५८ थान सालको अवैध चिरान काठ बरामद
ज्ञानु गौतम,नेपालगंज ,पुस २९ - बाँकेको सोनपुरबाट प्रहरीले आज विहान ५८ थान सालको अवैध चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी निरीक्षक दक्ष बस्नेतको कमाण्डमा खटिएर गएको प्रहरी टोलीले करिब ३० क्युफिट काठ बरामद गरेको हो । विहान साढे ३ बजे सोनपुर–४ स्थित खेतमा रहेको परालमा लुकाइ राखिएको अवस्थामा काठ बरामद गरेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभएको छ । यसअघि पनि प्रहरीले एक सय क्यूफिट सालको चिरान काठ पक्राउ गरेको थियो । बरामद गरिएको काठ आजै जिल्ला बन कार्यालयलाई बुझाइने उहाँले जानकारी दिनुभएको छ ।
डोटीको छतिबन ९ रुपसकाँडामा हिजो भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छ । उनीहरुको आज अन्तेष्टि गरिने छ । कर्णाली रिभर साईड यातायातको ना ४ ख ३६०३ नम्बरको बस हिजो बिहान २ बजेतिर दुर्घटना भएको थियो । यसैविच, यात्रुबहाक बस दुर्घटनामा परि ३१ जनाको निधन भएको शोकमा आज अछामका बजारहरु बन्द गरिएको छ । दुर्घटनामा ३ जना बाहेक सबै अछामका नागरीकहरुको ज्यान गएको छ । उद्योग बाणिज्य संघ अछामको आह्वानमा मृतकप्रति शोक व्यक्त गर्न जिल्लाका बजारहरु बन्द गरीएको हो । अहिले केहीबेरमा मंगलसैनको खुल्ला मञ्चमा शोक सभाको आयोजना पनि गरिदै छ ।
परम्परागत ढंगले वन जंगलमा बस्दै आएका राउटेहरु कृषि पेसामा आकर्षित हुन थालेका छन् । राउटेहरुले परम्परागत पेसाबाट जीवन धान्न धौधौ परेपछि कृषि पेसा शुरु गरेका हुन् । व्यवसायिक खेती शुरु गर्न राउटे समुदायका केहीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग ऋण लिनका लागि निवेदन दिएका छन् । सल्यान घट्टेकुलो बस्ने राउटे जंगबहादुर शाहीले परम्परागत पेसाबाट गुजारा चलाउन गाह्रो भएकाले ऋण पाएपछि बाख्रापालन गर्ने सोच बनाएको बताउनुभयो । खाट, पिर्का, ओखलजस्ता काठमा सामग्री बनाउने कामबाट जीवन चलाउन गाह्रो भएपछि राउटेहरुले कृषि पेशा गर्न थालेका छन् ।