दुबईमा बागलुङ सेवा समाज युएईले बार्षिक उत्सव मनायो
लालबहादुर ढेंगा, दुबई, युएई-दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित छरिएर रहेका बागलुङवासी हरुलाई आई पर्ने समस्याहरुको समाधान तथा सम्पूर्ण जनालाई समेट्ने हेतुले गोपाल कंडेलको अध्यक्षतामा गत साल १६ सेप्टेम्बर २०११ मा विधिवत रुपमा स्थापना गरिएको बागलुङ सेवा समाज युएईले आफ्नो एक बर्षे कार्यकाल सफलता पूर्वक पूरा गरेको अवसरमा गत ११ जनवरी २०१३ शुक्रबारका दिन दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा प्रथम बार्षिक उत्सव मनाएका छन् ।
उक्त बार्षिक कार्यक्रम नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष तथा बागलुङ सेवा समाज युएईका वरिष्ठ सल्लाहकार चित्रबहादुर केसीको प्रमुख आतिथ्यता, नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकालको बिशेष आतिथ्यता र बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, महिला र पत्रकारहरु रहेको कार्यक्रमलाई बागलुङ सेवा समाज युएईका दुबई क्षेत्रीय समितिका अध्यक्ष रेशम सापकोटाले संचालन गर्नुभएको थियो ।
प्रमुख अतिथि चित्रबहादुर केसी, बिशेष अतिथि कृष्ण ढकाल र अध्यक्ष गोपाल कंडेलको हातबाट दीप प्रज्योलन गरि थालनी गरिएको कार्यक्रममा सोही संस्थाका उपाध्यक्ष तेजेन्द्र खरेलको शुभकामना मन्तव्य रहेको थियो । कोषाध्यक्ष पिताम्बर पाण्डेले बार्षिक आर्थिक प्रतिवेदन सुनाउनु भएको थियो । जसमा आजीवन सदस्य १० जना, सक्रिय सदस्य ३० जना र साधारण सदस्य ११४ जना रहेको थियो भने आजीवन सदस्यको शुल्क २५० दिराम, सक्रिय सदस्यको शुल्क ५० दिराम र साधारण सदस्यको शुल्क १२ दिराम रहेका छन् । हालसम्म समाजको आर्थिक जम्मा रकम ८,९४६ दिराम रहेको पुष्टि भएको छ । त्यस्तैगरी एक बर्षसम्म समाजले गरेको गतिविधिहरुको कार्यप्रगति प्रतिवेदन उपाध्यक्ष पूर्ण सापकोटाद्धारा प्रस्तुत गरिएको थियो ।
सो अवसरमा आफ्नो मन्तव्य राख्नेहरुमा उपाध्यक्ष तेजेन्द्र खनाल, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष अर्जुन दाहाल, गैरआवासीय नेपाली संघ युएईका महासचिव सन्तोष पर्साई, धादिङ समाज युएईका प्रतिनिधि भिम अधिकारी, गोरखा समाज युएईका अध्यक्ष भिम श्रेष्ठ, नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ सेवा समाज युएई अबुधावी क्षेत्रीय समितिका अध्यक्ष भिम केसी, नेपाली एकता समाज युएईका वरिष्ठ सल्लाहकार शिवराज जैसी, गुल्मी सहयोग समाज युएई अबुधावी क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गौतम, नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल, नेपाली महिला समितिकी अध्यक्ष राधा ढकाल, स्याङ्जा सहयोग समाज युएईका महासचिव भुुपुराज बस्याल, नेपाल विश्व सहयोग संघका अध्यक्ष महाप्रसाद धिताल, अर्घाखांची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्का र बागलुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कंडेल रहेका थिए ।
प्रवासको भूमिमा आफ्नो ड्यूटीको बावजुद पनि बचेको समयलाई सदुयोपक गर्दै सामाजिक कार्यक्षेत्रमा योगदान पुर्याउदै कला, संस्कृति र खेल जगतको उत्थान गरेको भन्दै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बागलुङ सेवा समाज युएईका पदाधिकारीहरुलाई धन्यबाद तथा बढाई समेत दिएका थिए । अध्यक्ष कंडेलले आफ्नो मन्तव्यको क्रममा आगामी दिनमा युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै अझै सशंक्त ढंगले समाजलाई अगाडि बढाउने प्रतिबद्धता समेत जाहिर गरेका थिए ।