माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित
बुटवल– नेकपा–माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज यस क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । बन्दका कारण यस लुम्बिनी अञ्चलका ६ वटै जिल्लाको जनजीवन प्रभावित भएका छन् । बन्दका कारण यस क्षेत्रमा लामो तथा छोटा दूरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । यस्तै पसल, विद्यालय, क्याम्पसलगायतका शिक्षण संस्था र औद्योगिक प्रतिष्ठान पनि सञ्चालन हुन सकेका छैनन् ।
बन्द सफल पार्न रुपन्देहीका मुख्य बजार बुटवल र सदरमुकाम भैरहवा तथा ग्रामीण क्षेत्रका बजारमा प्रदर्शन गरेका छन् ।
सो पार्टीले युद्धकालीन समयमा घटेका घटनालाई विषय बनाएर मुद्दा चलाउन नहुने, प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुनेलगायतका माग राख्दै आज देशभर बन्द आह्वान गरेको हो ।
यातायात सेवा ठप्प भएपछि सर्वसाधारण गन्तव्यमा पुग्न पैदल यात्रा गर्न बाध्य भएका छन् । बन्द अहिलेसम्म शान्तिपूर्ण रहेको सुरक्षा निकायले जनाएका छन् ।