|

कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्ड–२०६९ सम्पन्न

पोखरा, १६ वैशाख।शुक्रराज बलभद्र तेक्वान्दो स्कुल कास्की जिल्ला तेक्वान्दो सङ्घ पोखरा रड्डशालामा सञ्चालित कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्ड–२०६९ को च्याम्पियन बन्न सफल भएको छ।११ स्वर्णका लागि भएको सो खेलमा दुई स्वर्ण, दुई रजत तथा एक कास्यपदक प्राप्त गर्दै शुक्रराज पहिलो पटक आयोजना गरिएको रनिङशिल्डको च्याम्पियन बन्न सफल भएको हो।

११ मध्ये शहीद स्मृति आवासीय तेक्वान्दो स्कुल र शुभकामना तेक्वान्दो डोजाङले दुई–दुई तथा लेखनाथ तेक्वान्दो डोजाङ, गुडसेफर्ड तेक्वान्दो स्कुल, पोखरा तेक्वान्दो डोजाङ, पार्दी तेक्वान्दो स्कुल र बाराही तेक्वान्दो स्कुलले एक–एक स्वर्णपदक प्राप्त गरेका थिए। च्याम्पियन बनेको शुक्रराज बलभद्रलाई प्रमुख अतिथि नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष एवं एसियन ह्याण्डबल महासङ्घका उपाध्यक्ष तेजबहादुर गुरुङ तथा कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले रनिङशिल्ड हस्तान्तरण गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि गुरुङले मार्सल आर्टको विधा तेक्वान्दोले विगतदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउादै आएको बताए। उनले कुनै पनि खेलाडीलाई ग्रासरुटदेखि नै राम्रो प्रशिक्षण दिने हो भने ऊ भविष्यमा राम्रो खेलाडी बन्न सक्ने धारणा राखे।

प्रतियोगितामा पुरुषतर्फ ४०–४४ केजी तौलसमूहमा स्वर्णपदक प्राप्त शुक्रराज बलभद्र तेक्वान्दो स्कुलका सुशान्त गुरुङ तथा महिलातर्फ ४३–४७ केजी तौल समूहमा बाराही तेक्वान्दो स्कुलकी प्रशंसा क्षत्री बेस्ट फाइटर घोषित भए। उनीहरु दुवै जनालाई प्रमणपत्र र एक–एक थान तेक्वान्दो दोबोक प्रदान गरिएको थियो।
समापनका अवसरमा भएको पुरुष २०–२३ केजी तौल समूहमा शुभकामना तेक्वान्दो डोजाङका राजाराम प्यासीले गुडसेफर्ड तेक्वान्दो स्कुलका खेम गुरुङलाई पराजित गर्दै स्वर्णपदक प्राप्त गरे। २६–२९ केजी तौलसमूहमा गुडसेफर्ड तेक्वान्दो स्कुलका संघर्ष श्रेष्ठले यासुदा तेक्वान्दो डोजाङका जेनिश कार्कीलाई पराजित गर्दै स्वर्णपदक हात पारे। ४०–४४ केजी तौलसमूहमा शुक्रराज बलभद्र तेक्वान्दो स्कुलका सुशान्त गुरुले बाराही तेक्वान्दो स्कुलका दिपिन क्षत्रीलाई पराजित गर्दै स्वर्णपदक प्राप्त गरे। यस्तै महिला ४३–४७ केजी तौलसमूहमा बाराही तेक्वान्दो स्कुलकी प्रशंसा क्षत्रीले शुक्रराज बलभद्र तेक्वान्दो स्कुलकी प्रतीक्षा सुवेदीलाई पराजित गर्दै स्वर्णपदक प्राप्त गरेको सङ्घका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए। शुक्रबार सात स्वर्णको टुड्डो लागेको थियो।

सो अवसरमा सिनियर खेलाडीहरुले तेक्वान्दोको डेमोन्स्ट्रेशन पनि गरेका थिए। सो अवसरमा सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र धनगढीमा सञ्चालित छैटौं राष्ट्रिय प्रतियोगितामा कास्की जिल्लाबाट सहभागी भई मेडल प्राप्त गर्ने खेलाडीहरुलाई खादा लगाएर सम्मान गरिएको थियो। कास्कीले महिला पुम्सेमा स्वर्ण तथा महिला पुम्सेमा काास्यपदक प्राप्त गरेको थियो।स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा रेखमाया गुरुङ, प्रतीक्षा सुवेदी र मनिषा गुरुङ रहेका थिए भने काास्यपदक प्राप्त गर्ने खेलाडीमा बालकृष्ण महतो, विनोद नेपाली र विकास गुरुङ रहेका थिए।

सङ्घको आयोजनामा पोखरा रड्डशाला र बगरको न्यू लिटिल स्टेप बोर्डिङ स्कुलमा सञ्चालित एक महिने नि:शुल्क तेक्वान्दो प्रशिक्षण शिविरको समापन पनि गरिएको थियो। प्रशिक्षार्थीहरुले आफूले एक महिनासम्म सिकेको सीप पनि प्रस्तुत गर्नुको सार्थ उनीहरुलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो। शिविरमा एक सय बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

विजेता तथा उपविजेता खेलाडीहरुलाई नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष एवं कास्की जिल्ला बास्केटबल सङ्घका अध्यक्ष जुम गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, कास्की जिल्ला तेक्वान्दो सङ्घका सल्लाहकार देवु गुरुङ, कार्यसमिति सदस्य क्या. भूपालसिंह गुरुङ, कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष अनिल सिंह, शुक्रराज बलभद्र उमाविका प्रधानाध्यापक पदमबहादुर कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए।

 कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका सहसचिव निर्मला बरालले स्वागत मन्तव्य तथा सचिव प्रेमनारायण न्यौपानेले सञ्चालन गरेका थिए। महिलातर्फ चार तथा पुरुषतर्फ नौ गरी १३ वटा इभेन्ट सञ्चालन भएको प्रतियोगितामा कास्की जिल्ला तेक्वान्दो सङ्घअन्तर्गत पोखरा तथा लेखनाथमा सञ्चालित १४ वटा डोजाङ तथा स्कुलका करिब एक सय जना खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा पुष्पराज जोशी र सुनबहादुर लामाले मुख्य जुरी तथा बलराम लामा, बोधराज गिरी, ललितबहादुर धामी, कुमार गुरुङ, राजन पौडेल, बालकृष्ण महतो, किरण गौतम, अरुण माझी, कृष्ण महर्जन, महावीर थापामगर, रेखमाया गुरुङ, निशान कार्की, पुकनारायण तिलिजा पुन, विष्णु अधिकारी र दीपेन्द्र पहारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।


Posted by Butwalonline on 5:34 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कास्की जिल्लास्तरीय जुनियर तेक्वान्दो रनिङशिल्ड–२०६९ सम्पन्न"

Leave a reply