|

जोर्डनको कमजोरी नियाल्दै रोबर्ट्स

काठमाडौ, श्रावण ४ - नेपालका लागि विश्वकप छनोटमा नयाँ प्रतिद्वन्द्वी हो- जोर्डन । एसियाली फुटबलमा जोर्डनलाई राम्रो टिम मनिन्छ । यसर्थमा नेपालभन्दा निकै बलियो ।

त्यसैले वरीयतामा ६४ स्थानमाथिको प्रतिद्वन्द्वीलाई रोक्न बेलायती प्रशिक्षक ग्राहम रोबर्ट्स निकै मिहिनेत गरिरहेका छन् । वेभपेज र यू-ट्युबमा जोर्डनी टिमबारे जानकारी लिइरहेका छन्, उनी ।
'जोर्डनको कमजोर पक्ष केलाउँदैछु,' ५२ वषर्ीय रोबर्ट्सले भने, 'उनीहरूका २-३ कमजोरी पत्ता लाइसकेको छु । गोलकिपर र दुई डिफेन्डर उत्कृष्ट नरहेको पाएको छु । थप कमजोरी अहिले नै सार्वजनिक गर्नु चाँडो हुन सक्छ ।' जोर्डनको कमजोरीको फाइदा लिँदै खेल जित्ने उनले लक्ष्य बनाएका छन् ।

'खाडी मुलुकविरुद्ध नेपाललाई 'सपर््राइज' रूपमा प्रस्तुत गर्ने रोबर्ट्सको चाहना छ । 'टिमप्रतिको विश्वासलाई आधार मानेर रणनीति बनाउनेछु,' खेलाडी छँदा इंग्ल्यान्डका लागि ६ क्याप जितेका उनले थपे, 'दुवै लेग निश्चित जितका लागि खेल्नेछौं । मैदानमा दुवै टिमका ११-११ खेलाडी हुन्छन् । त्यसैले कोही तलमाथि हुन्न । शत प्रतिशत खेल्दै १ सय ८० मिनेटको खेल जित्न चाहन्छौं ।'

जोर्डनलाई रोक्दै एसियाली छनोटको समूह चरण प्रवेश गर्ने रोबर्ट्सको लक्ष्य छ । बलियो टिम भनेर कुनै पनि प्रतिद्वन्द्वीसँग डराउनुपर्ने स्थिति नभएको उनको बुझाइ छ । 'जोर्डनी खेलाडी खेलको सुरुआतमै गोल गर्न माहिर मानिन्छन्,' उनले भने, 'त्यसैले सुरुबाटै उनीहरूलाई रोक्न चाहन्छौं ।'

राष्ट्रिय टिममा रहेका २० खेलाडीले शनिबार सम्पन्न सहिद स्मारक 'ए' डिभिजन लिगमा पनि उत्कृष्ट प्रदर्शन गरेको रोबर्ट्सले बताए । 'तयारी अवधि अलि लामो भएको भए अझ राम्रो हुने थियो,' उनले भने, 'अभ्यासका लागि जम्मा ४ दिन पाएका
छौं । बन्द प्रशिक्षण भएपछि एकतामा रहने हुँदा टिमको थप विकास हुने गर्छ । तर यस्तो अवसर पर्याप्त भएन ।'
एन्फाले सहिद स्मारक 'ए' डिभिजन लिग टुंग्याउन प्राथमिकता दिएपछि राष्ट्रिय टिमको तयारी ढिलो भएको थियो । त्यसैले रोबर्ट्स अहिले खेलाडीलाई कडा मिहिनेत होइन, हल्का ट्रेनिङ गराइरहेका छन् । लिगमा सातामा ३ खेलसम्म खेल्नुपरेकाले 'रिकोभर' हुन खेलाडीलाई कडा प्रशिक्ष्ाण नदिएको उनले बताए । छनोटको तयारीमा नेपाली टिमले मैत्रीपूर्ण खेल खेल्ने मौका पनि पाएन । प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा बुधबार गरिने अभ्यास अम्मान प्रस्थानअघिको अन्तिम तयारी हुनेछ ।
फिफा विश्वकप-२०१४ अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको पहिलो लेग जोर्डनी राजधानी अम्मानमा शनिबार खेल्नेछ । दोस्रो लेग साउन १२ गते काठमाडौंमा हुनेछ । इस्ट टिमोरलाई समग्रमा ७-१ ले हराएर नेपालले पहिलो चरण पार गरेको थियो । दुवै लेग दशरथ रंगशालामा खेल्न पाएकोमा नेपाल भाग्यमानी रह्यो ।
छ महिनाअघि दोहामा भएको एसियन कप फुटबलको क्वाटरफाइनल खेलेको जोर्डन विश्वकप छनोटको एक महिने तयारी टर्कीको राजधानी इस्तानबुलमा गरेको थियो । उसले इस्तानबुलमा भएको मैत्रीपूर्ण खेलमा सिरियासँग ३-१ ले हारे पनि यमनलाई ४-० ले पन्छायो ।

दुई सातायता ४ खेल खेल खेलेको जोर्डनले अम्मान र्फकंदै अहिले साउदी अरेबिया, इराक र कुबेत सम्मिलित प्रतियोगिता खेलिरहेको छ । त्यसमा उसले साउदी अरेबिया र इराकलाई टाइब्रेकरमा हराएको थियो ।
चार वर्षअघि इराकलाई एसियन च्याम्पियन बनाएका प्रशिक्षक अदनान हामदको नेतृत्वमा जोर्डनले विश्वकप छनोट खेल्नेछ ।

नेपाल            जोर्डन
१४८    फिफा वरीयता    ८४
२७    एसियाली वरीयता    ६

Source:Kantipurnews

Posted by Butwalonline on 7:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जोर्डनको कमजोरी नियाल्दै रोबर्ट्स"

Leave a reply