सरकारद्वारा छानविन समिति, अध्ययन गर्न आयोगको टोली दैलेखमा
ज्ञानु गौतम,नेपालगञ्ज माघ १२ -राष्ट्रिय मानवअधिकार आयोगले दैलेख घटनाको बास्तविकता बुझ्न अनुगमन टोली खटाएको छ । आयोगले अनुगमन टोली दैलेख प्रस्थान गरेको भन्दै राजनीतिक द्वन्द्वलाई संवाद र छलफलको माध्यमबाट निष्कर्षमा पुर्याओउन अनुरोध गरेको छ । प्रारम्भिक जानकारी अनुसार स्थानीयस्तरको परिस्थितिलाई नजरअन्दाज गरी मुठभेडको परिस्थिति निम्त्याउन सत्तापक्षीको अभिव्यक्ति र एकीकृत नेकपा माओवादीको जिल्ला अधिवेशनमा नेताहरूलाई जिल्ला प्रवेश निषेध गर्ने प्रतिपक्षको कार्यशैली जिम्मेवार देखिएको आयोगले बताएको छ । शान्तिपूर्ण रूपमा प्रदर्शनमा उत्रेका आन्दोलनकारी र सर्वसाधारण नागरिकमाथि भएको प्रहरी हस्तक्षेप र त्यसबाट उत्पन्न उत्तेजनापूर्ण परिस्थितिले माओवादीको कार्यलयमा तोडफोड हुनु खेदजनक भएको आयोगले बताएको छ । आयोगले विज्ञप्ती निकालेर पत्रकार डेकेन्द्र थापाको हत्याका सन्दर्भमा दोषीलाई कारबाही हुनुपर्ने माग राखी आन्दोलनमा उत्रेका पत्रकार र स्थानीय सञ्चारगृहमाथि भएको दुव्र्यवहार र तोडफोड दुःखद भएको उल्लेख गरेको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पत्रकार डेकेन्द्रराज थापाको मुद्दा उठाएर माओवादीलाई एक्ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । सुर्खेतमा आज पत्रकारहरुसंग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले द्वन्द्वकालका घटनाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत छानवीन गर्नुपर्ने दोहोर्या्उनुभयो । उहाँले सहमतिका लागि सबै विकल्पमा छलफल गर्न आफ्नो दल तयार रहेको स्पष्ट पार्नुभयो । दाहालले सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा नदिने तर सरकारको नेतृत्वमा सहमति जुट्दासाथ राजीनामा दिने बताउनुभयो । पत्रकार सम्मेलनमा दाहालसंगै रहेका प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने कुनै प्रतिक्रिया दिनुभएन ।
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रधानमन्त्री डा बाबुराम भट्टराईकै कारण दैलखका जनता आक्रोशित भएको आरोप लगाउनुभएको छ । उहाँले हिजो दैलेखमा भएको दुई पक्षीय झडपको मूख्य कारक प्रधानमन्त्री नै भएको दावी गर्नुभयो । काठमाडौंमा आज भएको एक कार्यक्रममा कोइरालाले प्रधानमन्त्रीले पत्रकार थापाका हत्याका अभियुक्तहरुलाई कारबाही रोक्न लगाएकाले निष्पक्ष छानविन हुनुपर्ने र दोषीलाई कारबाहीको माग गर्दै दैलेखी जनता थप आक्रोशित भएको वताउनुभयो । प्रधानमन्त्री भट्टराईकै कारण दलहरुवीच सहमति जुट्न नसकेको भन्दै कोइरालाले मुलुकमा समग्ररुपमा शान्ति स्थापना नभएसम्म शिक्षा क्षेत्रमा मात्रै शान्ति छाउन नसक्ने बताउनुभयो । यता उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले दैलेखमा सुरक्षा कमजोरी देखिएकाले प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकृतहरुलाई कारवाही गरी छानविन समिति गठन गरिएको बताउनुभएको छ । मन्त्री गच्छदारले दैलेखमा विपक्षी दलहरुले उछृंखल र अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आरोप लगाउनुभयो ।
