टेलिफोन कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा
रामचन्द्र भट्ट, काठमाडौं, साउन ४- टेलिफोन कम्पनीहरुबीच अस्वस्थ
प्रतिस्पर्धाले एक अर्काको नेटवर्कमा कुराकानी गर्न दिनुपर्ने सर्किट
(इ-वान) प्रयाप्त नदिँदा देशभित्रै र बाहिरबाट आउने दैनिक हजारौं कल असफल
भइरहेको छ।
देशभित्रको कल गर्न आवश्यक पर्ने देखि लिएर विदेशबाट आउने
अन्तर्राष्ट्रिय कलको लागि समेत यस्तो सर्किटमा 'कडाई' गर्ने
प्रतिस्पर्धाले गर्दा कम्पनीहरुले ठूलो आम्दानी गुमाइरहेका छन्।
'कम्पनीहरुबीच अर्काको नेटवर्कमा उत्पत्ति भएको कल नआओस् भनेर सर्किट दिन
निकै कन्जुस्याई भएको छ,' एक टेलिफोन कम्पनीमा कार्यरत वरिष्ठ इन्जिनियरले
भने। ती इन्जिनियरका अनुसार यसबाट एक आपसमै प्राप्त हुनसक्ने आम्दानी
गुमिरहेको छ।
नेपाल टेलिकम र युटिएलबीच सुरुदेखिनै एक अर्काको नेटवर्कमा कुराकानी
गर्ने यस्तो सर्किट दिन निकै विवाद थियो। यी दुई कम्पनीबीच अहिले स्थानीय
कलमा सर्किटको कुनै समस्या नभएपनि विदेशबाट आएको कल भने टेलिकमले रोकिरहेको
गुनासो युटिएलले गरेको छ।
ठूलो टेलिफोन कम्पनीले सानालाई सर्किट नदिने अन्तर्राष्ट्रिय समस्यानै
हो। तर अरु देशमा नियमक संस्थाले यस्तो समस्यालाई हस्तक्षेप गरेर समाधान
गर्छन। ठूला कम्पनीले अर्को कम्पनीबाट आएको स्थानीय (देशभित्रैको) कललाई
समेत रोक्ने प्रयास गरिरहेको गुनासो गरेका छन्। एनसेलले आफ्नो नेटवर्कबाट
टेलिकममा जाने कललाई टेलिकमले रोकिरहेको गुनासो दूरसञ्चार प्राधिकरणसँग
गरेको छ।
'हामीबीच सर्किटको केही समस्या सुरुदेखिकै हो,' एनसेलकी कर्पोरेट
कम्युनिकेसन अफिसर सञ्जु कोइरालाले भनिन्। एनसेलको नेटवर्कबाट आएको कल
टेलिकमले रोकेको गुनासो आइरहेको समयमा टेलिकमले भने एनसेलबाट
अन्तर्राष्ट्रिय कल रोकिएको गुनासो गरेको छ।
एनसेलका अनुसार ६० प्रतिशत स्थानीक कल प्रयाप्त सर्किट नहुँदा असफल भैरहेका छन्।
टेलिकमको
गेटवेहुँदै विदेशबाट आएको कल एनसेलको नेटवर्कमा जान रोकिएको गुनासो
टेलिकमको छ। विदेशबाट टेलिकमको गेटवे हुँदै आएको कललाई एनसेलले रोक्दा
देशमा आउने कल र रकम समेत गुमिरहेको छ। टेलिकमले समेत एनसेलमा जाने
अन्तर्राष्ट्रिय कललाई यसैगरि रोकिरहेको गुनासो एनसेलका अधिकारीहरुले गरेका
छन्।
ठूला अपरेटरहरुबीच यस्तो अस्वस्थ प्रतिस्पर्धाले गर्दा विदेशबाट कल
गर्नेले सजिलै कल गर्न सकिरहेका छैनन्। 'अर्काको नेटवर्क हुँदै आउने आइएसडी
कललाई रोक्यो भने त्यो कल आफ्नै नेटवर्कमा आउँछ भन्ने सोचाईले यसको लागि
कम्पनीहरुले एकले अर्कालाई ज्यादै थोरै सर्किट दिइरहेका छन्,' दूरसञ्चार
क्षेत्रका एक विज्ञले भने।
अहिले विदेशबाट आएको कलबाट प्राप्त हुने आम्दानी टेलिफोन कम्पनीको लागि
आकर्षक छ। टेलिकमले अघिल्लो आर्थिक वर्ष २०६६/६७ मा विदेशबाट आएको कल वापत
मात्र ४ अर्ब २६ करोड रुपैयाँ कमाएको थियो। विदेशबाट कल नेपाल ल्याउन चार
वटा कम्पनीले मात्र लाइसेन्स पाएका छन्।
नेपाल टेलिकम, युटिएल, एनसेल र एसटिएम टेलिकमले यस्तो गेटवे राखेर
कारोवार गरिरहेका छन्। भरखरै स्मार्ट टेलिकमले पनि लाइसेन्स पाएको छ भने
नेपाल स्याटेलाइटलाई पनि प्राधिकरणले दिने निर्णय गरेपनि सार्वजनिक लेखा
समितिले रोक्न निर्देशन दिएको छ।
एसटिएम टेलिकमको गेटवे हुँदै विदेशबाट आएको कललाई एनसेलले अहिलेसम्म
सर्किट दिएको छैन। त्यस्तै स्मार्ट टेलिकमले स्थानीय कलमै एसटिएमलाई सर्किट
दिएको छैन।
दूरसञ्चार प्राधिकरणले एउटा कम्पनीबाट अर्कोमा फोन गर्दा
अधिकतम अवरोध एक प्रतिशत भन्दा बढी हुन नहुने गरि गुणस्तर मापदण्ड तोकेको
छ। तर कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धाले ६० प्रतिशत कलमा अवरोध
हुनेगरेको छ।
यस्तो अवस्था भएर सेवा प्रदायकले प्राधिकरणसँग समाधानको लागि आग्रह
गर्दा समेत यसको समाधान हुन सकेको छैन। टेलिकम र एनसेलबीचमात्र नभै
टेलिकम-युटिएल, एनसेल-एसटिएमका बीचमा पनि त्यत्तिकै समस्या छ। देशभित्रको
कलको लागि मात्र नभै विदेशबाट आएको कल समेत हुन नसक्ने गरि एकले अर्कोको
नेटवर्कमा जाने कलमा 'जानाजान' अवरोध गरिरहेका छन्।
नयाँ कम्पनीहरु नेपाल स्याटेलाइट र स्मार्टका बीचमा कतिपय कम्पनीबीच
अन्तरआवद्धता अहिलेसम्म भएको छैन। नयाँ कम्पनी स्मार्टले एसटिएम र नेपाल
स्याटेलाइटलाई अन्तरआवद्धता दिएको छैन।
एउटा कम्पनीको फोनबाट गरिएको कल अर्कोमा जानको लागि अन्तरआवद्धताका
सर्किट समेत उपलव्ध गराउनुपर्छ। एकै पटक ३० जनाले कुराकानी गर्न सकिने
सर्किट भएको सिस्टमलाई एक ई-वान भनिन्छ। ठूलो सर्किट आवश्यक पर्दा
कम्पनीहरुले एसटिएम राख्छन्। एक एसटिएममा ६३ वटा इ-वान हुन्छ।
दुई महिना अघि एसटिएम टेलिकमले प्राधिकरणलाई एनसेलले अन्तर्राष्ट्रिय
गेटवेको निम्ति अन्तरआवद्धता नदिएको विषयमा ध्यानाकर्षण गरेको थियो।
एसटिएमको नेटवर्कबाट आएको अन्तर्राष्ट्रिय कललाई एनसेलले अहिलेसम्म
अन्तरआवद्धता दिएको छैन।
'हाम्रा ग्राहकले अरु कम्पनीका नेटवर्कमा स्थानीय कल गर्दा त्यति समस्या
नभोगेपनि विदेशबाट आएको कल भने सजिलै जादैन,' युटिएलका महाप्रवन्धक मदन
सिंहले भने। टेलिकमसँग अन्तरआवद्धताको लागि युटिएलले एकसय वटा इ-वान राखेको
छ।
सर्किट कम राख्दा देशभित्रै र बाहिरबाट यहाँ कल गर्नेले सजिलै लाइन
पाउँदैनन्। विदेशबाट कल गर्नेले सजिलै सर्किट नपाउँदा कतिपय अवस्थामा त्यो
कल अवैध भिओआइपी कल वाइपास मार्फत नेपाल आउने गरेको छ।
ठूला कम्पनीहरुले विदेशबाट आएको कलको टर्मिनेसन चार्जमा समेत भेदभाव
गरेको भन्दै साना कम्पनीले प्राधिकरणको ध्यानाकर्षण गरेका छन्। नेपाल
टेलिकमले एनसेलको गेटवे हुँदै विदेशबाट आएको कललाई प्रति मिनेट चार रुपैयाँ
लिने गरेको र सानासँग ६ रुपैयाँ लिने गरेको छ।
Source:nagariknews