|

धनलक्ष्मी कवचका नाम ठगी गर्ने पक्राउ

काठमाडौं, अषाढ २७ - 'धनलक्ष्मी कवच' बेचेर ठगी गरेको आरोपमा प्रहरीले आइतबार राजधानीबाट ६ जनालाई पक्राउ गरेको छ ।
उनीहरूले कवच लगाएपछि धन वर्षा हुने, दुःख नास हुने र व्यापार सुध्रने भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएका थिए ।
प्रहरीको अपराध महाशाखाले धनलक्ष्मी कवच नेपाल प्रमुख हृदयजङ शाहीसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका अन्यमा अजय तामाङ, विकास अग्रवाल, सुनिल श्रेष्ठ, सागर श्रेष्ठ र जितेन महर्जन छन् ।
विभिन्न सञ्चारमाध्यमबाट भ्रामक विज्ञापन दिएर सर्वसाधारणलाई ठगी गरेको गुनासो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगे पनि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले कवचबारे बुझ्न र कानुनअनुसार कारबाही गर्न अपराध महाशाखालाई पत्र पठाएका थिए । 
पक्राउ परेका हृदयजङ शाही यसअघि नेपाली बजारमा आएको शिवशक्ति कवचका नेपाल प्रमुख थिए । उक्त कवच बिक्री गर्दाताका समेत पक्राउ परेका उनी ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । यससम्बन्धी मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ ।
चान्दिया टे्रडिङको नाममा सञ्चालित यो कवच सरकारले डेढ वर्षअघि नेपालमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको 'शिवशक्ति कवच बमबम भोले' को अर्को रूप भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले शिवशक्ति कवचका नामबाट त्यतिबेला ६ करोड २२ लाख रुपैयाँ उठाएका थिए । ८० लाख रुपैयाँ राजस्व छली गरेको समेत प्रहरीले बताएको छ ।
प्रहरीले टेलिभिजनमा आएको विज्ञापनका आधारमा रक्षा कवचको अर्डर गरेर डेलिभरी मागेको थियो । 'उनीहरूले हामीलाई आज बिहान डेलिभरी दिन भोटाहिटी बोलाएपछि महर्जन र श्रेष्ठलाई पक्राउ गरेका थियौं,' महाशाखाका डीएसपी राजकुमार लम्सालले भने, 'उनीहरूकै सूचनाका आधारमा अन्य चार जनालाई पक्राउ गर्न सकियो ।'
प्रहरीले उनीहरूको साथबाट २५ वटा धनलक्ष्मी कवच, चारवटा शिवशक्ति कवच, एउटा नवदुर्गा कवच र १ लाख रुपैयाँ नगद बरामद गरेको छ ।
उनीहरू सबैलाई ठगी मुद्दामा कारबाही चलाइने प्रहरीले बताएको छ । झन्डै डेढ वर्षअघिदेखि धनलक्ष्मी कवचको व्यापार नेपालमा गर्न थालेका उनीहरूले एउटा कवचको ५ हजार ७ सय ६० रुपैयाँमा लिँदै आएका थिए । उक्त कवचको प्रचारप्रसारमा प्रयोग भएका सबै पात्र र सूचना गलत भएको प्रहरीले जनाएको छ । विज्ञापनमा नेपाली चलचित्रका नायक निखिल उप्रेती र सञ्चिता लुइँटेलले अभिनय गरेका छन् ।
source:kantipurnews

Posted by Butwalonline on 7:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "धनलक्ष्मी कवचका नाम ठगी गर्ने पक्राउ"

Leave a reply