गृहद्वारा कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन
काठमाडौ, अषाढ २७ -
गृह मन्त्रालयका कर्मचारी र मातहतका तीन सुरक्षा निकायका पदाधिकारीले
अनुमति नलिई कुनै पनि विदेशीसँग भेटघाट र खानपिन गर्न नपाउने भएका छन् ।
मन्त्रालयले आइतबार विदेशीहरूसँग भेटघाट गर्दा अपनाउनुपर्ने निर्देशिका
जारी गर्दै त्यस्तो कडाइ गरेको हो ।
मन्त्रालय मातहतका सुरक्षाकर्मीले गोप्य दस्तावेज मातहतका हाकिमले थाहा
पाउनुभन्दा अगावै विदेशी नागरिक र कूटनीतिक नियोगहरूले पाउने गरेको र गृहका
अधिकृतहरू आफूखुसी विदेशीहरूसँग बसउठ बढ्दै गएको गुनासो आएपछि गृहले यो
निर्देशिका जारी गरेको हो । मन्त्रालयले यसअघि पनि यस्तै निर्देशिका र आचार
सहिता जारी गरेको थियो तर त्यो कागजमा मात्रै सीमित भएको थियो ।
मन्त्रालयले यो निर्देशिकाविपरीत कसैले भेटघाट र खानपिनमा भेटिए उनीहरूले
पाइरहेको दायित्व खोसिन सक्ने चेतावनी दिएको छ ।
जारी निर्देशिकाअनुसार अबउप्रान्त गृहसचिव आफैंले पनि कुनै विदेशी नागरिक
या प्रतिनिधिमण्डलसँग भेटघाट गर्नुपरेमा या खानपिनका लागि जानुपरेमा
गृहमन्त्रीको अनिवार्य सहमति लिनुपर्ने भएको छ ।
त्यस्तै कुनै प्रमुख जिल्ला अधिकारीले विदेशी नागरिकसँग भेटघाट गर्नुपरेमा
क्षेत्रीय प्रशासकको सहमति लिनुपर्ने छ । क्षेत्रीय प्रशासकले भेट
गर्नुपरेमा गृहसचिवको सहमति लिनुपर्ने छ । मन्त्रालयका सहसचिव तथा मातहतका
विभागीय प्रमुखहरूले विदेशीहरूसँग भेटघाट गर्नुपरेमा सचिवको सहमति
लिनुपर्ने भएको छ । त्यस्तै मन्त्रालय मातहतका सुरक्षा निकायका प्रमुखहरूले
विदेशीलाई भेटघाट गर्नुपरेमा अनिवार्य सचिवको सहमति लिनुपर्ने छ ।
'नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका
प्रमुखलगायत कर्मचारीले वैदेशिक नियोग वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था
तथा दातृ संस्थाद्वारा आयोजित कुनै पनि भोजमा वा अन्य कार्यक्रमा सहभागी
हुन पाउने छैनन्' भनी निर्देशिकामा प्रस्ट उल्लेख छ । तर कर्मचारीको क्षमता
विकाससम्बन्धी कार्य वा विभाग/कार्यालयको कार्यसँग सम्बन्धित कार्यक्रममा
भने अख्तियार प्राप्त अधिकारीको अनुमति लिएमा त्यस्तो प्रतिबन्ध नलाग्ने
बताइएको छ ।
source:kantipurnews