पाल्पामा सडक खाना महोत्सव हुने
मुक्तिप्रसाद न्यौपाने
फागुन १४, पाल्पा
पाल्पा जिल्लाकै इतिहासमा पहिलो पटक सडक खाना महोत्सव २०६९ हुने भएको छ । मखनटोल टोल विकास संस्था पाल्पाले फागुन १७ गते पाल्पा महोत्सवसँगै मखनटोल वडा नं. ४ मा महोत्सव गर्ने भएको पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको छ ।
विभिन्न जातजातिका खानाहरुको स्टलहरु महोत्सवमा राखिने र अहिलेसम्म २२ वटा स्टल दर्ता भैसकेको संस्थाकी अध्यक्ष ज्योतीराज भण्डारीले बताइन् । महिलाहरुले आफ्नो अधिकार तथा अस्तित्वको पहिचानको लागि मेला गर्न लागेको भण्डारी बताउँछिन् । टोल विकास संस्थाले सरसफाई कार्यक्रममा जनचेतनावृद्धि गर्न र आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न मेला आयोजना गरेको जनाएको छ ।
मेलालाई तानसेन नगरपालीका र पाल्पा उद्योग वाणिज्य संघले सहयोग गरेको छ । सडकमै स्टल राखेर विभिन्न परिकारको स्वाद लिन पाइने मेलामा साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ ।
सेलमरी, डिसमरी, समयवजी, सेवई, मःम, चुकाउनी, ओमरी, खीर महोत्सवका मुख्य खानहरु हुन् ।
