|

शिक्षकको कुटाईबाट पाल्पामा दुई विद्यार्थी गम्भीर घाइते

पाल्पा, मंसिर २२- शिक्षकको कुटाईबाट पाल्पामा दुई विद्यार्थी गम्भीर घाइते भएका छन्। कक्षा दस पढ्ने दुबै विद्यार्थी घाइते अवस्थामा मिसन अस्पताल तानसेनमा भर्ना भएका छन्। कुटाई खाने विद्यार्थी तेक्वाण्डोका प्रशिक्षार्थी हुन् भने कुट्ने शिक्षक प्रशिक्षक हुन्।

तानसेनको बेथल बोर्डिङ स्कुलका शिक्षक निरबहादुर सारु र महेन्द्र पोखरलले दुई विद्यार्थी कुटेका हुन्। विद्यालयमा कक्षा दशमा पढ्ने तानसेन बर्तुङका जोसेप बिष्टलाई सारु र देवराज खातीलाई पोखरेलले कुटेका हुन्।
बिहीबारको विहानी प्रार्थनामाका क्रममा अनुशासन तोडेको भन्दै शिक्षकले कुटेको घाइते विद्यार्थीले बताए। शिक्षक सारु आइटिएफ पाल्पाका जिल्ला अध्यक्षसमेत हुन्। शिक्षक सारु बोर्डिङका प्रिन्सिपल खेमबहादुर सारुका सहोदर भाई हुन्।

‘लाइनमा गोडाको चाल नमिलेको भन्दै उफ्रेर आएर मेरो टाउकोमा मुक्का हान्नुभयो' अस्पतालको इमर्जेन्सी कक्षमा नागरिकन्युजसँग बिष्टले भने, 'मलाई सारु सरले हानेपछि म ढल्न लागेको बेला उठाउन आएको साथी देवराजलाई पोख्रेल सरले लात्तले हानेर ढलाईदिनुभयो।' पोख्रेलले खातीको गुप्ताङ्गमा दुई लात्ति र मुक्का प्रहार गरेका थिए।

टाउकोमा गहिरो चोट लागेको भन्दै मिसन अस्पतालले सिटिस्क्यान गर्न बिष्टलाई लुम्बिनी मेडिकल कलेजमा रेफर गरेको छ। खातीको लिंगमा चोट लागेको छ। उनलाई पिसाब फेर्न कठिनाई भएको आमा मनमायाँ खातीले बताइन्। विहान ११ बजे उनीहरुलाई मिसन अस्पतालमा भर्ना गरिएको हो।

प्रिन्सिपल खेमबहादुर सारुले दुबैको उपचार खर्च विद्यालयले बेहोर्ने र घटनाको छानबिन गरेर दोषी शिक्षकलाई कारबाही गर्ने बताए। उनले घटना हुँदा आफू नभएकाले धेरै कुरा थाह नभएको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव नेपालले घटनाको छानबिन गर्न समिति बनायने र विद्यार्थीको उपचारका लागि कुनै कसर बाँकी नराखिने बताए।
                                                                                                         स्रोत :नागरिक न्युज (टेकनारायण भट्टराई)


Posted by Butwalonline on 4:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शिक्षकको कुटाईबाट पाल्पामा दुई विद्यार्थी गम्भीर घाइते"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु