शान्तिको कामना गर्दै दुबईमा २५५६ औं बुद्ध जयन्ती मनाइयो
लालबहादुर ढेंगा, दुबई, युएई,वैशाख २६-विश्वमा शान्तिको प्रतिक मानिने भगवान बुद्धको २५५६ औं जयन्ती गत ६ मे २०१२ आइतबारका दिन दुबईको नेपाली रेष्टुरेण्टमा विधिवत रुपले पूजाआजाका साथ मनाएका छन् । सो जयन्ती जनजाति महासंघ युएईको आयोजनामा गरेको हो ।
नेपाली समाज युएईका भू.पू.अध्यक्ष यमप्रसाद तमु प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता जनजाति महासंघ युएईका अध्यक्ष गिरमान थापाले गर्नु भएको थियो । त्यस्तैगरी अन्य अतिथिहरुमा मगर संघ युएईका अध्यक्ष नुनप्रसाद सोमै, तामाङ समाज युएईका अध्यक्ष राम मोक्तान, थारु समाज युएईका अध्यक्ष घनश्याम चौधरी, किरांत याक्थुङ चुम्लुङ युएईका अध्यक्ष पि.एस लिम्बु, नेपाली समाज युएईका पार्षद अध्यक्ष तुलसी तामाङ र पत्रकारहरु रहेका थिए ।
प्रमुख अतिथि यमप्रसाद तमुद्धारा दीप प्रज्वलन गरि थालनी गरिएको कार्यक्रममा मगर संघ युएईका अध्यक्ष तथा जनजाति महासंघ युएईका सचिव नुनप्रसाद सोमैले शुभकामना मन्तव्य राख्नु भएका थिए । सो अवसरमा वक्ताहरुले आ–आफ्ना मन्तव्यको क्रममा भगवान बुद्धको बारेमा प्रकाश पारेका थिए ।भगवान बुद्धको तस्विरको अगाडि १०८ दीप प्रज्वलन गरि थालीमा चावल राखेर धुप जलाउंदै बुद्ध भगवानलाई फलफुल चढाउंदै पूजाआजा समेत गरिएको थियो । त्यो समय भने अति सुकुन र शान्ति मैसुस गर्न सकिन्थ्यो । सो बुद्ध जयन्ती कार्यक्रमको संचालन राम मोक्तानले गर्नु भएको थियो ।
