‘बचाउ बचाउ'को चित्कार लगाउँदा लगाउँदै ज्यान गयो
अत्तरिया, पुस २९ - शरीर काम्ने जाडोमा ‘बचाउ बचाउ'को चित्कार लगाउँदा लगाउँदै रुपसकाँडा बस दुर्घटनाका घाइतेको रात बितेको थियो।
‘असाध्यै चिसो भइरहेको थियो। म उठ्नै सकिनँ। शरीरबाट भल्भल्ती रगत बगिरहेको थियो। बचाउ बचाउको चित्कारले माहोल नै त्रासदिपूर्ण थियो,' घाइते जयबहादुर चौधरीले भने, ‘चाँडै उज्यालो होस् र मान्छेहरू आएर उद्धार गर्लान् भनेर देवतासँग प्रार्थना गरिरहें।'
तर प्रहरी र स्थानीय बिहान साढे ७ बजेतिर मात्र आए। ‘दोश्रो जुनी पाएजस्तो भयो,' उनले सुनाए। चौधरीले जस्तो सबैले उद्धारकर्ता कुर्न सकेनन्। तुषारो जमेको लेकको कठ्यांगिँ्रदो चिसो र चोटको पीडाले उनीहरूलाई उज्यालो देख्न दिएन।
चौधरीका अनुसार राति बस खसेपछि एक-दुई घन्टासम्म २०-२२ जना घाइतेले ‘बचाउ बचाउ' भन्दै गुहार मागेका थिए। बिहानहुन्जेल कराउने धेरैको आवाज हराइसकेको थियो। शुव्रmबार करिब दुई बजेतिर बस दुर्घटना भएको थियो। घाइतेको उद्धार भने बिहान साढे सात बजेपछि मात्र सुरु भएको थियो। ‘समयमै उद्धार भएको भए धेरै जनाको ज्यान बच्थ्यो,' उनले भने।
अछाम कालागाउँमा मजदुरी गर्न गएका कैलाली, गदरिया-८ का चौधरी माघी मनाउन घर फर्किरहेका थिए। उनका अनुसार बसका सबै यात्रुले डोटीको दिपायलमा खाना खाएका थिए। निदाएको बेला एक्कासि ब्रेक लागेपछि झसंग भएर उठ्दा गाडी गुडिरहेको थियो। यात्रुको चित्कारले कोलाहालको वातावरण थियो। ‘गाडीको सिटमुनी पसेर बसें,' उनले भने, ‘गाडीले धेरै बल्ड्याङ खान थालेपछि अब मरिन्छ भन्ने लागेको थियो।'
अर्का घाइते अछाम, गाँजरा-२ कुण्डालीका इन्द्रसरा खड्काको दुवै पैतलाका पूरै छाला निस्केका छन्। उनी चालकपछाडिको सिटमा मस्त निन्द्रामा थिइन्। गाडी सडकबाट खसेपछि उनको निद्रा खुल्यो। निद्रा खुल्दा गाडी भिडमा गुल्डिरहेको थियो। निकै तल पुगेपछि उनी गाडीबाट खसेर भीरमा अड्किइन। ‘गाडी तलतिर गइरहेको थियो। कयौं जना भुइँमा खसिसकेका थिए। उनीहरू दाजु बचाऊ, बुबा बचाउ भनेर कराइरहेका थिए,' उनले भनिन्, ‘म डरलाग्दो भीरमा नांगो खुट्टा र हातले टेकेर आफैं सडकसम्म हिँडेर आएँ।'
उनी भन्छिन् - खुट्टामा जुत्ता थिएन्। चिसोले थर्रर कामें। ५÷६ वटा कम्मल खसेको फेला पारे। ती कम्मल ओढेर हात र खुट्टाले टेक्दै भीर उक्लिरहें। भीरमा जमेको तुसारोको चिप्लो थियो बल्लबल्ल पुगें। सडकमा एउटा बस रोकिराखेको थियो। उनीहरूले आगो बालेर ताप्न लगाए। चिसो कम भएपछि त्यही बसमा अत्तरिया अस्पतालसम्म आएँ।
बसमा उनीसँगैको सिटमा रहेकी अछाम कालिमाटी निवासी शिक्षक युनियनकी जिल्ला उपाध्यक्ष पवन शाहको भने मृत्यु भएको छ। ‘बाटोमा वmुरा गर्दै आएका थियौं। रात परेपछि सबै सुतिरहेका थियौं। बस कसरी खस्यो, थाहै पाइएन,' खड्काले भनिन्, ‘मेरो त दोस्रो जुनी हो।'
बस तीव्र गतिमा रहेका बेला एक्कासि सडकबाट तल खसेको अर्की घाइते गुलावी रावलले बताइन्। ‘बस एक्कासि सडकबाट खसेर ठोक्किएपछि सबै बत्ती आफैं बलेर निभे।
चिच्याहट र चित्कारसँगै बस पल्टिरहेको थियो,' उनले भनिन्, ‘मैले पनि पछि के भो थाहा पाइनँ।' उनी दुई वर्षीया छोरी मन्जु पनि घाइते भएकी छन्।समाचार साभार नागरिक न्यूज