भृकुटी कागज कारखानामा तनाव
१ वैशाख, नवलपारसी । चितवनको नारायणगढसँगै जोडिएको नेवलपरासिको गैडाकोटस्थित भृकटी पल्प एण्ड पेपर उद्योग तीन महिनादेखि बन्द भएको छ । नेपालकै सबैभन्दा ठूलो कागज कारखाना बन्द भए पनि मजदूरको रोजीरोटीसँगै उद्योगलाई करोडाँैको घाटा लागेको छ । देशकै नमूना उद्योगको रुपमा लिइएको सो उद्योग बन्दले नेपालको आर्थिक क्रान्तिमा ह्रास आउने भन्दै सञ्चालनका लागि मजदूरहरूले माग गरिरहेका छन् ।
गत माघ पहिलो सातादेखि उद्योगको सम्पूर्ण उत्पादन ठप्प भएको छ । उचित व्यवस्थापनको साटो उद्योगलाई हाउजिङ प्लानिङमा विस्तार गर्न खोजेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । “हाउजिङ प्लानिङ होइन उद्योग नै चाहिन्छ,” भृकुटी पल्प एण्ड पेपर इकाई संयुक्त समस्या सामाधान सङ्घर्ष समितिका संयोजक राम शर्माले भन्नुभयो ।
उद्योग बन्द भएपछि त्यहाँ कार्यरत कर्मचारीको रोजिरोटीसमेत खोसिन पुगेको छ । उद्योग बन्दसँगै कर्मचारीले पाउँदै आएको सेवा सुविधासमेत कटौती हुँदै गएको छ । कर्मचारीले पाउँदै आएको सञ्चयकोष विगत एक वर्षअघिदेखि कट्टा गरिएको छैन भने गत वैशाख महिनादेखि कर्मचारीको बीमासमेत रोकिएको पीडित मजदूरले बताएका छन् । सो उद्योगबाट दैनिक ८८ टन कागज उत्पादन गर्ने क्षमता छ । यहाँ पाँच सयबढी स्थायी कर्मचारी कार्यरत छन् ।
सो कारखानामा गोल्छा समूहको ठूलो लगानी छ । कारखानाका प्रशासन प्रमुख मोहन पौडेलले ठूलो आर्थिक सङ्कट परेकाले सञ्चालनमा अवरोध आएको बताउनुभयो । रासस
Source:Onlinekhabar
