महिलाहरुको लागि तीन महिने सुनचादीका गहना बनाउने तालिम शुरु
बुटवल,१४फागुन । नेपाल सुनचादी ब्यवसायीसंघ बुटवल उपशाखाको आयोजनामा महिलाहरुको लागि तीन महिने सुनचादीका गहना बनाउने तालिम शुरु भएको छ । महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाउने उदेश्यका साथ पहिलोपटक महिलालाई गहना बनाउने तालिम शुरु गरिएको हो ।
फागुन ९ गतेदेखि शुरु भएको तालिमको सोमबार एक समारोहका विच औपचारी समुद्घाटन गरिएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी ब्यवसायि संघका केन्द्रिय सदस्य जोगलाल विश्वकर्माले विदेशी कारिगढ राख्नुपर्ने बाध्यता भएको बेला आफ्नै चेलीबेटीले सुनचादीको गहना बनाउने सिप सिक्न पाउनु आर्थिक समृद्धि र स्वरोजगार बन्ने अवसर भएको बताउनुभयो । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले महिलालाई पनि स्वरोजगार र आत्मनिर्भर बनाउन तालिमले सकरात्मक भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल सुनचादी ब्यवसायि संघ रुपन्देहीका अध्यक्ष विक्रम सुनार,नेपाल राष्ट्रिय ब्यापार संगठन बुटवलका अध्यक्ष खिमनारायण पराजुली,सल्लाहाकार ज्योतीलाल विश्वकर्मा,अधिवक्ता दीपा सुनार,कारिगढ ट्रेड यूनियनका केन्द्रिय सदस्य रेवन्त विश्वकर्मा,दलित महिला संघका मनु खड्का,सुनचादी ब्यवसायी संघ बुटवल शाखाका निर्वतमान अध्यक्ष किशोर कुमारसुनार मातृका सुनार लगायतले बोल्दै महिलालाई सिप सिकाएर स्वदेशमै जनशक्ति उत्पादन गराउने कार्य प्रशसनिय रहेको बताउनुभएको थियो । कार्यक्रम बुटवल शाखाका अध्यक्ष दीपक विश्वकर्माको अध्यक्षता,सचिव गोकुल विश्वकर्माको संचालनमा सम्पन्न भएको हो । तालिममा १६ जना महिलाहरुको सहभागिता छ ।