|

मिस नेपाल युएसएको अडिसन सुरु

काठमाडौ, श्रावण ४ - अमेरिका प्रवासमा रहेका नेपाली युवतीमाझ आयोजना गरिएको मिस नेपाल युएसएको अडिसन सुरु भएको छ । न्युयोर्कस्थित होटल सेराटनमा आउँदो भदौ ३ गते हुन लागेको सुन्दरी प्रतियोगिताअन्तर्गत अमेरिकाको १३ सहरमध्ये वासिङ्टन डिसी तथा न्युयोर्कमा प्रारम्भिक अडिसन सकिएको आयोजकले बताएको छ ।
प्रवासमा नेपाली कला, संस्कृति र प्रतिभा प्रवर्द्धन गर्ने ध्येय साथ अमेरिकास्थित इभेन्ट प्लानेट इंकको सहकार्यमा ई-प्लानेट नेपालले प्रतियोगिता आयोजना गरेको हो । सिकागो, मिनिइपोलिस, कोलोराडो, टेक्सास, सियाटल, लस एन्जल्स, वोस्टन र जर्जियामा पनि अडिसनको तयारी भइरहेको जनाइएको छ ।
अमेरिकामा बसिरहेका १७ देखि २७ वर्षसम्मका अविवाहित युवती सहभागी हुन पाउने प्रतियोगिताका लागि वसिङ्टन डिसीबाट ३५ र न्युयोर्कबाट ७१ युवतीले आवेदन दिएको बताइएको छ । सबै राज्यमा अडिसन सकिएपछि अन्तिम प्रतिस्पर्धामा जानुअघि प्रतियोगीलाई एक साता बन्द प्रशिक्षण दिइने प्रतियोगिताका कार्यक्रम प्रमुख अभिनेत्री गौरी मल्लले बताइन् । 'आत्मविश्वास, वाक् कला, प्रस्तुतीकरण, व्यक्तित्व विकास र क्षमता अभिवृद्धि, सामाजिकीरणकला, नेपाली संस्कृति लगायत विषयमा प्रशिक्षण दिइनेछ,' गौरीले फोनमा भनिन् ।
उनले सहभागिताका लागि अमेरिकी नेपाली युवतीको चासो बढी पाएकोमा खुसीसमेत व्यक्त गरिन् । 'प्रवासमा भएकाले उनीहरू आफ्नो मौलिक संस्कृति र भेषभूषा देखाउन पनि उत्साहित भएका हुनसक्छन्,' गौरीले भनिन्, 'दुइटा राज्यको अडिसनमा सहभागी युवतीहरूले हामीलाई हौस्याएको छ ।'
बन्द प्रशिक्षण क्रममा प्रतियोगीलाई अमेरिकामा नेपाल पर्यटन वर्ष-२०११ प्रवर्द्धनका लागि उत्साहित बनाइने आयोजकमध्ये एक इप्लानेट नेपालका अध्यक्ष सन्तोष सापकोटाले बताए ।
Source:kantipurnews

Posted by Butwalonline on 8:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मिस नेपाल युएसएको अडिसन सुरु"

Leave a reply