कुशलले बनाए हावाबाट गुड्ने कार
२३ फागुन, बागलुङ । सोलारबाट गुड्ने कार बनाएर देशव्यापी चर्चा कमाएका बागलुङका युवा बैज्ञानिक कुशल केसीले हावाबाट गुड्ने कार बनाउनु भएको छ । जम्मा नौ दिनमा हावाबाट गुड्ने कारको नमुना बनाई केसीले परिक्षण गर्नु भएको हो ।
‘हावा दिादा गुड्ने कार विश्वकै पहिलो हो’ बागलुङ बिनामारे ७ का १७ बषिर्य कुशलले भन्नुभयो-’छोटो समयमा धेरै मेहनत गरेर परिक्षण सफल गराउन सकें ।’ कारलाई फागुन २४ गते त्रिभुवन बिश्वबिद्यालय कीर्तिपुरमा सार्वजनिक गरिने छ । त्यसैगरी चैत १ र २ गते हृवाइट हाउस कलेजमा आयोजना हुने हिमालयन साइन्स फेयर २०११ मा प्रदर्शन गरिने बताइएको छ ।
इन्धनबाट भन्दा वातावरणिय लगायतका महत्वले पनि हावाबाट चल्ने कार भविष्यका लागि आवश्यक हुने उहाँले बताउनुभयो । काठमाडौंको नासा इन्टरनेसनल कलेज कक्षा ११ बिज्ञान संकायमा अध्ययनरत कुशलले जाडो बिदाको समयलाई सदुपयोग गरी कारको नमुना बनाएर सफल परिक्षण गरेको बताउनुभयो ।
‘काठ, बल्ब बेरिङ, प्लाष्टिक मिलाएर हावाको टर्वाइन दिँए, कार्बनडाइअक्साइड भएको सिलिन्डर प्रयोग गरेर हावा दिँदा कार चल्यो’ केसीले भन्नुभयो-’यसमा डाइनामो, इन्जिन र अन्य व्याट्री केहि पनि छैन, हावा दिँदा गुडिहाल्छ ।’
चाहेको गतिमा चलाउन हावा बढाए पुग्ने उहाँको भनाई थियो । ‘दिनमा करिव १५ घण्टा भन्दा बढि समय लगाएर नौ दिनमा आमा बावाको अघि कार परिक्षण गराएको हुँ ।’ उहाँले भन्नुभयो-’हावाले गुड्ने कार हुन्छ जस्तो लागेको थिएन, चार पटकको प्रयासपछि सफल भएँ ।’
नमुना कार निर्माण गर्न १८ हजार खर्च भएको र कार निर्माणका लागि कलेजले सहयोग गरेको उहाँले बताउनुभयो । उक्त कार कार्टुन, काठ, प्लाष्टिक र लुगा सुकाउने तारको चक्काबाट बनाइएको छ ।