आज श्रीपञ्चमी पर्व विद्याकीदेवी सरस्वतीको पूजा आराधना गरि मनाइंदै
काठमाडौ, माघ १४ - विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्दै शनिबार श्रीपञ्चमी मनाइँदै छ । यस पर्वमा स-साना बालबालिकालाई सरस्वतीको मन्दिरमा लगी अक्षरारम्भ गराउने परम्परा छ ।हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रहृमचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकारिन्छ । श्रीपञ्चमीमा स्वयम्भू पछाडिको डाँडामा अवस्थित मञ्जुश्री स्मृति चैत्यलगायतका सरस्वती मन्दिरहरूमा मेला लाग्ने गर्दछ । आजका दिन देखि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने जनविश्वास छ । ।