अवैध रुपमाराखिएका ७ थान भरुवा वन्दुक सर्वसाधारणले प्रहरीलाई बुझाए
बुटवल, चैत ५ - अवैध रुपमा लुकाई राखिएका ७ थान भरुवा वन्दुक सर्वसाधारणले प्रहरीलाई बुझाएका छन् । ग्रामीण क्षेत्रमा विभिन्न वाहानामा र माओवादी द्धन्दका वेला राखिएका अवैध हातहतियार प्रहरीलाई बुझाउन स्थानीय प्रशासनले सार्वजनिक सुचना जारी गरे पछि यस्ता हतियारहरु संकलन हुन थालेका छन् ।
अवैध हतियार र विष्फोटक पदार्थ बुझाउन गत फागुन १० गते स्थानीय प्रशासनले ३५ दिने सूचना जारी गरेको थियो । जारी गरिए अनुसार अनुमान गरिएको संख्यामा भने हतियार संकलन नभएको प्रहरीले जनाएको छ । हतियार बुझाउन दिईएको समय सीमा भित्र हतियार तथा विष्फोटक पदार्थ नबुझाउने उपर छड्के चेकजांच तथा छापा मारी अवैध हतियार नियन्त्रणमा लिईने प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताउनुभयो । माओवादी द्धन्दका बेलाका अवैध हतियारहरु माओवादी कार्यकर्ताहरुसंग हुन सक्ने स्थानीय प्रशासनले आशंका गरेको छ ।