,झापा