|

सीता एयरको विमान चरासँग ठोक्किदा दुर्घटना,७ नेपाली, ७ बेलायती र ५ चिनियाँको मृत्यु


काठमाडौं, असोज १२- लुक्ला जाँदै गरेको सीता एयरको डोर्नियर विमान त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनारमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। बिहान ६:१७ बजे लुक्लाका लागि उडेको विमान एक मिनेटमै दुर्घटना भएको  विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले बताए|

मनोहरा खोला किनार सुकुम्बासी बस्ती नजिकैको खाली ठाउँमा विमान सकुशल अवतरण गरे पनि विमानभित्र लागेको आगोका कारण सबै १६ यात्रु र चालक दलका तीन सदस्यको मृत्यु भएको छ। जलेर शव क्षत विक्षत भएकाले चिन्न सकिने अवस्थामा छैनन्।

विमान क्याप्टेन विजय तण्डुकारले चलाएका थिए। त्यसमा ताकेस थापा सह चालक र एयर होस्टेज रोजा शाक्य रहेकी थिइन्। विमानमा १२ जना विदेशी र चालक दलका तीन र ४ नेपाली यात्रुसहित ७ जना नेपाली रहेका थिए। मृत्यु हुनेमा ७ बेलायती छन् भने ५ चिनियाँ नागरिक परेका छन्। मृत्यु हुने विदेशीहरुको नाम अझै खुल्न सकेको छैन। यसअघि विमानमा इटालियन नागरिक परेको भनिए पनि कोही पनि इटालियन नपरेको सीता एयरले पुष्टि गरेको छ।


मृत्यु हुने अन्य नेपालीहरुमा एलएन शेर्पा, श्रीमती एनके तामाङ, डी. राई र कुमार मर्स्याङ्दी मगर रहेको सीता एयरले जनाएको छ। नेपाली सेनामा कार्यरत मगर टिकट नलिइ सोझै विमानमा चढेका थिए। डी. राईले सात जना बेलायतीलाई लिएर हिँडेकोले उनी पथप्रदर्शक हुनसक्छन्। विमानमा लोडसिट भार बाहेक १ सय २० केजी वजन रहेको स्रोतले बताएको छ।

विमानस्थल नजिकै रनवेबाट पाँच सय मिटर मात्र टाढाको दूरीमा दुर्घटना भएकोले केही समयमै दमकल, सेना र प्रहरी घटनास्थलमा खटिएका थिए। तर पनि विमानमा लागेको आगो निभाउन सेना र प्रहरीलाइ ४० मिनेट लागेको थियो। विमानको पुच्छर बाहेक सबै भाग जलेर नष्ट भएको अवस्थामा छ।


सीता एयरको आज बिहान दुर्घटना भएको विमान चरासँग ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पुष्टि गरेको छ। विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनका अनुसार विमान चालक विजय तण्डुकारले एयर ट्राफिक कन्ट्रोलरलाई चरासँग ठोक्किएको जानकारी गराएका थिए|

सुमनका अनुसार सो डोर्नियर विमान बिहान ६ बजेर १७ मिनेटमा उडने क्रममा असामान्य maneouver देखिएपछि एयर ट्राफिक कन्ट्रोलरले चालकसँग जानकारी माग गर्दा चालक तण्डुकारले विमान चरासँग ठोक्किएको जानकारी गराएका थिए।

टावर र चालकबीचको यो कुराकानीको केही समयपछि नै विमान दुर्घटना भएको थियो। चालक दलका तीन सदस्यसहित सात नेपाली, सात बेलायती र पाँच चिनियाँ नागरिकको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।

दुर्घटनाको उद्धारका लागि खडा गरिएको उद्धार समन्वय केन्द्र पनि उद्धार सम्बन्धी सम्पूर्ण कार्य सकिएकोले बन्द गरिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।









स्रोत :नागरिक न्यूज 



Posted by Butwalonline on 9:53 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सीता एयरको विमान चरासँग ठोक्किदा दुर्घटना,७ नेपाली, ७ बेलायती र ५ चिनियाँको मृत्यु"

Leave a reply