|

कांग्रेसले सुरु गर्‍यो नयाँ सरकार बनाउने खेल


काठमाडौं, वैशाख २८ - कांग्रेसले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल थालेको छ । त्यसका निम्ति अनौपचारिक रूपमा नेताहरूबीच कुराकानी सुरु गरिएको कांग्रेस महामन्त्री कृष्ण सिटौलाले बताए । 'पार्टीगत रूपमा बैठक भएर औपचारिक छलफल भएको त छैन तर विभिन्न कोणबाट नेताहरूबीच अनौपचारिक तहमा कुराकानी थालिएको छ', उनले भने ।

यसैगरी शान्ति प्रक्रिया र संविधान निर्माणको कुनै पनि काम अघि नबढेमा संविधानसभाको म्याद थप्ने पक्षमा कांग्रेस नहुनेसमेत सिटौलाले बताए । 'कम्तीमा शिविरमा रहेका लडाकु र हतियार व्यवस्थापनपछि मात्रै कांग्रेस संविधानसभाको म्याद थप गर्ने पक्षमा जान सक्छ' उनले भने- 'छ महिनामा पूरा गर्ने सहमति भएको शान्ति प्रक्रिया तीन वर्षमा एक कदम पनि अघि नबढ्ने र शान्ति प्रक्रिया अघि नबढ्दा संविधानसमेत जारी नहुने अवस्थामा म्याद मात्रै थप्नुको औचित्व के हुन्छ ? लडाकु र हतियार नछाडेको अवस्थामा म्याद थप गर्ने पक्षमा कांग्रेस उभिन सक्दैन ।'

यथास्थितिमा संविधानसभाको म्याद थप गर्नुको औचित्व नरहने केन्द्रीय सदस्य नरहरि आचार्यले पनि बताए । 'म्याद थप गर्नका लागि केही न केही काम अघि बढेको हुनुपर्छ, भएन भने थप्ने प्रस्ताव कसरी आउँछ, स्वतः संविधानसभा जान्छ,' उनले भने ।

यो सरकार शान्ति र संविधान निर्माणमा असफल देखिएको दाबी गर्दै सिटौलाले सरकार परिवर्तन हुने अवस्था आएमा त्यसको नेतृत्व स्वाभाविक रूपमा कांग्रेसले दाबा गर्नेसमेत बताए । 'सरकार परिवर्तनबारे छलफल चले पनि त्यसले संस्थागत आकार लिइसकेको छैन' उनले संवाददाताहरूसँग पार्टी कार्यालयमा भने- 'प्रमुख तीन दल एकताबद्धरूपमा छलफल गरेर अघि बढ्छांै ।'

माओवादी उपाध्यक्ष बाबुराम भट्टराई समूहले कांग्रेस समेत सम्मिलित राष्ट्रिय सरकार नबनेसम्म शान्ति प्रक्रिया र संविधान निर्माण पूरा हुन नसक्ने बताउँदै आएको छ भने एमालेभित्र केपी ओली र माधव नेपाल पक्षले सरकार असफल भएको भन्दै प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन् ।

कांग्रेस स्रोतका अनुसार एमाले र कांग्रेस नेताहरूसँगको अनौपचारिक छलफलमा अध्यक्ष दाहालले समेत खनालको आलोचना गरेका थिए ।

उनले कांग्रेसले जागरण अभियानमा समेत शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने मुद्दालाई उठाएको बताए । कांग्रेस राजधानी बाहिरका केन्द्रीय स्तरका सभा सकेर मंगलबारदेखि राजधानी केन्दि्रत हुन थालेको छ । राजधानीमा जेठ ६ गते आयोजना गर्ने सभामा कांग्रेसले शान्ति प्रक्रिया, संविधान निर्माण र संविधानसभाको म्याद थप गर्ने/नगर्ने समेतको पार्टीको औपचारिक 'बटमलाइन' समेत सार्वजनिक गर्ने केन्द्रीय सदस्य आचार्यले बताए ।

उनका अनुसार शान्ति प्रक्रियाको मोडलसहितको कार्ययोजना तयार गर्न शेरबहादुर देउवा र संविधानको धारणा बनाउन रामचन्द्र पौडेलको संयोजकोत्वमा बनेको समितिले मस्यौदा तयार पारेको छ । त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गराई ६ गते आमसभामा औपचारिक घोषणा गरिनेछ ।

'शान्ति प्रक्रिया अन्तर्गत लडाकु समायोजन तथा पुनस्र्थापना मोडल, संविधानमा शासकीय स्वरूप र राज्य पुनरसंरचनामा स्पष्ट प्रस्ताव ल्याएर कांग्रेस सहमति जुटाउन लाग्छ' उनले भने, 'शासकीय स्वरूपमा कांग्रेसले सुधारसहितको संसदीय प्रणालीमा नै अडान राख्नेछ भने सातवटा संघ बनाउने प्रस्ताव ल्याउनेछ ।'


Kantipur News

Posted by Butwalonline on 10:32 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कांग्रेसले सुरु गर्‍यो नयाँ सरकार बनाउने खेल"

Leave a reply