चितवनमा गैंडाको आक्रमणबाट एक महिलाको ज्यान गयो
चितवन, असार २०- चितवन निकुञ्जबाट आएको गैंडाले आक्रमण गर्दा मंगलबार साँझ पश्चिम चितवनको शुक्रनगरमा घाँस काट्दै गरेकी एकजना महिलाको ज्यान गएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा शुक्रनगर गाविस वडा नं. ७ लेबरनगरकी ६६ वर्षीया दिलमाया थापा रहेकी छन्।
स्थानीय चोकप्रसाद बस्यालको खेतमा घाँस काट्दै गर्दा उनलाई गैंडाले आक्रमण गरेको प्रहरी कार्यालयले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो।
निकुञ्जका जनावरले आक्रमण गर्दा यो आर्थिक वर्षमा दिलमाया समेत गरेर आठ जनाको ज्यान गएको छ। निकुञ्जका जंगली जनावर मध्यवर्ती क्षेत्रमा आएर स्थानीयको ज्यान लिएमा मृतकका आफन्तले डेढ लाख रुपैयाँ राहत पाउने व्यवस्था निकुञ्जले गरेको छ। तर बजेट अभावमा राहत कार्य समेत प्रभावित भएको छ।
समाचार नागरिक न्यूज बाट