त्रिवि क्याम्पसहरुमा नियमित उपस्थित नहुने प्राध्यापकहरु विरुद्ध कोणसभा
बुटवल, २१ असोज ।त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा नियमित उपस्थित नहुने प्राध्यापकहरु विरुद्ध अखिल क्रान्तिकारीले आज बुटवल बहुमुखी क्याम्पसमा कोणसभा गरेको छ ।
कोणसभामा बोल्दै अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष दामोदर घिमिरे, उपाध्यक्ष नारायण पाण्डे लगायतले नियमित उपस्थित नहुने प्राध्यापकहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र क्याम्पसमा पठनपाठन नियमित हुनुपर्नेमा जोड दिनुभयो ।
आफुहरुको माग पूरा नभएमा हाजिरी रजिष्टर कब्जा लगायतका कार्यक्रम गरिने अखिल क्रान्तिकारीले जनाएको छ ।अखिल क्रान्तिकारीले ‘अखिल क्रान्तिकारीको मुख्य जोड, अनियमित प्राध्यापक क्याम्पस छोड’ नारा लेखिएको ब्यानर समेत क्याम्पसमा टाँगेको क्याम्पस इकाईका उपाध्यक्ष अनुप पोख्रेलले जानकारी दिनुभयो ।
