|

दुई वर्षदेखि दाम्लोमा

प्यूठान, श्रावण १९ - ओखरकोट ७, चुधाराकी १७ वर्षीय गीता पोख्रेललाई दुई वर्षदेखि दाम्लोमा बाँधेर राखिएको छ । शारीरिक तथा मानसिक रूपमा अपांग भएपछि आफन्तले दाम्लोमा बाँधेर राखेका हुन् । उनलाई चौबिसै घन्टा ढिकीमा दुई खुट्टा बाँधेर राख्ने गरिएको छ । उनी जन्मजात अपांग होइनन् । 'सुरुका दिनमा दिमागी समस्या थियो, विस्तारै शारीरिक तथा मानसिक अपांगता देखा पर्‍यो,' बुवा हेमन्त पोख्रेलले भने, 'घरमा बिराम गर्ने, मान्छे पिट्ने, गाईभैंसी फुकाइदिने र जहाँ पायो त्यहीँ हिँड्ने गर्न थालेपछि बाध्यौं ।'

उपचारका लागि भारतको राँची, पन्जाब र मुलुककै नेपालगन्ज, भैरहवा, काठमाडौंलगायत अस्पतालमा लगेर औषधि गर्दा निको नभएपछि घरमै बाँधेर राख्नुपरेको आमा रोमकला पोख्रेलले बताइन् । 'उपचारमा थुप्रै खर्च गर्‍यौं, सन्चो भएन,' आमाले भनिन् । घरभित्र राख्दा रुने, कराउने र भित्र बस्न नमानेपछि बाहिरै बाँधेर राखेको उनको भनाइ छ । अपांगता भएका व्यक्तिका नाममा थुप्रै संघसंस्था भए पनि गाविसबाहेक कतैबाट सहयोग नपाएको बुवा हेमन्तले गुनासो गरेका छन् । अपांगता परिचयपत्र रातो कार्डको आधारमा गाविसबाट ०६७/०६८ देखि मासिक एक हजार रुपैयाँ प्रदान गर्दै आएको गाविस सचिव नारायण पोख्रेलले बताए । आमाबुवाले कुनै निकायले अपांग आश्रममा लगी मनोविज्ञानको आधारमा शिक्षा दिने व्यवस्था मिलाए ठूलो राहत मिल्ने बताए । राष्ट्रिय अपांग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसीका अनुसार नेपाल सरकारले तय गरेको नीति नियमको कार्यान्वयन नगर्ने, अपांगताको क्षेत्रमा कम रकम विनियोजन गरेकाले ग्रामीण क्षेत्रका अपांगताको पहिचान गर्न नसकिएर थुप्रैले पशुसरह जीवन बिताउनुपरेको बताए ।
साभार:कान्तिपुर

Posted by Butwalonline on 7:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुई वर्षदेखि दाम्लोमा"

Leave a reply