कपिलवस्तुमा विश्वमै दुर्लभ ३ प्रकारका चरा भेटिए
कपिलवस्तु, माघ १५ - जगदीशपुर तालको सिमसारमा आश्रति विश्वमै दुर्लभ ३ प्रकारका पानी चरा पाइएका छन् । पानी चराबारे २ दिनसम्म गरिएको गणनामा ती दुर्लभ चराहरू पाइएको हो । चराचुरुंगी विज्ञ दिनेश गिरीका अनुसार ब्ल्याक आइरिस २०, सारस १२ र लेसर एडजु टेन्ट चरा ७ वटा भेटिएको हो । यी सबै दुर्लभ चराहरू भएको उनले बताए ।
त्यस्तै धेरै गणना गरिएको हाँस प्रजातिका चराहरूमा कमनकुट ५ हजार ३०९ र लेसर हुस्लिङ डग १ हजार ४२२ रहेको छ । यसैगरी १ हजार १३० कमन तिल र २ सय २८ गाड बार्ड प्रजातिको पानी चराहरू गणना गरिएको छ ।
तालको सिमसारमा मात्रै आश्रति ४२ प्रजातिका करिब ११ हजार चराको गणना गरिएको गिरीले
बताए । संस्थाले तालमा रहेका पानी चराहरूको मात्र गणना गरेको उनले जनाए । 'अघिल्लो वर्षका तुलनामा जगदिशपुर तालमा चराचुरुंगी बढेका छन्,' उनले भने, 'दुर्लभ चरा पाइएकाले तालको महत्त्व अन्तर्राष्ट्रियस्तरमा बढेको छ ।'
एरिया-एरिया छुट्याएर डाइरेक्टर मेथडबाट चरा गणना गरिएको थियो । दक्षिण पूर्वी छेउबाट सुरु गरिएको चरा गणना दक्षिण पश्चिम पुगेपछि सकिएको थियो ।
ताल वरिपरिका रूख, खेत र वनजंगलमा आश्रति चराहरू भने गणना गरिएको छैन । सबै चराचुरुंगीको गणना गरे धेरै हुने वरिष्ठ चरा विशेषज्ञ हेमसागर बरालले बताए । तालमा साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एसियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशबाट चराचुरुंगी आउने गरेको समेत उनले बताए । सदरमुकाम तौलिहवादेखि करिब ११ किमि उत्तर निग्लिहवा गाविस १ र ४ मा पर्नर्े ताल १५७ हेक्टरमा फैलिएको छ ।
तालमा नील टाउके, माल्टाज, फिस्टा, खटखटे र विभिन्न जातिका पानीहाँस प्रशस्त देखिन्छन् । त्यस्तै तालमा सारस, सुनजुरे, भुँडीफोर, घुगीफोर, सेतो गरुडलगायतका चराहरू प्रशस्तै देखिएका छन् । कृत्रिम रूपमा बनाइएको यो नेपालकै सबैभन्दा ठूलो ताल हो । चराचुरुंगीकै महत्त्वका कारण ताल ७ वर्षअघि अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचीकृत भएको थियो ।
स्रोत :कान्तिपुर