|

बाँदरको प्रदर्शनले सडक जाम


निर्मल घिमिरे, काठमाडौं, कात्तिक ३- त्यहाँ राष्ट्रपतिको सवारी थिएन, कुनै विदेशी भिभिआइपी पाहुना पनि आएका थिएनन्, तर बुधबार सखारै थापाथलीचोक ट्राफिकजामले अस्तव्यस्त बन्न पुग्यो।

बानेश्वरबाट कुपन्डोलतिर जाँदै गरेको बसको ठक्करले थापाथली चोकमा बिहान ६ बजेतिर एउटा बाँदर ढल्यो। उपचारमा कसैले वास्ता गरेनन्, १५ मिनेटजतिमा बाँदर सडकमै मर्‍यो। लगत्तै जम्मा हुन थालेका बाँदरले सडक भरियो र अवरुद्ध बन्यो।

'सुरुमा बाँदर त हो, हटिहाल्लान् भनेरवास्ता गरिएन,' महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले नागरिकसँग भने, 'पछि त धपाउनै हम्मेहम्मे पर्‍यो।'
बाँदरले सडकजाम गरेको, धपाउन खोज्दा टोक्न आएर समस्या भएको खबरले केहीबेर त ट्राफिक महाशाखा नै अलमलमा परेको उनले बताए।

'रमाइलो भयो, सडकबाट बाँदर हटाउन चुनौती पनि रह्यो,' उनले भने, 'जागिरको दौरान जनावरको शोकले सडक जाम गरेको पनि देख्नुपर्‍यो।

बाँदर हेर्ने मानिसको भीड लागेपछि त सडक अस्तव्यस्त नै भएको ड्युटीमा रहेकी ट्राफिक प्रहरीले बताइन्।

'यहाँ त जहिल्यै जाम हुन्छ,' स्थानीय हरि महर्जनले भने, 'बुधबार त बिहानै सडक रोकियो, बाँदरको प्रर्दशनले।' बाँदरले चक्काजाम गराएको आफूले पहिलोपटक देखेको उनले सुनाए। महर्जनका अनुसार थापाथलीचोक वरिपरि ४०-५० को संख्यामा बाँदर बस्छन्।

बाँदर विशेषज्ञ मुकेश चालिसेका अनुसार 'सामाजिक प्राणी भएकाले दुःखसुखमा एकजुट हुने' प्रवृत्ति मानिसमा झैं बाँदरमा पनि भेटिन्छ। 'आत्मीयता बाँड्ने बाँदरको प्रवृत्ति नै हुन्छ,' चालिसेले भने, 'साथी दुर्घटनामा परेको देखेर शोक व्यक्त गर्न भेला भएका हुन्।' यस्तो बेला कसैले नहटाए दिनभर नै बाँदर मृत बाँदरलाई घेरेर बस्ने उनले अनुभव सुनाए।

चालिसेका अनुसार थापाथलीमा ४०-४५ को समूहमा बाँदर बस्दै आएका छन्। बाँदर आफै आक्रामक स्वभावका हुनाले दुर्घटना गराउने गाडी तुरुन्तै भेटे आक्रमण गर्ने उनले बताए। 'गाडीको रंग हेरेर साथीलाई संकेत गर्छन्, तुरुन्तै देखे आक्रमण गरिहाल्छन्,' उनले भने।

Posted by Butwalonline on 4:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाँदरको प्रदर्शनले सडक जाम"

Leave a reply