अफगानिस्तानमा बन्धक बनाइएका नेपालीहरू आईओएम को आश्रयस्थलमा
काठमाडौं , असार २१ - अफगानिस्तानको बाग्राममा डेढ महिनादेखि बन्धक बनाइएका १० जना नेपाली मंगलबार बेलुकाबाट काबुलस्थित अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को आश्रयस्थलमा बसेका छन् ।
उद्धारको बारम्बार आग्रहपछि आईओएम र अफगानी गृह मन्त्रालयको समन्वयमा उनीहरूलाई उक्त आश्रयस्थल लगिएको हो । दसमध्ये तीन जनासँग मात्रै पासपोर्ट रहेकाले इस्लामावाद नियोगबाट यात्रा अनुमतिपत्रको प्रबन्ध गराएर नेपाल फर्काउन अझै केही दिन लाग्ने काबुलस्थित पत्रकार सुवेल भण्डारीले बताए । 'बन्धक नेपालीमध्ये केही शारीरिक रूपमा अशक्त भएकाले आईओएमभित्रै चिकित्सक परीक्षण गराइने भएको छ,' उनले भने ।
काठमाडौं, दिल्ली र काबुलका तीन मानव तस्कर दलालको जालोमा परी जनही चार लाख रुपैयाँ बुझाएर उनीहरू गत वर्ष काबुल पुगेका थिए । उनीहरूलाई तदारुकताका साथ घर फर्काउन आवश्यक समन्वय र सहयोग पुर्याउने काम भइरहेको इस्लामावादस्थित नेपाली नियोगले जनाएको छ । दक्षिण एसियाली परिवार सार्कभित्र रहेको अफगानिस्तानको सहप्रमाणीकरण नेपाल मामला पाकिस्तानले हेर्दै आएको छ ।
समाचार कांतिपुर बाट
