जापानी परराष्ट्रमन्त्री आज नेपाल आउँदै
काठमाडौं , वैशाख १६ - जापानी विदेशमन्त्री कोइचिरो गेम्बा नेपालको संक्षिप्त भ्रमणमा शनिबार राति काठमाडौं आइपुग्ने भएका छन् । नेपालको प्रमुख दातामध्येको जापान सरकारका तर्फबाट झन्डै तीन दशकपछि यो तहमा औपचारिक भ्रमण हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार गेम्बा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदाधिकारीसँग आइतबार भेटघाट गरेर सोही दिन फिर्नेछन् । उनको भ्रमण क्रममा नेपालले २ सय मेगावाटको माथिल्लो सेती विद्युत् परियोजना र भक्तपुर-सूर्यविनायक सडकको धुलिखेलसम्म बिस्तारका लागि आग्रह गर्ने भएको छ । अर्थ, परराष्ट्र, उद्योग तथा वाणिज्यसहितका मन्त्रालयबीच शुक्रबार पूरा भएको तयारी बैठकपछि परराष्ट्रका एक अधिकारीले कान्तिपुरसँग भने, 'अग्र्यानिक चिया, कफी र पस्मिना बजार जापानमा बिस्तार गर्न भन्साररहित सुविधाका लागि पनि विदेशमन्त्रीसँग आग्रह गरिने भएको छ ।'
समाचार कांतिपुर बाट

