सभासदले प्रयोग गरे नक्कली बिल
ललितपुर, अषाढ २७ -
माले समानुपातिक सभासद तथा संसद्को प्राकृतिक स्रोत साधन समिति सदस्य
जनककुमारी चालिसे र उनका देवर मधु चालिसेले नक्कली हस्ताक्षरको सहभागी
सूचीलगायत नक्कली बिल पेस गरेर निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम
दुरुपयोग गर्न खोजेको भेटिएको छ ।
नक्कली बिल पेस भएको पत्ता लागेपछि जिविस ललितपुरले उनले पेस्की लिएको २
लाख ११ हजार रुपैयाँ एक साताभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मधु
मालेको ललितपुर जिल्ला अध्यक्ष तथा जिविसको दलीय प्रतिनिधिसमेत हुन् ।
रकम फिर्ता गर्न जिविसले काटेको पत्रमा 'जिविसको बैंक खातामा असार
मसान्तभित्र २ लाख ११ हजार रुपैयाँ दाखिला गरी पेस्की फस्र्यौट गर्न'
निर्देशन दिइएको छ । मापदण्ड मिचेर सशक्तीकरण कार्यक्रमको नाममा यातायात,
खाना र भत्ता विवरणसहितको करिब सात लाख रुपैयाँ खर्च पेस गरेकी सभासदले बिल
र कागजात भने नक्कली बुझाएकी थिइन् । जिल्लाका पूर्वजनप्रतिनिधिले यसलाई
'चरम वित्तीय अराजकता' भनी टिप्पणी गरेका छन् ।
२०६७ फागुन २४ मा माल्टा-२ मा भएको कार्यक्रममा १ सय २७ जना सहभागीमाझ
सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको भनी सहभागीको सूची पेस गरेकी सभासद
चालिसेले २०६७ फागुन २१ मा माल्टा-९मा भएको कार्यक्रममा सहभागीको विवरण पनि
त्यही फोटो कपी पेस गरेकी छन् । २०६७ फागुन २२ मा आश्राङमा भएको
कार्यक्रममा सहभागीको सूची र २०६७ फागुन १३ मा गोटिखेलको सूचीमा ललितबहादुर
भुलुनलाई लालबहादुर भुलुन बनाई बाँकी उही नाम र सूची राखिएको छ । यद्यपि
ललित र लालको हस्ताक्षर भने हुबहु छ ।
कुनै एक ठाउँमा पनि कार्यक्रम नगरी सभासदले जिविसमा पेस गरेको सशक्तीकरणको
कागजात 'हास्यास्पद र कल्पनै गर्न नसकिने' भएकोे कर्मचारीहरूले टिप्पणी
गरेका छन् । 'एउटै व्यक्तिलाई पाँच ठाउँमा उपस्थित भएको देखाएर राज्यकोष
ठग्ने प्रयास भएको छ,' ती कर्मचारीले भने, 'सामान्य साक्षर व्यक्तिले
नक्कली हो चिन्ने कागजात पेस गरेर जनता ठग्ने काम भएको छ ।'
२ सय ९० र २ सय ७५ रुपैयाँका दरले भत्ता बुझेको भनी पेस भएको कागजातमा
सामान्य नाम लेखेर हस्ताक्षर गरेको भेटिएको छ । 'अनुगमन समितिले निर्वाचन
क्षेत्र विकास कार्यक्रमको अनुगमन नगर्ने चलन थियो,' उनले भने, 'यही
कमजोरीको फाइदा उठाएर बजेट लुट्न खोजिएको हो ।'
कागजातमा दोहोरो खर्चसमेत देखाएको छ । अधिकांश सहभागीले खानाको रकम बुझेको
भनी हस्ताक्षर गरेका छन् भने सभासद चालिसेले खानाको छुट्टै बिलसमेत पेस
गरेकी छन् । फरक भौगोलिक क्षेत्रमा रहेका गोटिखेल, भट्टेडाँडा, माल्टा,
प्युटार, आश्राङ गाविसको खाना खर्चको बिल सबै सिर्जना होटलको नाममा छ ।
सहभागीका साथै होटलको ठेगाना, फोन नम्बर कागजातमा छैन ।
सचेतनाका सबैजसो कार्यक्रममा बजेटको अख्तियारी पाएका मधु चालिसे नै प्रमुख
अतिथि छन् । नेतृत्व विकास, लोकतान्त्रिक विकास, स्वास्थ्य सरसफाइ र जातीय
भेदभावविरुद्ध कार्यक्रम गरिएको उल्लेख भए पनि त्यसबारेको विस्तृत
प्रतिवेदन केही छैन ।
आर्थिक वर्ष सकिने क्रममा पेस्की फस्र्याैट र फरफारकका लागि आइतबार
जिविसमा भेटिएका अधिकांश स्थानीयले विवरणमा उल्लेख भएजस्तो गाउँमा कुनै
कार्यक्रम नभएको र भत्ता, खाजा तथा यातायात खर्चसमेत नबाँडिएको बताए ।
कान्तिपुरसँगको सम्पर्कमा आएकी सभासद चालिसे केहीबेरपछि फोन गर्न आग्रह
गर्दै 'स्विच अफ' गरेर सम्पर्कमा आउन चाहिनन् ।
ललितपुरका पूर्व जिविस सभापति माधव पौडेलले निर्वाचन क्षेत्र विकास कोष सञ्चालनको प्रणाली नै दुरुपयोग हुने खालको भएको बताए ।
'हामीले यस्तोखालको कार्यक्रम बन्द हुनुपर्छ भनेर निकै आवाज उठायौं,' उनले
भने, 'धेरैतिर दुरुपयोग हुने गरेको छ, यदाकदा मात्रै गलत काम बाहिर आउने
हो ।'
कागजात सतर्कताको नियन्त्रणमा
राष्ट्रिय सतर्कता केन्द्रले आइतबार ललितपुर जिविसबाट सभासद चालिसेले पेस
गरेको कागजात र बिलको फोटोकपी नियन्त्रणमा लिएको छ । नक्कली कागजात पेस गरी
सात लाख रुपैयाँ निकासाको प्रयास गरेको सार्वजनिक भएपछि सतर्कताले कागजात
नियन्त्रणमा लिएको हो । केन्द्रका प्रवक्ता अर्जुन खनालले कागजातको अध्ययन
गरी थप अनुसन्धान र कारबाही अघि बढाउने बताए । केन्द्रका कर्मचारीले कागजात
नियन्त्रणमा लिएलगत्तै सभासद चालिसेले फोन गरेर कारबाही अघि नबढाउन दबाब
दिएको एक कर्मचारीले बताए ।
Source:kantipurnews