घरजग्गाको भाऊ धमाधम घट्दै
१४ असार, काठमाडौं । घरजग्गा कारोबारमा संलग्न भक्तपुरका पुष्कर सुवेदीलाई अहिले बैंकको ब्याज कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ ।
उनले वर्ष दिनअघि सयकडा १० को दरले बैंकसँग ऋण लिए । अब बैंकलाई ऋण तिर्ने बेला हुन लाग्दा ब्याजदर १५ प्रतिशत पुगेको छ । त्यसैले झण्डै दुई करोड मूल्य पर्ने मध्यपुर ठिमीको आधुनिक बंगला उनले डेढ करोड मूल्यमा बेच्न खोज्दै छन् । सस्तोमा बेच्न खोज्दा समेत ग्राहक नभेटेपछि उनले पत्रिकामै आकर्षक विज्ञापन निकालेका छन् । ‘के गर्ने बैंकको ब्याज त तिर्नै परिगो’ सुवेदी भन्छन्– ‘कम नाफा लिएर ब्याज तिर्ने उपाय मात्र खोजिएको हो ।’काठमाडौं मच्छेगाउँको कन्ट्रि गार्डेन कोलोनीले पनि प्रतिआना झण्डै पाँचलाख रुपैंया पर्ने घडेरीलाई अहिले सवा तीनदेखि सवा चार लाखको मूल्यमा बेच्न आकर्षक ढंगले प्रचार गरेको छ । तर, भाऊ सस्तो भएपनि किन्न खोज्नेहरु चाहिं कम छन् । ‘हामीले घाटा खाएर बेच्न खोजेका चाहिं होईनौं’ कोलोनीका सदस्य कपिल घिमिरेले भने– ‘वर्ष दिनदेखि घरजग्गाको भाऊ घटेपछि सस्तोमा बेच्न बाध्य भएका हौं ।’
राष्ट्र बैंकले वर्ष दिनअघि घरजग्गा क्षेत्रको लगानीमा कडाई गर्ने बित्तिकै यस क्षेत्रको कारोबार ह्वात्तै घटेको छ । त्यसमाथि बैंकबाट लोन लिएर यस व्यवसायमा संलग्नहरुलाई त उठीबासै बनाउन थालेको छ । त्यसैले उनीहरु घाटा खाएर समेत सस्तोमा घर जग्गा बेच्न बाध्य छन् । ‘असार मसान्तमा बैंकलाई ब्याज बुझाउनुपर्ने भएकाले कम नाफा लिंदै सस्तोमा बेच्नुपर्ने अवस्था आएको हो’ व्यवसायीहरु बताउँछन् । तर, कतिपयले चाहिं घाटै सहेर बैंकलाई ब्याज तिर्नकै लागि सस्तो दरमा घरजग्गा बेच्ने गरेका छन् । ‘पूर्ण रुपमा बैंकको लोन लिएर कारोबार गर्नेहरुलाई यस्तो समस्या छ’ व्यवसायी कपिल घिमिरेले भने ।घरजग्गामा बढी रकम प्रवाह गर्ने कतिपय बैंक यही कारणले धराशयी समेत भएका छन् । ‘पछिल्लो समयमा बैंकहरु संकटग्रस्त हुनुको एउटा कारण यो पनि हो’अर्थशास्त्री भोला चालिसेले भने–‘घरजग्गामा रकम फस्ने र ऋणीले बेलामा तिर्न नसक्ने भएपछि समस्या त पर्ने नै भयो नि ।’
मालपोतमा पनि चहलपहल कम
पछिल्लो आधा दशकमा घरजग्गा व्यवसाय निकै फस्टायो । पोहोरसम्म काठमाडौं सहितका शहर र शहर आसपासका ठाउँमा घरजग्गाको भाऊ छोईनसक्नुले बढ्यो । कारोबार पनि उसैगरी उत्साहप्रद थियो । अलि वर्षपछि नाफा हुन्छ भन्ने लोभले मान्छेले जग्गामा पैसा हाल्थ्यो । र नाफा पनि कमाउँथ्यो ।तर, राष्ट्र बैंकको कडाईले घरजग्गामा लगानी गर्न धेरैजना हच्किए । त्यसपछि मालपोत कार्यालयमा पनि चहलपहल घट्यो । राजश्व संकलनमा पनि कमी आएको मालपोत कार्यालयहरुको भनाई छ । तर यसले अर्थतन्त्रमा चाहिं खासै असर नगर्ने अर्थशास्त्रीहरुको भनाई छ । ‘बढी लगानी गर्ने डुब्छन्’ अर्थशास्त्री चालिसेले भने– ‘तर अर्थतन्त्रमा नकारात्मक प्रभाव चाहिं पार्दैन ।’
Source:Onlinekhabar