|

जापानको आणविक प्लान्ट पड्कियो

टोकियो -एजेन्सीहरू
काठमाडौ, फाल्गुन २८ -
शक्तिशाली भूकम्पले चिस्यान प्रणाली फेल भएपछि जापानको उत्तरी क्षेत्रस्थित आणविक प्लान्टमा शनिबार विस्फोट भएको छ । केही कामदार घाइते भएका छन् भने दुई जना हराइरहेका छन् । भवनका छाना र पर्खाल भत्किएका छन् ।
भूकम्पको केन्द्र नजिक पर्ने फुकुसिमास्थित दाइइची प्लान्टको एउटा रियाक्टरमा विस्फोट भएको हो । टोकियोदेखि २ सय ५० किलोमिटर टाढा पर्ने प्लान्टमा भूकम्पलगत्तै संकटकाल घोषणा गरिएको थियो । त्यहाँ विस्फोटपछि धूवाँका ठूलठूला मुस्ला निस्किएका छन् । राति अबेरसम्म आगो नियन्त्रणमा आएको छैन ।
विस्फोटले पक्की भवनका टुक्राहरू उछिट्टएिका छन् । दाइइचीभन्दा १० माइल टाढा अर्को प्लान्टमा पनि संकटकाल घोषणा गरिएको छ । दुवै प्लान्ट बन्द गरिएका छन् । प्लान्टबाट निस्किने रेडियो विकिरणको असरबाट बच्न २० किलोमिटर वरपर निषेधित क्षेत्र घोषणा गरिएको छ । तैपनि रेडियो विकिरण कम फैलिएको अधिकारीहरूले दाबी गरेका छन् । बीबीसीले भने प्रहरीले दाइइची प्लान्टभन्दा ६० किलोमिटर टाढा नै आफ्ना संवाददातालाई रोकेको जनाएको छ ।
शताब्दीकै ठूलो मानिएको ८.९ रेक्टर स्केलको भूकम्प र लगत्तै आएको सुनामीको दोहोरो प्रकोपमा कम्तीमा १ हजार ३ सयको मृत्यु भएको छ । यो न्युजिल्यान्डमा गत महिना आएकोभन्दा ८ हजार गुणा शक्तिशाली भूकम्प हो । आणविक प्लान्ट वरपर निषेधित क्षेत्रका बासिन्दालाई विकिरणविरुद्ध लड्न आयोडिन वितरण गर्ने योजना बनाइएको छ ।
आयोडिन र सिजियम शनिबार ऊर्जा स्टेसनको एक नम्बर रियाक्टर नजिक देखिएको थियो । जापानी आणविक ऊर्जा एजेन्सीका अनुसार यो रियाक्टरभित्र युरेनियम इन्धनको कन्टेनर पग्लिएको सूचक हुनसक्छ । सुरक्षा अधिकारीले थोरै मात्रा भएकाले विकिरणले असर नगर्ने भन्दै स्थानीयलाई शान्त रहन आह्वान गरेका छन् ।
प्लान्टको एक नम्बर रियाक्टर क्षतिग्रस्त भए पनि मेटल रियाक्टर कन्टेनरमा क्षति पुगेको छैन । सरकारका मुख्य प्रवक्ता युकियो इदानका अनुसार विकिरणको मात्रा विस्फोटपछि कम भएको छ । संकटकालीन चिस्यान बिगि्रएपछि योसहित अर्को प्लान्ट पग्लिने खतरा बढेको छ । भित्रको चाप कम गरी क्षति रोक्न दुवै प्लान्टका थुप्रै रियाक्टरबाट यसअघि नै केही रेडियो विकिरणको मात्रा रहेको हावा र बाफ छोडिएको छ । प्रधानमन्त्री नओतो कानका अनुसार छाडिएको विकिरणको मात्र निकै कम हो । टोकियो विश्वविद्यालयका नाओतो सेकिमुराले विकिरणको मात्राले सर्वसाधारणलाई असर नपुर्‍याउने दाबी गरे । गैरसैनिक प्रयोजनका ऊर्जा केन्द्रहरू आकस्मिक डिजेल जेनेरेटरको व्यवस्था गरिएको हुन्छ । दाइइचीमा कति डिजेल जेनेरेटर थिए भन्ने स्पष्ट भएको छैन । दाइइची प्लान्टले १९७१ देखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।
जापानमा आणविक ऊर्जाले विद्युत्मा एक तिहाइ योगदान दिएको छ । यी प्लान्टहरू भूकम्पबाट सुरक्षित रहने गरी बनाइए पनि पहिलोपल्ट यस्तो घटना भएको हो ।


Source:Kantipur

Posted by Butwalonline on 9:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जापानको आणविक प्लान्ट पड्कियो"

Leave a reply