|

फेसबुकको (कु)लत

काठमाडौँ, साउन १९ - अति भए खति हुन्छ भन्ने उखान बूढापाकाहरुले त्यसै बनाएका हैनन्। अति सर्वत्र वर्जयेत। तपाइँले दिनदिनै चलाउने फेसबुक मात्र त्यसको अपवाद हुन सक्दैन। यसको लत लागू पदार्थको लत जस्तो हानिकारक हुन सक्छ। लागू पदार्थको कुलतबाट जोगाउन पुनर्स्थापन केन्द्रहरु नेपालमा पनि धेरै ठाउँमा खोलिएका छन्। अब त्यस्तै पुनर्स्थापन केन्द्र फेसबुकको लतबाट जोगिनलाई पनि खुलेको छ।
डान पेगुइन र सियाभोस अरासटेहको पुनस्थार्पन सल्लाह केन्द्रमा तपाईँलाई स्वागत छ। उनीहरुको अनलाइन पुनर्स्थापन कार्यक्रम फेसबुकको लग लागेकाहरु प्रति लक्षित छ। हाम्रो सल्लाह मान्नुभयो भने तपाईँहरुले दुई हप्ता मै फेसबुकको प्रयोग घटाउन सक्नुहुनेछ, उनीहरु भन्छन्। यसको उद्देश्य हो तपाइँको स्वास्थ्य, काम गर्ने क्षमता वा अरु क्षमता पहिले जस्तै बनाउनू। अनौठो कुरा, यो कार्यक्रमका संस्थापकद्वय स्वयं आफूहरुकै फेसबुक प्रयोग घटाउन लागिपरेका छन्। साउन ९ गतेदेखि मात्रै उनीहरुले यो कार्यक्रम सुरु गरेका हुन्।
सोसलटाइम्सलाई अन्तर्वार्ता दिँदै उनीहरुले भनेका छन्, फेसबुकको उपयोग स्वस्थ तरिकाले हुनुपर्छ भन्नेमा हामी विश्वस्त भयौँ। त्यसैले दुई हप्तासम्म हामीले मोबाइल होस् वा डेस्कटप वा ल्यापटप, दिनमा दुई पटकभन्दा बढी फेसबुक लग इन नगर्ने निर्णय गर्‍यौँ। हामीले हाम्रो लग इन रेकर्डलाई अनलाइनमा सार्वजनिक गर्ने निर्णय गर्‍यौँ र इच्छुक साथीहरुलाई पनि निम्त्यायौँ।उनीहरुले आफ्नै छुट्टै डोमेन बनाए फेसएनोनाइमस डट कम। यसको होमपेजमा यो प्रि लन्च भएको घोषणा गरिएको छ।


 
  कसरी थाहा पाउने? फेसबुक अति चलाउनेहरुका लागि प्रयोग हुने शब्द हो फेसबुक एडिक्सन डिसोर्डर। चिकित्सा विज्ञानका मोटा मोटा ठेली पल्टाउनु भयो भने यो शब्द र यसका लक्षणहरु तपाइँ देख्न पाउनु हुन्न। तर पनि धेरैलाई यो लतले छोइसकेको छ। केही विज्ञहरुले विश्वका ३५ करोड मान्छे फेसबुक एडिक्सन डिसोर्डरबाट पीडित भएको हुनसक्ने बताएका छन्। यो फेसबुकको कूल सदस्य सख्याको आधा हो। तपाइँ पनि त्यसमा पर्नुहुन्छ त? तलका केही लक्षणहरु हेर्नुस्, कुनै पनि तपाइँसँग मिल्छ भने तपाईँलाई यो रोग लागेको छ।
• बिहान बिहानै उठ्ने बित्तिकै चिया वा कफी खानुभनद्या अघि तपाईँको दिन आफ्नो ल्यापटप वा मोबाइलमा फेसबुक लग इन गरेर सुरु हुन्छ?
• बिहानै, दिउँसै वा राति, शौचालयमा होस् वा बसटेम्पोका यात्रामा, कलेजमा होस् वा क्यान्टिनमा हँदा यस्तो स्टायट्स लेख्छु फेसबुकमा भनी सोच्नुहुन्छ?
• फेसबुक चलाउँदा चलाउँदै ढिला भएर गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डलाई दिएको डेटमा ढिलो पुगेर गाली खानुभएको छ? कलेजमा ढिला पो पुग्नुभएको छ कि?
• तपाइँका फेसबुके साथीहरुलाई तपाइँ कहिले बाथरुम पस्नुभयो देखि कहिले खानुभयो, कहिले सुत्नुभयो, सब थाहा हुन्छ?
• ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड वा दाजुभाइ दिदीबहिनीसित फेसबुकबाट मात्र कुरा हुन्छ कि?
• स्टुडियो सेभेन, डिजिटल प्लस, फोटो हलिउड, फोटो कर्न्सन जस्ता महँगा फोटो स्टुडियोहरुमा फोटो खिचाएर फेसबुकको प्रोफाइल पिक्चरमा राखेर सबलाई दङ पारौँला भनेर सोच्नुभएको छ? लौ न एउटा दामी फेसबुकको प्रोफाइल पिक्चर राख्ने गरी फोटा खिचिदिनुस् भनेर क्यामेरा बोक्ने साथीभाइलाई भन्ने गर्नुभएको छ?
• फेसबुक फ्रेन्डको लिस्ट धेरै बनाउने नाममा नचिनेकाहरुलाई पनि आयड गर्नुभएको छ?
• फेसबुकमा भेटिएर अचानक हराएका साथीलाई बेपत्तासँग खोज्नुभएको छ?
• साथीसँग झगडा पर्‍यो भनेर फेसबुकको रिलेसनसिप स्टायटस चेन्ज गर्नुभएको छ?
• अफिसमा फेसबुकमा प्रतिबन्ध लगाइयो भनेर जागिर छाड्नुभएको छ? फेसबुकमा प्रतिबन्ध लगाउने कुरा अफिसमा भयो भनेर चर्को विरोध गर्नुभएको छ?
• फेसबुकबाटै कुराकानी हुने हुनाले धेरै कम बोल्न थाल्नुभएको पो छ कि?
• आँखा पो टट्टाउँछ कि धेरै फेसबुक चलाइरहेको कारण?
 
माथिका प्रश्नहरु मध्ये कम्तिमा एउटा प्रश्नको उत्तर छ वा होमा दिनुभएको भए तपाईँ पक्कै पनि फेसबुक एडिक्सन डिसोर्डरबाट पीडित हुनुहुन्छ। स्वागत छ फेसबुक लत लागेकाहरुको क्लबमा।
यदि तपाइँ हामी जस्तै फेसबुकको लग लागेका हुनुहुन्छ भने चिन्ता गर्नुपर्दैन। तपाइँको औँलालाई छिनछिनमा आराम दिने गरी चुप राखेसम्म र वास्तविक विश्वमा के भइरहेका छ भनी पनि जानकारी बेलाबेलामा लिइराख्ने गर्नुभएसम्म खासै चिन्ता गरिरहनु पर्दैन। फेसबुकको लत लागेकाहरुको सयौँ ग्रुप फेसबुकमा छन्। त्यहाँ उनीहरु आफ्ना अनुभव सुनाउँछन्। तपाइँ करोडौँमा एक हुनुभएको त हो नि।
साभार:नागरिक




Posted by Butwalonline on 8:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेसबुकको (कु)लत"

Leave a reply